प्रचण्ड सचिवालयको स्पष्टीकरण : ‘एमसीसी पास गर्दा पार्टी गम्भीर दुर्घटनाबाट बच्यो’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले देश र पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको स्पष्टीकरण दिएको छ।

पार्टीभित्र नेता कार्यकर्ताको असन्तुष्टि चुलिएपछि प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमा यसबारे भनेकी छिन्,’एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ।’

उनले पार्टीको नेतृत्वलाई विश्वास गर्न आग्रहसमेत गरेकी छिन्। एमसीसीको विषयलाई लिएर पार्टीमा भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्ने गंगाले उल्लेख गरेकी छिन्। ‘पार्टी नेतृत्वलाई विश्वास गरौं किन भने देश र जनताको हितबाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्‍याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं। एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले बिशेष सम्बोधन गर्नुहुनेछ,’ उनले भनेकी छिन्।

आइतबार सदनबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन, एमसीसी पारित भएसँगै माओवादी केन्द्रभित्र चर्को असन्तुष्टि फैलिएको छ। सडक र सरकारबाटै एमसीसीको विरोधमा उत्रिएको माओवादीले यो परियोजना पारित गर्न विशेष भूमिका नै निभएकापछि माओवादी नेता कार्यकर्ता विरोधमा उत्रिएका हुन्।

आइतबार साझै नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित भएको दिनलाई कालो दिनको संज्ञा दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असन्तुष्टि पोख्दै श्रेष्ठले लेखेका छन्,‘व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्।’

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गराउन माओवादी राजी भएपछि केही कार्यकर्ताले सामाजिक सञ्जालबाटै राजीनामाको घोषणासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्