कलहबाट निस्कनै सकेनन् मधेस केन्द्रित दल



काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै निर्वाचन सरगर्मी पनि बढ्दै गएको छ । मधेस प्रदेशबाट आफ्नो कार्यकाल बाँकी रहेको भन्दै अदालतमा परेको रिटले पनि तत्कालै निर्वाचन नरोकिने देखेपछि दलहरूमा अझ बढी निर्वाचन केन्द्रित सक्रियता बढ्न थालेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सहितका दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रममा जुटिसकेका छन् । तर, मधेस केन्द्रित दलहरू भने आन्तरिक विवादमा अल्झेका छन् । मधेसमा अहिले बढी जनमत पाएका २ वटा दल छन्– जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ।

पार्टी एकता गरेर जसपा बनाएका यी मधेस केन्द्रित दलहरू पुनः एक वर्ष नबित्दै अलग भए । आन्तरिक किचलो बढेपछि जसपा २ वटा पार्टीमा विभाजन भयो । आन्तरिक विवादका कारण कानुनी रूपमा अलग भएका मधेस केन्द्रित दलहरूमा पुनः आन्तरिक कलह बढ्दै गएको छ, जुन कारण पार्टी फुटको सङ्घारमा छ ।

पार्टीमा चरम विवाद रहे पनि निर्वाचन तयारी भने रोकिएको छैन । २ वटै पार्टीले स्थानीय तहको निर्वाचन तयारीमा जुटिसकेको दाबी गरेका छन् । लोसपाले वडास्तरीय कार्यक्रम सुरु गरेको छ भने जसपाले चैतदेखि सबै कार्यक्रम सुरु गर्ने तयारीमा रहेको जनाएको छ ।
के भन्छ लोसपा?

लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी निर्वाचन मिति घोषणा भएसँगै त्यसको तयारीमा होमिएको जनाए । उनले अहिले आफ्नो पार्टीमा निर्वाचन लक्षित कार्यक्रम चलिरहेको बताए । अध्यक्ष ठाकुर भन्छन्, ‘लोसपामा अहिले सङ्गठन विस्तार भइरहेको छ, सँगसँगै वडास्तरीय समिति गठन भइरहेको छ । यसका अलावा अहिले थप गतिवधि भने पार्टीमा सञ्चालन भएको छैन ।’

उनका अनुसार थप गतिविधिबारे निर्णय अब बस्ने पार्टीको कार्यसमितिको बैठकबाट हुनेछ । ‘यही साता पार्टी कार्यसमितिको बैठक बस्नेछ’, उनले भने, ‘त्यो बैठकबाट जे निर्णय आउँछ, हामी त्यसरी नै निर्वाचनमा अगाडि बढ्ने रणनीति तय गर्छौं ।’ उनका अनुसार स्थानीय तहमा निर्वाचन गठबन्धन पनि बैठकबाट आउने निर्णयअनुसार नै हुनेछ । ‘पार्टीमा कुनै पनि विवाद नरहेको हुँदा अब हुने निर्वाचनमा हामी एकजुट भएर लाग्नेछौँ’, उनले भने ।

जसपा चैतदेखि तात्ने

जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लक्षित कार्यक्रम तत्काल पार्टीबाट सञ्चालनमा नरहेको बताएका छन् । उनका अनुसार अब चाँडै पार्टीको बैठक गरेर त्यसबारे निर्णय हुनेछ । उनले भने, ‘हामीले २९–३० गते कार्यसमितिको बैठक डाकेका छौं, त्यस बैठकबाट जे सहमति हुन्छ, त्यहीअनुसार अगाडि बढ्छौँ । त्यस कारण अहिले पार्टीबाट कुनै गतिविधि भइरहेको छैन ।’

जसपा अध्यक्ष यादवले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गरेर निर्वाचन लड्ने तयारीमा रहेको जनाए । कुन दलसँग सहमति गर्ने भन्नेबारे अध्यक्ष यादवले जबाफ दिन चाहेनन् । उनले भने, ‘तर, ठाउँठाउँमा फरकफरक दलसँग हुनेछ ।’ उनका अनुसार सबै ठाउँमा एकै दलसँग गठबन्धन हुँदैन ।

किन मौन ?

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेपछि सबै ठूला दल निर्वाचनको तयारीमा होमिइसकेका छन् । दलहरूले अहिले आफ्नो ध्यान सङ्गठन विस्तार र पार्टी प्रवेश गराउनेतर्फ केन्द्रित गरेका छन् । यस मामिलामा अहिले सबैभन्दा अगाडि नेकपा एमाले देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं पार्टी प्रवेश कार्यक्रममा उपस्थित भएर निर्वाचनमा पार्टी गइसकेको छनक दिइरहेका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार भएको हुनाले ऊ पनि निर्वाचनमा होमिइसकेको छ । अन्य दलको गतिविधि पनि निर्वाचन केन्द्रित भइसकेको छ । तर, मधेस केन्द्रित दलहरूले भने अहिले निर्वाचनमा त्यति सक्रियता देखाइरहेका छैनन् । यसका पछाडि अरू कुनै रहस्य नभई पार्टी विवाद हो । २ वटै मधेस केन्द्रित दलमा आन्तरिक विवाद चरममा छ ।

मधेस केन्द्रित दलहरूलाई नजिकबाट हेरिरहेका एक जानकार भन्छन्, ‘त्यही विवादका कारण पार्टी फुटको सङ्घारमा नै पुगिसकेको छ, जुन कारण तत्कालै पार्टीबाट कुनै गतिविधि भइरहेको छैन ।’ जसपा र लोसपाका नेताहरूले आआफ्नो पार्टीको आन्तरिक विवाद चाँडै सुल्झाउने कोसिस भइरहेको जनाएका छन् । उनीहरू भन्छन्, ‘अहिले देखिएका विवादहरू चाँडै समाधान हुन्छन्, त्यसपछि निर्वाचन तयारी अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्