नेपाल-चीन अन्दरदेशीय व्यापार मेलाको रौनक घट्यो (फोटोफिचर)



म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा जारी नेपाल–चीन अन्दरदेशीय व्यापार मेलाको रौनक घट्दै गएको छ ।  

गत शनिबारदेखि जारी व्यापार मेलामा चिनियाँ  ठूला खम्बा व्यापारी नआएपछि विगत वर्षजस्तो व्यापारिक रौनक नभएकोे लोमान्थाङ–४ स्थित नेचुङ भन्सार कार्यालयले जनाएको छ । समुन्द्री सतहदेखि करिब ४ हजार ३ सय मिटर उचाइमा मेला आयोजना गरिएको थियो ।

भन्सार प्रमुख नासु यादवराज पहाडीका अनुसार कोरलाको चिनियाँ ३ किमि भूमिभित्र भइरहेको व्यापार मेलामा ठूला व्यापारी नआएपछि व्यापार मेलाको गति सुस्त भएको हो । मेलास्थल पुगेका सर्वसाधारणले आफूलाई आवश्यकता परेको सामान किनमेल गर्न समेत नपाएको बताइएको छ । 

चिनियाँ पक्षले १० दिनसम्म व्यापार मेला सञ्चालन गर्ने भनिए पनि व्यापार मेला सुस्ताएका कारण नेपालतर्फका सीमावर्ती बासिन्दा समेत व्यापार मेला जाने÷आउने क्रम घटेको पहाडीको भनाइ ।

पुस्तौदेखि नेपाल र चिनियाँ पक्षले आपसी भद्र सहमतिमा आलोपालो मेला सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय सुरक्षाका कारण चिनियाँ पक्षले आफ्नो भूमिमा मात्र बर्से्नि २ पटक व्यापार मेला गर्ने गरेको छ। दुई देशबीचका सीमावर्ती बासिन्दाको हितका लागि व्यापार मेला आयोजना गरिएको हो। नेपाली पक्षले उक्त व्यापार मेलामा निर्माण सामग्री, खाद्यान्न, विद्युतीय उपकरण र लत्ताकपडा खरिद्ने गर्छन् भने नेपालीले पस्मिना र जडीबुटी बिक्री गर्छन ।

कोरलाको चिनियाँ व्यापार मेलालाई लक्ष्य गर्दै ७ जना सुरक्षाकर्मी खटाइएको छ । मेलास्थलमा नेपाली सुरक्षाकर्मीको अनुपस्थिति र कोरला पास वरिपरी खुला बैकिल्पक चोरी मार्ग भएकाले नेपालतर्फ पाइने जडीबुटी अवैध रूपमा पैठारी हुने आशंका बढेको छ ।

प्रतिक्रिया दिनुहोस्