मदिराले बिगारेको सुदूर-समाज



  • मञ्जु भट्ट

गाउँका एक जना दाजु ६ वर्षको भएपछि घर नजिक स्कुल नभएकाले आफ्ना ठूलाबुबासँगै भारतमा बसेर पढ्न थाल्नुभयो । कहिलेकाहीँ बिदामा घर जानुहुन्थ्यो । पढाइ सकिएपछि माहिला बुबाको छोरासँगै धनगढी बस्न थाल्नुभयो ।
माहिला बुबाका छोराले रक्सी पिउँथे । ती दाजुलाई पनि उहाँबाटै रक्सीको लत बस्यो । ५ वर्ष बित्दा पनि घर जान मानेनन् । घरमा उनकी आमा रोएर हैरान । पछि उनका बुबाले आफैँ धनगढी गएर घर लिएर जानुभयो ।
घर गएपछि टाढाको गाउँमा पढाउन थाले । जंगलको बाटो भएर स्कुल जानुपर्ने भएकाले बाघ–भालुको डर हुन्थ्यो । पढाउन छाडेर काठमाडौं गए । दाजुले जागिरसँगै फेरि रक्सी पनि पिउन थाले ।
विवाह भएर २ छोरा जन्मिसकेका थिए तर उनी रक्सीको नशामा मस्त थिए । घरको केही वास्ता थिएन । त्यतिखेरै धेरै वर्ष पहिला जाँच दिएको शिक्षकको नतिजा निस्कियो । उनी पास भए ।
रक्सीको नशामा लठ्ठ उनी घर पुगे । घरमा पनि कहिले पिउने, कहिले नपिउने चलिरह्यो । रक्सी नपिए उनी गाउँकै पढेलेखेका भलाद्मी थिए । सबैलाई मद्दत गर्ने, दुःखमा साथ दिन्थे । तर, रक्सी पिएपछि बौलाउँथे ।
रक्सी खान लिएको पैसा भन्दै दिनहुँ कति जना घरमा माग्न आउँथे । दाजुले लिएको ऋण तिर्दातिर्दै उनका बुबा एक दिन हृदयघात भएर बित्नुभयो । उनको कान्छो भाइ र बहिनीले उनले लिएको ऋण तिर्ने र घर खर्च चलाउने गरेका थिए ।
उनका भाइ पनि विवाह गरेर भारतमा बस्न थाले । बहिनीले खर्चकै अभावमा काठमाडौंको एउटा मन्दिरमा विवाह गरिन् । बहिनीको विवाहमा आउँदा पनि रक्सीले मातेर आमाले बाटोमा तान्दै बल्ल काठमाडौं ल्याइपु¥याउनुभएको थियो ।
आमा रोएको देख्दा बहिनीलाई विवाह नगरेर आमाकै सेवा गरेर बसेको भए राम्रो हुन्थ्यो जस्तो लागेको थियो रे ! विवाहपछि पहिलोचोटि माइत जाँदा ती दाजुले यतिकै निहुँ खोजेर रातभरि झगडा गरेका थिए रे !
बिहान अँध्यारोमै आमासित राम्ररी भेटघाट पनि नगरी बहिनीहरू फर्केका थिए । दिउँसो पढाउने र बेलुकी पसलमा गएर रक्सी पिउने उनको दिनचर्या थियो । सुदूरपश्चिमकै तल्लो सोराड सरुवा भएका बेला एकचोटि छुट्टीमा घर आउँदा रक्सी पिएपछि लडेर भिरमा अड्किरहेका बेला बाटो हिँड्ने मान्छेले देखेर बचाएछन् ।
घरमा हुँदा पनि आफ्ना छोराहरूलाई कराउने, श्रीमती र आमालाई पिट्ने गर्थे । बेलुकी भएपछि उनकी आमा र श्रीमती घरभन्दा बाहिर लुकेर बस्थे । दाजु सुतेपछि मात्र आउँथे । घरमा आएको थाहा पाएपछि फेरि पिट्थे ।
दाजुको कुटाइ खाएर उनकी आमा र भाउजूको जीउ आधा भएको थियो । एक दिन गाईभैँसीलाई खुवाउन घाँस काटेर सुकाई जम्मा पारेको खरमा आगो लगाएपछि झन्डै घर नै जलेको थियो ।
घरमा बेचैनी थियो । बच्चाहरू अत्यन्तै डराएका थिए । समाजका राम्रा मान्छेसँग दूरी बढ्दै थियो । उनका बुबाले पनि रक्सी पिउनुहुन्थ्यो तर यसरी कहिल्यै मात्नुभएन ।
यस्तै हालत थियो माथिल्लो घरका काकाको । दिनभरि घरको काम गर्थे । साँझतिर पैसा झारझुर पारेर पसलमा गई रक्सी पिएर आउँथे । त्यपछि घरमा लडाइँ सुरु हुन्थ्यो । केटाकेटीको रुवाबासी चल्थ्यो ।
तिनको घरमा पनि कहिल्यै शान्ति भएन । उतापट्टि चक्कीवाला दाजुको पनि उस्तै नाजुक अवस्था थियो । एक दिन चक्की चलाउँथे । त्यसबाट उठेको पैसाले ३ दिनसम्म रक्सी पिएर लडेका हुन्थे ।
गाउँमा बिजुलीबाट चल्ने चक्की (चामल, गहुँ, मकै आदि पिस्ने मिल) उनका बुबाले किनिदिएका थिए । उनका बुबा भारतीय सेनामा थिए । उनको पनि अत्यधिक रक्सी सेवनले मृत्यु भएको थियो ।
ती दाजुले एक सुको पैसा जोगाउन सकेनन् । उनलाई घरबाट उनको भाग हिस्सा सबै दिएर छुट्याइदिएका थिए । तर पनि रक्सीकै कारण रात–दिन लोग्ने–स्वास्नीको झगडा पथ्र्यो ।
उनीहरूको घरमा पनि शान्ति थिएन । अहिले पनि ती दाजु रक्सीकै मातमा हुन्छन् । धनगढी सुधार केन्द्र पनि ल्याइसके तर कुनै परिवर्तन देखिएको छैन ।
त्यसैगरी एक जना गाउँले दाजु नजिकैको स्कुलमा शिक्षक थिए । उनलाई सबैले ‘मास्टर’ भनेर बोलाउँथे । दिउँसो स्कुलबाट फर्केपछि सधैँ बेलुकी रक्सी पिउन पसल जान्थे । हलो जोत्दा पनि उनी लरबराउँदै हिँडेका देखिन्थ्यो ।
घर फर्किंदा कहिले खाल्टो, खोलामा लडेर घर नपुगेपछि टर्च लिएर घरबाट खोज्न निस्कन्थे । कहिले भने त्यहीँ छाडिदिन्थे । नशा उत्रेपछि आफैँ घर जान्थे । एकचोटि तिहारको बेला अत्यधिक रक्सी पिएर गाउँका धेरैजसो लोग्नेमान्छेहरू बनास (काट्ने हतियार) बोकेर काट्छु भन्दै निस्के ।
केटाकेटी, महिलाहरू डराएर भागाभाग । रक्सी नपिएका २–४ जनाले जसोतसो कोठाभित्र लगेर थुने । कति जना त भारतमा काम गर्न जाँदा रक्सीका अम्मली बन्छन् । सँगै एचआईभी-एड्स पनि बोकेर ल्याउँछन् ।
आफू बिते पनि श्रीमतीलगायत छोराछोरी एचआईभी-एड्सका सिकार भएका २–३ वटा परिवार मेरै गाउँमा छन् । यस्ता दुव्र्यसनका घटनाहरू गाउँघरमा जताततै भेटिन्छन् ।
जब काठमाडौंबाट म घर जान्छु, कोहलपुर पुगेपछि देखिन्छन् जताततै रक्सीका पसल र खाजासँगै गर्वसाथ रक्सी पिइरहेका लोग्ने मानिसहरू । लम्की, अत्तरिया, धनगढीदेखि पश्चिमतिरका धेरैजसो पसलभित्र पस्न नसकिने गरी रक्सीको गन्ध आइरहेको हुन्छ ।
दिनदिनै सेवन गर्ने रक्सी, धुम्रपान, गुट्का आदिमा उनीहरूले आफ्नो आम्दानीको धेरै हिस्सा गुमाएका हुन्छन् भने आजीवन निको नहुने मुख, फोक्सो, आन्द्राको क्यान्सरलाई स्वागत गरेका हुन्छन् ।
गत वर्ष मात्र एक जना अछामका शिक्षक घाँटीको क्यान्सर भएर बिते । उनी गुट्का धेरै खान्थे । क्यान्सरको कारण त्यही गुट्का हुन सक्ने डाक्टरले बताए । गत वर्ष दसैँमा अछाम घर जाँदा साँफेबगरबाट जीपमा जानुप¥यो ।
एक जना रक्सीको नशामा बेहोस मान्छे खुट्टा राख्ने ठाउँमा लम्पसार परेका थिए । भारतबाट आएका उनी होसमा थिएनन् । उनको खल्तीबाट झर्न लागेको पैसा भएको पर्स अर्कै एक जनाले बोकेका थिए ।
साह्रै गाह्रो गरी घर पुग्नै लागेका थियौँ । घर नजिकैको पसलमा दुइटै आँखा नदेख्ने एक जना पुरुष रक्सीले लठ्ठ देखिन्थे । उसै पनि हिँड्न गाह्रो, त्यसमै अर्कोले डोहो¥याएर घर लैजाँदै थिए ।
दसैँपछि पल्लो गाउँमा बस्ने हामै्र गाउँबाट सरेर गएका एक जना देवरकी छोरी लडिछन् । टाँका लगाएर औषधि उपचारपछि नजिकैको औषधि पसलबाट फर्किंदा उनले रक्सी सेवन गरेर छोरी पिठ्युँमा बोक्दै लरखराएर जाँदै थिए ।
छोरीको नाक वरिपरि चोट लागेर आँखा सुन्निएर देख्न नसक्ने अवस्था थियो । यदि भिरको बाटोमा लड्यो भने के हुन्छ ? उनलाई राम्ररी थाहा थियो । त्यही पनि रक्सी नपिई नहुने ।
घरबाट फर्किने क्रममा साँफेबगरकै होटलमा बास बसियो । होटलसँगै रक्सी पसल पनि भित्रै थियो । कोठाभित्र पस्दा रक्सी गह्नाएर बस्न नसकिने अवस्था थियो ।
तन्नाहरू फेर्न लगाएँ, शौचालय सफा गर्न लगाएपछि कोठामा धुप बालेर बस्न सक्ने अवस्था आयो । अर्को दिन बिहान ५ बजे अत्तरिया पुगियो । हात–मुख धुने, चिया पिउने मनशायले एउटा चिया पसलभित्र पस्यौँ ।
बाहिर चिया पसल जस्तो देखिए पनि भित्र रक्सी पसल रहेछ । रातभरिको गाडीको गन्ध र बिहानै रक्सीको गन्ध मैले पचाउन सकिनँ । त्यहीँ बान्ता गरेँ ।
सुदूरपश्चिम पछाडि परेर ‘सुन्दर पश्चिम’ बन्न नसक्नुको मुख्य कारण त्यहाँका जल्दाबल्दा युवा काम गर्ने उमेर छँदा रक्सीको कुलतमा फस्नु पनि एक हो ।
अझै चुनावको समय नजिकिँदै छ । रक्सी पिउनेहरूले घरमा जमा भएको पैसा पनि सक्छन्, झैझगडा, घरमा कलह, अशान्ति ल्याउँछन् । घरका महिलाहरूले सबै सहेर बसिरहेका छन्, बस्नुपर्छ ।
गाउँका महिलाहरू मिलेर गाउँ नजिक रक्सी पसल बन्द गर्ने, अत्यधिक रक्सी पिएर हुलदङ्गा गर्नेलाई प्रहरी बोलाएर थुन्न लगाउने, सम्झाउने, शुल्क तिराउनेजस्ता कामहरू गरेकै हुन् ।
तर, यसको असर उनीहरूमाथि न्यून परेको देखिन्छ । रक्सीले मात्तिएर गाडी चलाउने र यसले बेलाबेलामा गाडी दुर्घटना हुने क्रम सुदूरपश्चिमका धेरै जिल्लामा सामान्य जस्तै हुँदै गएको छ ।
घरका मूलीले नै रक्सी खाएर मात्तिएपछि घरका वृद्धवृदा, महिला र बालबच्चालाई यसको नराम्रो असर परिरहेको हुन्छ । घरका बालबच्चाले पनि रक्सी पिउन सिक्छन् भने अन्यले निराशापूर्ण जीवन बाँच्नुपरेको छ ।
कहिलेकाहीँ दुःख सहन नसकेर महिलाहरूले आत्महत्यासमेत गर्ने गरेका छन् । सरकारले जताततै मदिरा बिक्री, वितरण, नियन्त्रण तथा उपभोगमा कडाइ गर्न सकेमा मात्र सुदूरपश्चिमका प्रत्येक बालबच्चा, दिदीबहिनी, आमा, श्रीमतीका अनुहार उज्याला हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्