आयोग तात्यो, तातेनन् दल



काठमाडौं । स्थानीय तह निर्वाचन हुन ७१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनको तयारी तीब्र पारेको छ । तर, राजनीतिक दलहरू भने तातेका छैनन् । सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन लक्षित केही पनि तयारी छैन । जारी केन्द्रीय समिति बैठकले भने तयारी गर्ने भएको छ।

समहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय निर्वाचनको घोषणापत्र र निर्वाचनमा खटाइने प्रतिनिधिहरूका लागि निर्देशनपत्र केन्द्रीय समिति बैठकले तयारी गर्ने बताए । कांग्रेसले ‘घरघरमा जाऔँ, कांग्रेसलाई जिताऔँ’ अभियान पनि सञ्चालन गर्न लागेको छ। सहमहामन्त्री आङ्देम्बेले केन्द्रीय सदस्य, प्रदेश समिति र जिल्ला समितिलाई निर्वाचन केन्द्रित प्रशिक्षण दिने, निर्वाचनमा एमसीसीबारेको भ्रम चिर्न बुकलेट तयार गर्ने र उम्मेदवारको मापदण्ड तयार गर्न बाँकी रहेको बताए। देश संघीय प्रणालीमा गएपछि भएको पहिलो पटक २०७४ सालमा स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो दल बनेको थियो । यस पटक भने पहिलो दल बन्न चाहन्छ। तर, तयारी भने सुस्त देखिएको छ । कांग्रेस मात्र होइन, सत्तामै रहेको अर्को दल नेकपा (माओवादी केन्द्र)को पनि तयारी छैन। नेता गणेश साहका अनुसार स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रदेश कमिटीलाई बैठक राख्न परिपत्र गर्नेबाहेक केही पनि गतिविधि माओवादी केन्द्रले गरेको छैन। तर, शुक्रबारदेखि हुने केन्द्रीय समिति बैठकले प्रशिक्षण, उम्मेदवारको मापदण्ड, घोषणापत्र, कमाण्डर तयलगायत काम गर्ने उनको भनाइ छ।

निर्वाचनमा कुनकुन दलबीच मोर्चाबन्दी गर्ने भन्ने टुंगो लागेपछि निर्वाचन केन्द्रित गतिविधि अघि बढ्ने उनले बताए। माओवादी अघिल्लो पटक स्थानीय तह निर्वाचनमा तेस्रो भएको थियो । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को पनि तयारी छैन । पार्टी महासचिव डा. बेदुराम भुसालले २२ फागुनमा सचिवालय, २३ फागुनमा स्थायी कमिटी र २५ र २६ फागुनमा केन्द्रीय कमिटी बैठक राखेर मात्र निर्वाचन केन्द्रित तयारी पार्टीले थाल्ने बताए । ‘हाम्रो तयारी अहिल्यै त केही पनि छैन तर तयारीकै लागि भनेर हामी बैठक बस्दै छौँ । लगातार हाम्रो पार्टीका ३ वटा कमिटीको बैठक बस्दै छ, २२ गते सचिवालय, २३ गते स्थायी र २५ र २६ गते केन्द्रीय कमिटी बैठक बस्छ र हामी निर्वाचनको तयारी पूरापुर गर्छौं’, उनले भने । नेकपा (एकीकृत समाजवादी) पार्टी एमालेबाट विभाजन भएर बनेको हो ।

वडा तहसम्म संरचना छैन । त्यसका लागि सङ्गठन विस्तारमा पनि पार्टी रहेको महासचिव भुसालले बताए । जनता समाजवादी पार्टी (जसपा)बाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टीको पनि निर्वाचन तयारी छैन । पार्टीका नेता उमाशंकर अरगरियाले छिटै तयारी थालिने बताए । उक्त पार्टीको पनि स्थानीय तहसम्म विस्तार भइसकेको छैन, जसले गर्दा निर्वाचनको तयारीमा बाधा पुगेको अरगरिया बताउँछन् ।
यसरी सत्तारुढ ३ दल र प्रतिपक्षीमध्येको एउटा दलको निर्वाचन केन्द्रित तयारी नै नभएको पाइएको छ ।

प्रमुख विपक्षीसहित ३ दलको तयारी तीब्र

संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेले भने निर्वाचन लक्षित तयारी तीब्र पारेको छ। पार्टीको सबै कमिटीलाई व्यवस्थित गर्दै नेता, कार्यकर्तालाई जनतासँग जोडिन निर्देशन मात्र दिएको छैन, सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गरेको छ। पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीले उम्मेदवारी घोषणा स्वेच्छिक रूपमा नगर्न र पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, व्यवहार र विकासमा खेलेको भूमिकाको समीक्षा गर्न निर्देशन दिएको छ।

तर, उम्मेदवारको मापदण्ड, घोषणापत्र र निर्वाचनको कमाण्डर तोक्न बाँकी रहेको उपाध्यक्ष शाक्यले बताइन् । एमाले अघिल्लो पटक भएको स्थानीय तह निर्वाचनमा ठूलो दल बनेको थियो । उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार फेरि एमालेलाई ठूलो पार्टी हुनबाट कुनै पनि दलले रोक्न नसक्ने बताउँदै आएका छन् । एमालेको नेतृत्वमा विकासको लहर आएको भन्दै जनताले एमालेलाई चुन्ने उनको दाबी छ । सत्तामै रहेको दल जनता समाजवादी पार्टी (जसपा) पनि निर्वाचनको तीब्र तयारीमा जुटेको छ। उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अख्यितारी वरिष्ठ नेता अशोक राईलाई प्रदान गरिसकेको छ । उम्मेदवार सिफारिस गर्न नीति तयार तयार गरेको छ । उम्मेदवारका लागि मापदण्ड र योग्यता तय गर्न कार्यदल गठन गरेको उपाध्यक्ष रकम चेम्जोङले जानकारी दिए । निर्वाचन घोषणापत्र, प्रशिक्षण सञ्चालन र निर्वाचन कमाण्डर तोक्न मात्र बाँकी रहेको उनले बताए।

संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोेकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि स्थानीय तह निर्वाचनमा होमिएको छ। पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले बुधबार र बिहीबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री भुवन पाठक नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन संशोधनसहित पारित गरेको बताएका छन् । केन्द्रीय सदस्यहरूलाई स्थानीय तह निर्वाचनमा कमाण्डरको रूपमा खटाउने निर्णय पनि बैठकले गरेको छ भने निर्वाचनमा निर्वाचन चिह्न आयोगले नदिए जनसङ्घर्ष गर्ने बैठकको निर्णय छ। तर, पनि राप्रपाले पनि निर्वाचन घोषणापत्र तयार गर्न बाँकी छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको पनि निर्वाचन तयारी बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्