मछिन्द्रले उचाल्यो ट्रफी



काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्रले शनिबार अपराजित रहेर सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७८ को ट्रफी उचालेको छ । दशरथ रंगशालामा भएको प्रतियोगिताको अन्तिम खेल सकिन नौ मिनेट अगाडि सब्टिच्युट रेजिन सुब्बाले गरेको निर्णायक गोलको मद्दतले मछिन्द्रले एपीएफलाई २–१ ले हराएको हो ।
यो जितका बाबजुत लगातार ११ खेल कुनै गोल नखाएको मछिन्द्रविरुद्ध एपीएफ एक गोल फर्काउन भने सफल रह्यो । यो नतिजापछि मछिन्द्रको ३५ अंक भएको छ । उसले लिगका १३ चरणका खेलमध्ये कुनैमा पनि हार बेहोरेनन् र एपीएफलाई हराएर लगातार आठौं जित निकाल्न सफल रह्यो ।
खेल बराबरीतर्फ अग्रसर रहेको स्थितिमा रेजिनले ८१ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा मछिन्द्रले एनआरटीविरुद्ध एक गोल खाएको थियो र यसपछि टिमले यस अन्तिम खेलमा अर्को गोल खाएको हो । एपीएफ भने १५ अंकमा रह्यो । मछिन्द्रविरुद्धको अन्तिम खेलमा सुधारिएको एपीएफले दोस्रो हाफमा शृंखलाबद्ध अवसर सिर्जना सिर्जना गरेको थियो ।
यसैक्रममा प्रदीप लामाले ६८ औं मिनेटमा एपीएफका लागि बराबरी गोल फर्काए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले लगातार १ हजार ९४ मिनेट कुनै गोल खाएनन् र यो नेपाली घरेलु लिग इतिहासमा नयाँ कीर्तिमान हो । यस अगाडि मछिन्द्रका लागि अभिषेक गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए ।
खेलको अन्तिम दुई मिनेट दुवै खेलाडी १० खेलाडीमा सीमित रहे । मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । मछिन्द्रले वर्ष ०७६ मा पहिलो पटक माथिल्लो डिभिजनको लिग उपाधि जितेको थियो र यसपल्ट पनि उपाधि जितेर उसले सफलतापूर्वक त्यसको रक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्