परिवर्तनको आन्दोलनमा महिलाको भूमिका प्रशंसनीय : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तनको आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको प्रशंशा गरेका छन् । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार एक शुभकामना दिँदै प्रचण्डले आजको दिन विश्वभरका महिलाहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।

‘मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो’, प्रचण्डले भनेका छन्, ‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् ।’

उनले महिलाहरुको बलिदानीपूर्ण संघर्षका कारण जनयुद्धमा बनेका साहस र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेको पनि उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुक्तिकामी महिलाहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु सहित उत्तरोत्तर प्रगतिको कामना शुभकामनासन्देशमार्फत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्