एमसीसी मुख्यालयले भन्यो : परियोजनाले ८० प्रतिशत नेपालीलाई लाभ पुग्नेछ



काठमाडौं । नेपालले आफूसँग गरेको सम्झौता (नेपाल कम्प्याक्ट) संसदबाट अनुमोदन गराएको विषयमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले खुसी व्यक्त गरेको छ । आफूसँग भएको सम्झौता नेपाल सरकारले फेब्रुअरी २७ मा अनुमोदन गरेको जानकारी पाएको भन्दै एमसीसीले विज्ञप्ति जारी गरेको हो।

सम्झौता अनुमोदनसँगै पाँचवर्षे यो परियोजनाका कार्यान्वयनको बाटो खुलेको एमसीसीले उल्लेख गरेको छ । ‘यसले थप विश्वसनीय विद्युत् आपूर्ति, ढुवानी खर्च घटाउने र नेपालमा थप रोजगारी सिर्जनाको अवस्था सिर्जना हुनेछ’, एमसीसीको विज्ञप्तिमा भनिएको छ ।

यो सम्झौता अघि बढाउने निर्णयले एक सार्वभौम प्राजातान्त्रिक मुलुकका रूपमा रहन नेपाललाई सहयोग पुग्ने पनि एमसीसीले उल्लेख गरेको छ।

नेपाल सरकारले आफ्नो मुलुकमा ऊर्जा र यातायात क्षेत्र आधुनिकीकरणका लागि सन् २०१७ मा एमसीसीसँग सम्झौता गरेको थियो । यसले झन्डै ८० प्रतिशत अर्थात् २ करोड ३० लाख नेपालीलाई लाभ पुग्ने एमसीसीले दाबी गरेको छ।

यस क्रममा एमसीसीले अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको यसै वर्ष ७५औं वर्ष पूरा भएको उल्लेख गर्दै भनेको छ, ‘यो ७५ वर्षमा नेपालमा निकै ठूलो परिवर्तन आएको छ । एमसीसी र अमेरिकी जनता नेपालको यस किसिमको परिवर्तनमा साथ उभिएका छन् र विकास सहयोग, विपद् व्यवस्थापन र तयारी, स्वास्थ्य र शिक्षा कार्यक्रममार्फत सहयोग गरिरहेका छन् ।’

नेपाल-अमेरिका सम्बन्ध एउटा सम्झौताभन्दा निकै माथि रहेको उल्लेख गर्दै एमसीसीले नेपाल र उसको प्रजातान्त्रिक मान्यता प्रवद्र्धनमा सहयोग जारी रहने जनाएको छ । ​स्थापना भएको करिब २० वर्षमा एमसीसी सम्झौताले विश्वभर गरिबी नियन्त्रणका लागि काम गरिरहेको एमसीसीले जनाएको छ ।

एमसीसीले आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र सुशासनमा प्रतिबद्ध विकासशील मुलुकमा लगानी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्