चीनमा मंगलबार दुई वर्षयताकै धेरै कोभिड संक्रमित



एजेन्सी । चीनमा मंगलबार एकै दिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ।

चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ सङ्क्रमितको संख्या पनि रेकर्ड तोड्ने गरी दिनहुँ बढिरहेको छ । एनएचसीका अनुसार उत्तरपूर्वी प्रान्तमा ३ हजार भन्दाबढीमा संक्रमण देखिएको छ। चीनले कोभिडविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाएको जनाउँदै आएको छ । कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ । यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुन र १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा यसै साता लकडाउन घोषणा गरिएको थियो । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनिएको छ।

रोकथाम र नियन्त्रणलाई समयमै सशक्त नबनाइए कोभिड सजिलै समुदाय स्तरमा फैलिन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन्। संक्रमणका कारण साङ्घाईमा विद्यालय र उत्तरपूर्वी शहरहरू बन्द छन् । चीनका १८ ओटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेका छन् । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्