
अछाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुंगिएको छ ।
आइतबार अबेरसम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका तयार गरेर आज प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।
एकताअन्तर्गत तीन नगरपालिका र तीन गाउँपालिकामा साबिक नेकपा (एमाले)ले नेतृत्व पाएको छ भने एक नगरपालिका र तीन गाउँपालिकासहित चार स्थानीय तहमा साबिक नेकपा (माओवादी केन्द्र)ले नेतृत्व पाएको छ ।
मङ्गलसेन, साँफेबगर, र कमलबजार नगरपालिका तथा ढकारी, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकामा तत्कालीन नेकपा (एमाले)ले नेतृत्व लिने निर्णय भएको छ ।
यस्तै पञ्चदेवल विनायक नगरपालिका तथा रामारोशन, मेल्लेख र तुर्माखाँद गाउँपालिकामा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेतृत्व लिने सहमति भएकोे कार्यदल सदस्य तथा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिए ।
साबिक दुवै पार्टीको जुन जुन स्थानीय तह र वडामा वर्चस्व छ सोही ठाउँमा नेतृत्व लिने गरी नीतिगत निर्णय गरिएको उनले बताए । रासस