खुर्सिद अालम हत्या अनुसन्धान गर्न प्रदेश १ एसएसपीकाे नेतृत्वमा समिति गठन



काठमाडौं :  बिहीबार सुुनसरीमा हत्या गरिएका खुर्सिद आलमको हत्याको छानबिन गर्न समिति गठन गरिएको छ। स्थानीय बासिन्दाले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै विरोध प्रर्दशन गरेपछि गृह मन्त्रालयले शुक्रबार छानबिन समिति गठन गरेको हो। समितिले अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।

 

समितिमा प्रदेश नम्बर १ का एसएसपी किशोर दाहाल, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार थुम्स, राष्ट्रिय अनुसन्धान विभागका तुलसी प्रसाईं प्रदेश १ का आन्तरिम मामिला तथा कानुन मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन्। यसबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पनि छुट्टै अनुसन्धान गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। 

 

हत्याको विरोध गर्दै परिवारले अहिलेसम्म शव जिम्मा लिएका छैनन्। गृहमन्त्री घटनास्थलमा आएर पीडित परिवारसँग छलफल गर्नुपर्ने उनीहरुको माग छ। गृह मन्त्रालयले भने सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर भेटको वातावरण मिलाउन निर्देशन दिएको छ।

 

खुर्सिद सुनसरीको भुटाहास्थित रैयान नेशनल स्कुल सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्