आईसीसी विश्वकप लिग–२ खेल्न जाने नेपाली टोलीको बिदाइ



काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न जाने खेलाडीलाई नेपाल क्रिकेट संघले शुक्रबार बिदाइ गरेको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रममा टिमलाई बिदाइ गरेका हुन् । मन्त्री गहतराजले आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट हुन नसके पनि खेलाडीलाई निराश नहुन आग्रह गरे । उनले असफलता नै सफलताका लागि पाइला भएको बताए ।
यूएई जानुअघि नेपाली टिमले श्रीलंकामा एक साता प्रशिक्षण गर्नेछ । त्यसका लागि नेपाली टोली शनिबार श्रीलंका जान लागेको हो । क्यानले यसअघि नेपाली टोली फागुन १९ गते नै श्रीलंका जाने भनेको थियो । तर अन्तिममा समय परिवर्तन भएको थियो ।
श्रीलंकामा नेपाल त्यहाँको फस्ट क्लास टिमसँग चारवटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपाली टोली श्रीलंकाबाट सिधै यूएई जानेछ । श्रीलंकाबाट फागुन ३० गते यूएई जाने छ ।
ओमानमा सप्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा यूएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको थियो ।
ओमानबाट फर्किएपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ का नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पहिलो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । जसमा ओमान भ्रमणमा रहेका सात खेलाडी यो टिममा समावेश गरिएको थिएन ।
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा चैत दुई गते पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्नेछ । फागुन ४ गते घरेलु टोली यूएईविरूद्ध खेल्नेछ । चैत ७ गते पुन यूएईविरुद्ध दोस्रो खेल खेल्नेछ । चैत ८ गते पीनजीविरुद्ध दोस्रो खेल खेल्नेछ ।

नेपाली टिम :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र माल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादव, सागर ढकाल, पवन सरराफ, करण केसी, विनोद भन्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की ।

टिम व्यवस्थापक : कैलाश विष्ट
मुख्य प्रशिक्षक : पुबुदु दासानायाके
सहायक प्रशिक्षक : प्रकाश शर्मा
फिजियो : विक्रम न्यौपाने
टेक्निकल एनालिस्ट : रमण शिवाकोटी
ट्रेनर : राज शर्मा

प्रतिक्रिया दिनुहोस्