जनप्रतिनिधिको गुनासो : हुलाकी राजमार्गमा चरम लापरबाही



विराटनगर । तराईका जिल्ला जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणमा चरम लापरबाही भइरहेको भन्दै जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनीहरूले तराईका जिल्ला जोड्ने लाइफलाइनका रुपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीले कार्ययोजनाविपरीत आफुखुशी काम गरिरहेको बताए । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले निर्माण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण हुलाकी राजमार्ग अन्तगर्तको रंगेली रोडमा दुर्घटनाको जोखिम उच्च हुँदै गएको बताए । निर्माण कम्पनीले खाड्ल खनेर सडक विस्तारको कार्य नथाल्दा दुर्घटनामा परी एक जनाको ज्यानसमेत गएको जानकारी गराए ।

नेपालमा वि.सं. २०६२-०६३ सालबाट हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । मोरङमा भने तीन वर्षअघि मात्रै राजमार्ग निर्माणको कार्य अघि बढेको हो । तर, सुरुवाती चरणदेखि नै कागजी रूपमा भौतिक प्रगति देखाएर राजमार्ग निर्माणमा गम्भीर त्रुटि हुँदै आएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । मोरङमा कुल सात वटा प्याकेजमा राजमार्ग निर्माणको काम भइरहेको छ । जसमा रतुवा–केशलिया सडकखण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका मैनाचुली वेदान्सी जेभी र श्रेष्ठ कन्सट्रक्सन, गान्धीमनमोहनमार्गमा कान्छाराम कन्सट्रक्सन तथा विराटनगर केशलिया रोड सडकखण्डमा देव एण्ड शायर भुमिले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेका छन् । तर, राजमार्गको भौतिक प्रगति सन्तोषजनक नरहेको जनप्रतिनिधिको तर्क छ । रतुवामाई नगरपालिकाका मेयर रविन राईले संशोधित सम्पन्न मितिमा पनि निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले त्यस्ता निर्र्माण कम्पनीलाई ब्ल्याक लिस्टिङ गर्नुपर्ने बताए ।

मोरङमा हाल रतुवा–केशलिया, गान्धी मनमोहन मार्ग, कानेपोखरी-रंगेली र विराटनगर–केशलिया गरी कुल ९९.५ मध्ये ७७.५ किलोमिटर सडकखण्डमा हुलाकी राजमार्गको निर्माण कार्य भइरहेको छ । जसमा २२ किलोमिटर लम्बाइको कानेपोखरी-रंगेली सडकखण्ड यसअघि नै भारतीय अनुदानमा सम्पन्न भइसकेको छ । ३.५ किलोमिटरको विराटनगर-केशलिया खण्डमा सम्झौता भई भर्खरै काम सुरु भएको छ । तर, निर्माणाधीन सडकखण्ड पनि निर्माण सम्पन्न नगरी अधुरै छाडिएको जनप्रतिनिधि बताउँछन् ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले हुलाकी राजमार्ग निर्माणका दौरान एक पटक पनि गाउँपालिकासँग समन्वयको प्रयास नभएको गुनासो गरे । उनले निर्माण कम्पनीले आफुखुशी काम गर्दै आएको भन्दै असन्तुष्टि व्यक्त गरे । इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले हाल हुलाकी राजमार्ग र उत्तर-दक्षिण लिङ्क रोडसमेत गरी कुल २ सय ९५ किलोमिटर सडकको काम हेरिरहेको छ । कार्यालयकाअनुसार अहिले सडकको १८ र पुलको २७ गरी ४५ वटा ठेक्कामा निर्माण कार्य जारी छ ।

भारतीय पक्षले जिम्मा लिएको ८० किलोमिटरको २ वटा सडक कालोपत्रे भइसकेको छ । बाँकीको चौडाई बढाउने र स्तरोन्नतिको कार्य जारी छ । चालु आर्थिक बर्षमा २७ वटा पुलमध्ये १८ वटा निर्माण सम्पन्न हुने अवस्थामा रहेको कार्यालयको तथ्यांक छ । यद्यपि, जनप्रतिनिधिले औंल्याएका कमीकमजोरीलाई भोलिका दिनमा सच्याएर लैजाने बिषयमा कार्यालय प्रतिबद्ध रहेको योजना प्रमुुख इन्जिनियर विजयकुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्