निर्माण सामग्रीमा शतप्रतिसम्म मूल्यवृद्धिसँगै कृत्रिम अभाव



काठमाडौं । निर्माण सामग्रीको बजार भाउ उच्च भएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन र कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै निर्माण सामग्री उत्पादक कम्पनीहरूले मूल्य बढाएका हुन्। नेपाली बजारमा फलाम, सिमेन्ट बिटुमिनलगायतका निर्माण सामग्रीको मूल्य बढेको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बजारमा निर्माण सामग्रीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको बताए।

सिंहका अनुसार एकातिर शतप्रतिशतसम्म मूल्यवृद्धि हुनु र अर्कोतिर व्यवसायीहरूले बजारमा कृत्रिम अभाव सिर्जना गर्दा निर्माणको काम अगाडि बढाउन समस्या भएको छ। यस वर्ष फलामजन्य सामग्री तथा बिटुमिनमा शतप्रतिशत र इन्धनमा ६६ प्रतिशतसम्म मूल्यवृद्धि भएको सिंहको भनाइ छ । निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा ढुवानीको समेत मूल्य बढेकाले निर्माण व्यवसायीले ‘कन्ट्रक्सन होलिडे’ गर्नुपर्ने अवस्था सिर्जना भएको सिंहले बताए । ‘फलामजन्य वस्तुको मूल्य हरेक दिन ५ रुपैयाँका दरले वृद्धि हुँदै गएको छ। व्यसायीहरूले आज बेच्ने सामान भोलि बिक्री गर्‍यो भने थप नाफा हुने भएकाले बजारमा सामान बेच्नेभन्दा लुकाउने क्रम बढेको छ।’ सिंहले द नेपालटपसँग बताए। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा व्यवसायीले भोलिपल्ट नै बढाउँछन्, घट्दा धेरै दिनपछि मात्रै घटाउने गरेको सिंहको आरोप छ।

अहिले २/४ गाडी सामान बेच्ने र बाँकी अर्को दिनको भाउ कुरेर बस्ने व्यवसायीको मनसाय रहेको छ। बजारमा सिमेन्टको मूल्य फलामको तुलनामा वृद्धि नभए पनि ३० प्रतिशतको हाराहारीमा बढाउन गृहकार्य भइरहेको छ। नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष धु्रवराज थापाका अनुसार सिमेन्टको लागत मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ। ‘अहिले अफ सिजन भएकाले सिमेन्टको बिक्री कम छ। त्यसैले सिमेन्टको मूल्य बढेको छैन । तर, कोइला तथा डिजेलको मूल्य बढेको हुँदा सोहीअनुपातमा मूल्यवृद्धि गर्ने तयारी भएके छ।’ थापाले बताए। नेपाल फलामे छड उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष किरणप्रसाद साखले अहिले आफू उद्योग बन्द गरेर बस्नुपरेको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बढ्यै छ। जसले पहिला माल मगाएर स्कटमा राखेको छ, उसलाई फाइदा छ । स्टक नराखेकालाई गाह्रो छ।’

साखले बताए। अमेरिकी डलरको मूल्य अकासिँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा फलामजन्य वस्तुको मूल्य अझै बढ्ने सक्ने व्यवसायीहरूको भनाइ छ। एक सातामै फलामे छडको मूल्य प्रतिकिलो ३५ रुपैयाँसम्म बढेको छ। एक साता घि १०२ रुपैयाँ प्रतिकिलोमा पाउने छड अहिले १३५ रुपैयाँ पर्न थालेको छ। त्यस्तै बिटुमिन ५८ रुपैयाँ प्रतिकिलोबाट ११६ रुपैयाँसम्म पुगेको छ । व्यवसायीका अनुसार भारतमा स्टिलको मूल्य प्रतिटन २५ हजार भारतीय रुपैयाँले बढिसकेको छ । डन्डीको कच्चा पदार्थ ब्लेड पछिल्लो दिन प्रतिटन १०० डलरले वृद्धि भएको दाबी छ।

प्रतिक्रिया दिनुहोस्