कांग्रेसले एक्लै बहुमत ल्याउने गरी अभियान चलाउनुपर्छ : महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले एक्लै बहुमत ल्याउने गरी चुनावी घरदैलो अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आजदेखि सुरू भएको स्थानीय तह चुनाव केन्द्रीत ‘घरघर जाऔं कांग्रेस जिताऔ’ अभियानको बनेपामा उद्घाटन गर्दै उनले कम्युनिष्टले जिते भने देशको प्रगती नहुने भएकोले एक्लै बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

‘कांग्रेस एक्लै बहुमत ल्याउने तयारीसाथ चुनावी अभियानमा जाऔं,’ उनले भने, ‘कम्युनिष्टले जिते भने देशको प्रगती हुन्न।’ उनले वैशाखमा हुने स्थानीय निर्वाचन अघि घरघरमा पुगेर जनतालाई विभिन्न विषयमा कुरा बुझाउनुपर्ने बताए।

‘हाम्रा विचार, सिद्धान्त, गरेका काम र भविष्यमा गरिने कामका योजना तथा कम्युनिष्टहरूका बदमासीबारे जनतालाई घरघरमा पुगेर भन्नुपर्छ,’ उनले भने, ‘कम्युनिष्टका झुठा प्रचारको पर्दा उघार्न हामी सफल हुनुपर्छ।’

उनले जनताका घरदैलोमा पुगेर समस्या सुन्ने तथा कांग्रेसले गरेका कामहरूबारे जनतालाई राम्रोसँग बुझाउनुपर्ने पनि बताएका छन्। ‘कांग्रेसको एउटा बानि नराम्रो छ, आफूले गरेका कामको प्रचार नगर्ने। कांग्रेसका तिलजस्तो कमजोरीलाई कम्युनिष्टले पहाडजत्रो बनाउछन्,’ उनले भने, ‘हामीले गरेका राम्रा काम पनि जनतालाई भन्दैनौं यही कमजोरी छ।’

प्रतिक्रिया दिनुहोस्