डलर र सुनको मूल्यसँगै व्यापार घाटा चुलिँदै



काठमाडौं । रुस–युक्रेन युद्ध लम्बिँदै गर्दा त्यसको असर नेपालको अर्थतन्त्रमा देखिने क्रम जारी छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलर बलियो हुँदै जाँदा नेपालको अर्थतन्त्रमा युद्धको असर देखिन थालेको हो ।
डलरको मूल्य बढेकाले नेपालको वैदेशिक ऋणको ब्याजदर बढ्ने तथा भारतबाहेक तेस्रो मुलुकबाट आयात हुने वस्तुको मूल्य वृद्धि हुँदा आयातमुखी नेपालको अर्थतन्त्रमा गम्भीर असर देखिन थालेको छ । त्यस्तै देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति घट्ने र बजारभाउ बढ्ने क्रम पनि तीव्र रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति अझै सार्वजनिक गरेको छैन तर हरेक दिन प्रकाशित गर्ने विनिमय दरले नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको मूल्य उच्च रहेको छ । राष्ट्र बैंकले २५ फागुनका लागि प्रकाशित गरेको विदेशी विनिमय दरमा १ अमेरिकी डलर बराबर १२२ रुपैयाँ ७६ पैसा खरिद दर र १२३ रुपैयाँ ३६ पैसा बिक्री दर तोकेको छ । यसले आयातमा धानिएको नेपालको अर्थतन्त्रलाई गम्भीर असर पु¥याउने संकेत रहेको अर्थशास्त्रीको भनाइ छ ।
पेट्रोलियम पदार्थलगायत खाद्यान्नसमेत आयात गर्दै आएको नेपालको व्यापार घाटा भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साढे ७ महिनामा १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगिसकेको छ । डलरको मूल्य अकासिँदै गर्दा अर्को महिना नेपालको व्यापार घाटा अझै बढ्ने देखिन्छ ।
२ वर्षअगाडिको डलरको मूल्य १२३ रुपैयाँभन्दा बढी पुगेको थियो । त्यसपछि घट्दै गएको भए पनि रुस–युक्रेन युद्धका कारण क्रमशः बढ्दै गएको छ । डलरको तुलनामा भारतीय मुद्रा कमजोर रहे पनि नेपाल र भारतबीच स्थिर विनिमय दरका कारण असर नपर्ने भनिन्छ । तर डलरको मूल्य बढ्दा भारतले पनि आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्ने हुँदा भारतमा उत्पादित वस्तुको पनि मूल्य स्वतः बढ्छ ।
उता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल ८ मार्चमा प्रतिब्यारेल १२४ दशमलब ६९ डलरमा कारोबार भएको छ । हरेक दिन डलर, तेल र सुनको मूल्य बढ्दै गएको छ । सोही दिन सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भएको छ तर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार १८ दशमलब २० डलरमा पुगेको छ । यसले नेपालमा आयातको मूल्य बढाउँदा बजारमा महँगी उच्च हुने अर्थशास्त्रीहरुको भनाइ छ ।
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा देशको व्यापारघाटा र विदेशी विनिमयको सञ्चिति घट्दै गए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव पर्न सक्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार १६ दशमलब ७ प्रतिशतले विप्रेषण आप्रवाह घटेको छ । तर डलरको मूल्य बढ्दा विप्रेषणमा सुधार आउने अपेक्षा गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ११ खर्ब ६५ अर्ब ८० करोड विदेशी रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । यसले देशको कुल वस्तु तथा सेवाको आयातको आँकडामा साढे ६ महिनालाई मात्र धान्न सक्ने अवस्था छ । डलरको मूल्य बढ्दै जाँदा सरकारले लक्षित गरेको साढे ६ प्रतिशतको मूल्यवृद्धि भन्दा धेरै माथि पुग्ने आकलन छ ।

प्रतिक्रिया दिनुहोस्