किन असफल हुन्छ नेतृत्व ?



ओम बानियाँ । भनिन्छ, एकान्तमा शिक्षा हुन्छ, भीडमा परीक्षा । जो भीडबाट बच्छ, उसको शिक्षाको कुनै अर्थ रहँदैन । सत्ता भनेको पनि भीड हो । त्यसैले राजनीतिमा नेताको वास्तविक परीक्षा भनेको नै सत्ता हो ।
विद्रोह वा प्रतिपक्षको आन्दोलन भनेको ‘सेन्ट अप’ जस्तै हो । जब कुनै पार्टी विद्रोह, आन्दोलन वा प्रतिपक्षबाट सत्तामा पुग्छ अनि उसको ‘फाइनल’ परीक्षा सुरु हुन्छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने सेन्ट अपमा जतिसुकै धेरै अंक ल्याएको भए तापनि नेपालका हरेक नेतृत्व यही फाइनल परीक्षामा फेल भएको लामो इतिहास छ । यसरी नेतृत्व असफल हुनुको प्रमुख कारण भनेको नै अक्षम नेतृत्व र बेइमान राजनीति हो ।
पटकपटक फेल भएका नेतालाई पुनः पुनः सत्तामा पु¥याउनु नागरिकको भयानक कमजोरी हो ।
कुनै पनि राष्ट्रको प्रगति तथा समृद्धिका लागि सक्षम नेतृत्व र इमान्दार राजनीति आवश्यक हुन्छ । सक्षम नेतृत्व त्यस्तो नेताले दिन सक्छ, जसको हृदयमा इमान्दारी र मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता अर्थात् ‘ई.क्यू.’ हुन्छ । यस्ता गुणहरू भएका नेता नै सक्षम नेता हुन् । सक्षम नेता नै नेपालको आवश्यकता हो ।
अब प्रश्न उठ्छ, के हो ‘ई.क्यू.’ ? सरल भाषामा भन्नुपर्दा आफ्नो क्षमता र अरूको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिहरूमा पनि होशहवास नछाडीकन दूरदर्शी निर्णय गर्न सक्ने, कठिनाइहरूमा अवसर खोज्न सक्ने, आफूलाई आफैँले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तरसम्बन्धका भावनाहरूको तालमेल गर्नसक्ने खुबी नै ‘ई.क्यू.’ हो ।
प्रसिद्ध लेखक तथा जीवनमा भावनात्मक बुद्धिमत्ताको विषयमा वर्षौंदेखि शोध गर्दै आएका प्रा. डेनियल गोलमैनको भनाइ छ, ‘बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ ।’
बुद्धिलब्धि (आई.क्यू.) ठूलाठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताहरूभन्दा बढी महत्वपूर्ण  हुन्छ, भावनात्मक बुद्धिमत्ता (ई.क्यू.) । कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिभन्दा पनि भावनात्मक समर्थताको महŒवपूर्ण भूमिका हुन्छ, जुन मस्तिष्कले भावनात्मक समर्थता प्रदर्शन गर्न सक्छ, उसले जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्योल निकाल्न सक्छ ।
विगत लामो समयदेखि वैदेशिक नाङ्गो हस्तक्षेप र समस्या नै समस्याहरूको चक्रब्यूहमा परेको हाम्रो देश नेपाललाई चाहिएको नेता पनि यस्तै होइन र ?
मनोविज्ञानअनुसार बुद्धिलब्धि (आई.क्यू.) र भावनात्मक बुद्धिमत्ता (ई.क्यू.) फरकफरक मानसिक क्षमताहरू हुन् । दुवैमा आकाश–जमिनको फरक छ । साधारणतया जुन व्यक्तिको स्मरणशक्ति तथा (आई.क्यूू.) बढी हुन्छ, त्यो व्यक्तिले पढाइ–लेखाइमा राम्रो गर्न सक्छ ।
तर, आई.क्यू. बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिले उच्च पेसागत दक्षता वा प्रभावकारी नेतृत्वदायी भूमिका प्रदर्शन गर्छन् भन्ने छैन । डा. बाबुराम भट्टराई यसका ज्वलन्त उदाहरण हुन् ।
यसको ठीक विपरीत आई.क्यू. कम भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गर्न नसकेका कतिपय व्यक्तिले उच्च पेसागत दक्षता वा प्रभावकारी नेतृत्वदायी भूमिका निभाउन सक्दछन् । हाम्रो वरिपरि यस्ता हजारौँ उदाहरणहरू छन् । यसको कारण के हो ? यसको प्रमुख कारण हो, आई.क्यू.भन्दा ई.क्यू. बढी महत्वपूर्ण हुन्छ ।
ई.क्यू. बढी भएको नेतृत्वले जतिसुकै विषम परिस्थिति र वातावरणमा पनि लक्ष्यमा अर्जुनदृष्टि साँधेर नहड्बडाई हटेर कार्य गर्ने क्षमता राख्छ । राजनीतिमा आन्दोलन वा प्रतिपक्ष एउटा वातावरण हो भने सत्ता अर्को वातावरण ।
यी २ वातावरणमा आकाश–जमिनको फरक छ । र, सत्ताको वातवरणमा काम गर्न निकै गाह्रो छ । आन्दोलनका बाघहरू सत्तामा पुगेपछि बिरालो जस्तो देखिनुको कारण पनि यही हो ।
अतः मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता र हृदयमा इमान्दारी भएको व्यक्ति नै जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्योल निकाल्न सक्ने एक सक्षम नेता बन्न सक्छ । राष्ट्रलाई समृद्धशाली बनाउन यस्तै नेतृत्वको आवश्यकता पर्छ ।
त्यसैले जुन व्यक्तिसँग भावनात्मक बुद्धिमत्ता कम छ, त्यो व्यक्ति नेता बन्नु नै हुँदैन । नागरिकले यस्ता व्यक्तिलाई नेता मान्नु नै हुँदैन । त्यो किनभने यदि नेतासँग इमान्दारी भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा आपराधीकरण बढ्छ ।
राष्ट्रियता कमजोर हुन्छ, देशको स्थिति सुकेनासले खाएको बिरामी जस्तो हुन्छ । अर्को शब्दमा भन्ने हो भने, देशको स्थिति नेपालको जस्तो हुन्छ । मनोविज्ञानमा एउटा प्रविधि छ, जसलाई मोडलिङ भनिन्छ । यस प्रविधि रामले कुनै कार्य गर्न सक्छ भने श्यामले पनि त्यो गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित छ । यसैको आधारमा भावनात्मक सक्षमताहरू सिक्न र आफूमा विकास गर्न सकिन्छ ।
यसका लागि सम्बन्धित पेसामा उच्च दक्षता प्राप्त गर्नका लागि कस्तो किसिमका सक्षमताहरू आवश्यक हुन्छन्, सो अवगत गर्न सर्वप्रथम त्यस पेसामा संलग्न प्रसिद्ध मानिसहरूलाई हेर्नुपर्छ ।
उनीहरूले आफ्नो पेसामा कस्तो सक्षमता प्रदर्शन गरेका छन्, त्यो निर्धारण गर्नुपर्छ । र, त्यो सक्षमता आफूमा विकास गर्न अग्रसर हुनुपर्छ । तर, नेपाल र नेपाली नागरिकको विडम्बना ! नेपालका कुनै पनि नेता यस दिशातर्फ अग्रसर भएका देखिँदैन । त्यसैले जुन नेता जति पटक सत्तामा पुगे पनि उही ‘अक्षम शेरबहादुर’ साबित हुन्छन् ।
अतः कुनै पनि महान् कार्य गर्न वा सफलतापूर्वक सत्ताको नेतृत्व गर्न इमान्दारी र भावनात्मक समर्थता आवश्यक हुन्छ । र, एक समर्थ नेतृत्वको सत्ताले नै सफलतापूर्वक राष्ट्रको नेतृत्व गर्न सक्छ र देशलाई चामत्कारिक ढंगले जमिनबाट अकाशमा पुर्‍याउँछ ।
थुप्रै राष्ट्रहरू यसरी नै समृद्धिशाली भएका छन् । त्यसैले सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नेहरूले आफूमा तनमनका साथ यस्तो भावनात्मक समर्थता विकास गर्नेतिर लाग्नुपर्छ । इमान्दार राजनीति गर्नुपर्छ वा यस्ता गुणहरू भएका व्यक्तिहरू राजनीतिमा आउनुपर्छ ।
यहाँ जनसाधारणले बुझ्नुपर्ने कुरा के भने, भीडमा चर्का छेपारे नारा दिने, जोड्नभन्दा तोड्नतिर लाग्ने, सधैँ होचुवा ठूलाठूला कुराहरू गर्ने, रिस उठ्नेबित्तिकै गोलीको भाषा बोल्ने, समस्याको दूरदर्शी समाधान खोज्ने होइन, झन् समस्या थप्ने, जसरी भए पनि सत्तामा पुग्ने अभीष्ट राख्ने, सत्तामा पुगेपछि जसरी भए पनि टिकिरहने, पावर र पैसालाई सबथोक ठान्ने व्यक्ति बेइमान र अक्षम नेता हो । यस्तो सोच, शैलीको अक्षम नेताहरूबाट सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नु बेकार छ ।
                                                                                                                                                   (लेखक मनोविद् हुन् ।)

प्रतिक्रिया दिनुहोस्