संस्थापक सदस्यलाई अस्पतालमा ७५ प्रतिशत छुट



नेपालगञ्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणमा सहयोग पु¥याउने संस्थापक सदस्यले उपचारमा भारी छुट पाउने भएका छन् । अस्पताल निर्माण तथा सञ्चालनको लागि आर्थिक तथा अन्नदान गर्ने संस्थापक सदस्यले उपचारमा ७५ प्रतिशत छुट पाउने भएका हुन् ।
अस्पताल विकास समितिको मंगलबार बसेको बैठकले अस्पतालको स्थापनाका लागि विशेष योगदान दिने संस्थापक सदस्यलाई उपचारमा छुट दिने निर्णय गरेको हो । अध्यक्ष किशोर थापाका अनुसार यस्तै साधारण र आजीवन सदस्यलाई उपचारमा ५० प्रतिशत छुट गर्ने निर्णय गरिएको छ ।
यसैगरी रात्रिकालीन सेवाका गर्न सहज होस् भन्ने उद्देश्यले अस्पतालमा हाईमास्ट लाइट राखिने भएको छ ।
अस्पताललाई सेवाग्राहीमैत्री बनाउने लक्ष्यअन्तर्गत नै हाईमास्ट लाइट जडान गरिने निर्णय गरिएको समितिले जनाएको छ । अध्यक्ष थापाले मंगलबार बसेको समितिको बैठकले अस्पताल परिसरमा हाईमास्ट लाइट जडान गर्ने निर्णय भएको जनाए ।
क्यान्सर अस्पताललाई गुणस्तरीय उपचारको थलोका रुपमा रुपान्तरण गर्न लक्ष्यअनुरुप बैठकले छिट्टै लाइट जडान गर्ने निर्णय गरेको उनले बताए । भर्खरै आएको नयाँ अस्पताल विकास समितिले अस्पतालका विभिन्न पक्षलाई सवल बनाउने प्रयास गरिरहेको छ ।
अध्यक्षको रुपमा नियुक्त भएका थापाले यसअघि ओपिडी सेवा निःशुल्क गर्ने बताएका थिए । यसअघि अस्पताल विकास समितिको पहिलो बैठकमै ओपिडी सेवा निःशुल्क गर्ने निर्णय भइसकेको छ । उक्त सुविधा खजुरा गाउँपालिकामा स्थायी बसोबास गरिरहेका नागरिकले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्