अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १० घण्टा बन्द हुने



काठमाडौं : चार दशक पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको धावनमार्गको कालोपत्रे (पिच) परिवर्तन गरिने भएको छ । तीन अर्ब ७५ करोड रुपियाँ लागतमा पूर्णतः नयाँ किसिमले कालोपत्रे गर्ने गरी सोमबार नागरिक उडड्यन प्राधिकरण र उक्त आयोजनाको जिम्मा पाएको चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनिएरिङ कर्पोरेसनबीच सम्झौता भएको छ । 

प्राधिकरणले उक्त आयोजनाका लागि बोलपत्र आह्वान गरेका चार कम्पनीमध्ये उक्त कम्पनीलाई जिम्मा दिएको थियो । सम्झौता अनुसार आगामी जेठ मसान्तसम्म नयाँ कालोपत्रे गरिसक्नुपर्ने जिम्मेवारी रहेको प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि परियोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए ।  

उनका अनुसार चैत मध्यदेखि कम्पनीले हरेक दिन विद्यमान कालोपत्रे भत्काएर नयाँ बनाउँदै जानेछ एक दिनमा ८० मिटर अथवा त्योभन्दा बढी नयाँ कालोपत्रे हुनेछ, पौडेलले भने । विमास्थलको कुल धावनमार्गको लम्बाइ तीन हजार ३५० मिटर रहेको छ । 

बर्षायाम शुरु हुनुअघि नै कालोपत्रे सम्पन्न गर्ने गरी काम अघि बढाउन लागिएको पौडेलले जानकारी दिए । कालोपत्रेको काम जारी रहुन्जेल विमानस्थल दैनिक १० घण्टा बन्द रहने छ । हाल २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल चैत मध्येदेखि जेठसम्म १२ घण्टा मात्र सञ्चालन हुन्छ । यो समाचार गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्