आर्मी बन्यो ‘ए’ डिभिजन लिग उपविजेता, एनआरटी तेस्रो



काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । शनिबार मनाङ–मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेपछि आर्मी दोस्रो स्थानमा रहन सफल भएको हो । आर्मी र मनाङको यो अन्तिम लिग खेल थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा मनाङले सुरुआती अग्रता बनाएको थियो । ४५औँ मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ७६औँ मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो ।
बराबरीसँगै आर्मीले १३ खेलबाट २३ अंक जोड्यो । आर्मी लिगको उपविजेता बन्यो । न्युरोड टिम एनआरटीसँग अंक बराबरी भए पनि ‘हेड टु हेड’मा आर्मी अघि रहेको हो । लिगमा अपराजित रहेको आर्मीले यो सिजन पाँच जित र आठ बराबरी खेल्यो ।
मनाङले १३ खेलबाट २१ अंक जोड्यो । मनाङले पाँचौँ स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । मनाङले ६ जित, तीन बराबरी र चार हार व्यहो¥यो ।
यता न्युरोड टिम (एनआरटी) लिगको आफ्नो अन्तिम खेलमा विजयी भएको छ । शनिबार भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको हो ।
एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे । खेलको १२औँ मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको थियो । तर, ४७औँ मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । ६२औँ मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । ८३ औँ मिनेटमा मेसुकेले ह्याट्रिक पूरा गर्दै एनआरटीलाई ३–१ को जित दिलाए ।
जितसँगै एनआरटीले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । एनआरटीले १३ खेलबाट २३ अंक जोड्यो । पुलिसले १३ खेलबाट १२ अंक जोड्यो । पुलिस ११औँ स्थान रह्यो ।
लिग उपाधि भने यसअघि नै मच्छिद्र फुटबल क्लबले जितिसकेको छ । दुई खेलअगावै मच्छिद्रले उपाधि रक्षा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्