बैंकहरू ऋण दिन नसक्ने अवस्थामा



काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव उच्च देखिएको छ । नेपाल राष्ट्रले तोकेको ९० प्रतिशतको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा नाघेपछि पुँजीको अभाव देखिएको हो ।
फागुन मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रमा सीडी रेसियो ९० दशमलब ४७ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा निक्षेप रकममा केही सुधार भए पनि सीडी रेसियो माथि नै रहेको छ । सीडी रेसियो उच्च भएका कारण बजारमा लगानीयोग्य पुँजीको अभाव हुँदा अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी रोकेका छन् ।
चालु आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च कम हुँदा वित्तीय प्रणालीमा दबाब परेको छ । चालु आवको ८ महिनामा कुल पुँजीगत खर्च २० दशमलब ४ प्रतिशत अर्थात् ७७ अर्ब १४ करोड ६८ लाख रुपैयाँ मात्र भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थामा थोरै कर्जा लिन माग गर्दा पनि बैंकहरूले एक महिनाका लागि रोकेका छन् । बैंकहरूले तरलता व्यवस्थापन गर्नका निम्ति चर्को ब्याजदरमा अर्को संस्थासँग नगद सापटी लिएर काम चलाउन थालेका छन् । अहिले ७ प्रतिशतको हाराहारीमा ब्याज तिरेर अन्तर बैंक सापटी लिन थालिएको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार ७ दशमलब शून्य २ प्रतिशतमा अन्तर बैंक कर्जा सापटी लिएका बैंकहरूले सोमबार ६ दशमलब ९९ प्रतिशतमा झरेको छ । माघ महिनामा अन्तर बैंक सापटी ५ प्रतिशतमा रहेको थियो । तरलता बढ्दै गएपछि निक्षेपसँगै अन्तर बैंक सापटीको ब्याजदर पनि बढेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अन्तर बैंक सापटीको ब्याजदरको सीमा ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पु¥याएको थियो । तर, बैंकहरूले उक्त सीमाभन्दा पनि माथि गएर सापटी लिने गरेका छन् । केन्द्रीय बैंकले दिएको सापटीले धान्न नसकेपछि अन्तर बैंक सापटीमा महँगो ब्याज तिर्न बाध्य भएका छन् ।
२५ फागुनमा बैंकहरूले वर्षकै उच्च ६३ अर्ब ४१ करोड रुपैयाँको सापटी लिएका थिए । फागुन महिनामा ५० अर्ब रुपैयाँको हाराहारीमा सापटी भएको तथ्यांक छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरूको १८ खर्ब ९३ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को २ खर्ब ३६ अर्ब ९३ करोड गरी कुल २१ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ३ खर्ब ६३ अर्ब २५ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब २९ अर्ब ८ करोड गरी कुल ४ खर्ब ९२ अर्ब ३३ करोड अन्तर बैंक कारोबार भएको थियो ।
अपेक्षितरूपमा निक्षेप वृद्धि हुन नसक्दा बैंकहरूलाई दबाब परेको छ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले ४३३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो दिन ४३२८ अर्ब रुपैयाँ रहेको थियो ।
त्यस्तै विकास बैंक तथा वित्त कम्पनीमा ५६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी कुल लगानी ४९०१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अघिल्लो दिनको तुलनामा ८ अर्ब बढी हो ।
सोही अवधिमा वाणिज्य बैंकले ४१६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने विकास बैंक र वित्त कम्पनीले ५२८ अर्ब गरी कुल ४६९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्