भारतले साढे तीन महिनापछि पठायो शर्माको एग्रिमो



काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको एग्रिमो तीन महिनापछि आएको छ । परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर २४ मंसिरमा एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो ।

मंगलबार शर्माको एग्रिमो आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सहमतिपत्र आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई राजदूत नियुक्त गर्नेछिन् । शर्मासँगै एकै दिन एग्रिमोका लागि पत्राचार गरिएका ज्ञानचन्द्र आचार्य र प्राध्यापक श्रीधर खत्री यसअघि राजदूत नियुक्त भइसकेका छन् । आचार्य बेलायत र खत्री अमेरिकाका लागि राजदूत नियुक्त भएका छन् ।

भारतले नेपालका कूटनीतिहरूसँगको कुराकानीमा विधानसभा चुनाव र विदेशमन्त्रीको व्यस्ततालगायत कारण देखाउँदै शर्माका लागि अग्रिमो पठाएको थिएन ।

सामान्यतया आग्रह गरेको ४ देखि ६ हप्ताभित्र एग्रिमो पठाइसक्ने चलन रहेको भए पनि भारतले भने एग्रिमो पठाउन समय लगाएको हो । डा. शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत थिए । अर्थशास्त्री शर्माले राष्ट्रिय योजना आयोग उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्