नेपाल–चीन अन्तरदेशीय व्यापार मेलाको रौनक घट्यो (फोटो फिचर)



म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा जारी नेपाल–चीन अन्दरदेशीय व्यापार मेलाको रौनक घट्दै गएको छ।  गत शनिबारदेखि जारी व्यापार मेलामा चिनियाँ ठूला खम्बा व्यापारी नआएपछि विगत वर्षजस्तो व्यापारिक रौनक नभएकोे लोमान्थाङ–४ स्थित नेचुङ भन्सार कार्यालयले जनाएको छ।

समुन्द्री सतहदेखि करिब ४ हजार ३ सय मिटर उचाइमा मेला आयोजना गरिएको थियो। भन्सार प्रमुख नासु यादवराज पहाडीका अनुसार कोरलाको चिनियाँ ३ किमि भूमिभित्र भइरहेको व्यापार मेलामा ठूला व्यापारी नआएपछि व्यापार मेलाको गति सुस्त भएको हो। मेलास्थल पुगेका सर्वसाधारणले आफूलाई आवश्यकता परेको सामान किनमेल गर्न समेत नपाएको बताइएको छ।

चिनियाँ पक्षले १० दिनसम्म व्यापार मेला सञ्चालन गर्ने भनिए पनि व्यापार मेला सुस्ताएका कारण नेपालतर्फका सीमावर्ती बासिन्दा समेत व्यापार मेला जाने–आउने क्रम घटेको पहाडीको भनाई छ। पुस्तौदेखि नेपाल र चिनियाँ पक्षले आपसी भद्र सहमतिमा आलोपालो मेला सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय सुरक्षाका कारण चिनियाँ पक्षले आफ्नो भूमिमा मात्र बर्सेनि २ पटक व्यापार मेला गर्ने गरेको छ।

दुई देशबीचका सीमावर्ती बासिन्दाको हितका लागि व्यापार मेला आयोजना गरिएको हो। नेपाली पक्षले उक्त व्यापार मेलामा निर्माण सामग्री, खाद्यान्न, विद्युतीय उपकरण र लत्ताकपडा खरिद गर्छन् भने नेपालीले पस्मिना र जडीबुटी बिक्री गर्छन।

कोरलाको चिनियाँ व्यापार मेलालाई लक्ष्यित गर्दै ७ जना सुरक्षाकर्मी खटाइएको छ। मेलास्थलमा नेपाली सुरक्षाकर्मीको अनुपस्थिति र कोरला पास वरिपरी खुला बैकिल्पक चोरी मार्ग भएकाले नेपालतर्फ पाइने जडीबुटी अवैध रूपमा पैठारी हुने आशंका बढेको छ। 

प्रतिक्रिया दिनुहोस्