हिलट्यांकले पानीको प्यास मेटिएला र मेयर साव ?



काठमाडौं । चुनावमा भोट माग्दा मलाई जिताउनुस् तपाईको गाउँमा एक घर एक धाराको व्यवस्था गरिदिन्छु भनेको अस्ति मात्र जस्तो लाग्छ । तर, समय यति छिटो वितेछ । ५ वर्ष वितेको पत्तै भएन । अब फेरि त्यस्तै अर्को चुनाव आइसक्यो । आगामी बैशाख ३० गतेलाई निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्ने तिथि मिति घोषणसहित निर्वाचन आचार संहिता पनि सार्वजनिक गरिसक्यो । तर, ५ वर्षमा रामेछापको हिमगंगावासीले एउटा हिलट्यांक पाएको छ । वितरण मुखी भएपनि कार्यकालको अन्तिम समयको अर्को चुनावको मुखमा जनताले एउटा हिलट्यांक पाउँदा अघिल्लो चुनावमा गरिएको सबै बाच्चा र प्रतिवद्धता भुलेर गर्वले छाति फुलाएर धन्यवाद दिएका छन् ।

‘जनता भेडा हुन्’ भन्ने लौह पुरुष गणेशमान सिंहको भनाई झल्झली याद आउने गरी जनता अहिले एउटा हिलट्यांक लिन लाइनमा बसेको छ । ती लाइनमा बसेको जनतालाई तपाईले ल्याएको हिलट्यांक मेरो भागमा पर्छ की पर्दैन भन्ने चिन्ता बढी हुन्छ । खुसीको विषय त के छ भनेनी मेयर साव तपाईलाई ती लाइनमा बसेका जनताले प्रश्न गर्ने हिम्मत गर्दैनन् । मेयर साव तपाईले रामेछाप नगरपालिका ४ हिमगंगाका जनतालाई घर–घरमा धारा बनाइदिन्छु भन्नु भएको थियो ? हिलट्यांक दिन्छु भनेको हैन ?

खानेपानी समस्यामा हिमगंगावासी पीडित छ । तपाईको आफ्नै टोलमा पनि खानेपनीको चरम अभाव छ । सम्पूर्ण वडामा केही टोल बाहेक खानेपानीको अवस्था उस्तै छ । मेयर साव तपाई र मेरो वडा एउटै भएको नाताले मैले सुरुवाती समयदेखि खबरदारी गर्दै आए ताकी मेरो खबरदारीले तपाईलाई राम्रो काम गर्ने प्रेरणा मिलोस् । रामेछाप नगरको पहिलो मेयर हिमगंगाले पाएको यो सौभाग्यलाई हामी हिमगंगावासीले भरपुर प्रयोग गर्न पाइयोस् भन्ने म र म जस्तै हिमगंगावासीको चाहाना थियो । तर, अन्तमा हामीले तपाईलाई एउटा हिलट्यांक दिएकोमा धन्यवाद दिन पर्ने अवस्था भयो ।

तपाईले खानेपानीको लागि हिमगंगा बजेट वितरण गर्नु भएन भनेर मेयर साव म तपाई तपाई भन्दिन् । किन कि ५ वर्षमा हरेक वर्ष मेरै गाउँमा मात्र लाखौं बजेट आयो । परिणाम अहिले गाउँका आधा मानिसले पानी खान नसक्ने अवस्था छ । मेरो गाउँमा अहिले पानी खानुभन्दा सस्तो मोही खानु भएको छ । प्रत्येक वर्ष तिर्ने शुल्क, पालेलाई तिर्ने शुल्क र पानी भर्दा लाग्ने मिटरको पैसा तिर्न नसकेर अहिले मेरो गाउँका आधा मानिसले पानी नखाने निर्णय गरेका छन् । २०७४ को चुनावमा तपाई र तपाईको पार्टी मेरो गाउँका जनतालाई घर–घरमा धारा बनाइदिन्छु मलाई भोट देउ भन्दै भोट मागेको ५ वर्ष पुग्दा मेयर साव आधा गाउँका मानिसले पानी खान नसक्ने अवस्था सृजना भएको छ । उक्त खानेपानी संस्थाको नेतृत्व तपाई कै स्थानीय कार्यकर्ताले गरिरहेको छ ।

घर–घरमा धाराको निर्माणको कुरा त परेको कुरा भएको धाराको पानी समेत खान नसक्ने अवस्थामा हुँदा तपाई भने हिलट्यांक बोकेर ठुलै युद्ध जितेको योद्धा जस्तो गरेर गाउँगाउँमा पुग्नु भएको छ । यो चित्र देखेर हिमगंगाका जनताको तर्फबाट प्रश्न गर्नु मन लाग्यो मेयर साव हिलट्यांकले पानीको प्यास मेटिन्छ ? तपाईले दिएको हिलट्यांकमा पानी हाल्ने की अन्न राख्ने भकारी बनाउने मेयर साव ? के तपाईलाई जनता पानी खान नपाएर व्याकुल भएको बेला हिलट्यांक बाँढ्दै हिड्नु हिनताबोध लाग्दैन ? आफू नगरपालिकाको पहिलो मेयर हुँदै गर्दा आफ्नै वडाका जनताले पानी खान नपाउँदा तपाईको हृदय पोल्दैन र मेयर साव ?

सबैभन्दा मुख्य प्रश्न त मेयर साव वडा कार्यालयले हिलट्यांक किन्न ४६ लाख विनियोजन गरेको बजेटबाट खरिद गरिएको हिलट्यांक र मैले र मेरो पार्टीले दिएको भन्दै बाँड्न अलिकति ग्लानि भएर न र ? अर्को कुरा अहिले हिमगंगामा संघीय सरकारको योजनामा लिफ्ट खानेपानीको भौतिक निर्माणको काम सुरु भएको छ । उक्त योजना वडा भरिका जनता सबैलाई आवश्यक छैन र हाम्रो वडाको भौगोलिक बनावटको कारण त्यो योजना व्यवस्थापनको हिसावले पनि व्यवहारिक देखिदैन । तर, हिलट्यांक बाँड्ने बाहानामा जबरजस्ती उक्त योजनामा जनतालाई सामेल हुनुपर्छ भन्नु कतिको न्याय संगत हुन्छ मेयर साव ?

खानेपानीको मात्र कुरा गर्दा पनि यस्ता धेरै खुद्रा खाद्री विषय छन् । तपाई नगर प्रमुखमा निर्वाचित भएपछि सबैभन्दा बढी मौलाएको विषय पाइप बाँड्ने भयो । पाइप बाँड्ने तपाईका कार्यकर्तालाई नगर र वडाको बजेटबाट आएको पाइप तपाईको पार्टी, तपाईको नेताले व्यक्तिगत रुपमा दिएको भन्दै कांग्रेसको सदस्य बन्न बाध्यसमेत बनाइयो । अहिले प्रत्येक नागरिकको घरमा पाइप त छ । तर, पानी छैन । मेयर साव यस्तो दृश्यले तपाईलाई पोल्दैन ?

यसरी खानेपानीको नाममा आएको बजेट न नागरिकलाई थाहा हुन्छ । न जानकारी नै दिइन्छ । तपाईले ५ वर्ष रामेछाप नगरपालिकाको नेतृत्व गर्दा तपाईको आफ्नो वडा हिमगंगाले के–के पाए । विकासको हिसावमा कति फरक भयोे भन्ने हिसाव गर्ने हो भने तपाईको पार्टीको कार्यकर्ताभन्दा अरु कसैले फरक अनुभूति गर्दैन । बरु अरबढी समस्या थपिएको छ । हरेक विकास निर्माण र सरकारको बजेट तपाईको कार्यकर्ता भन्दा टाढा पुगेन । हिमगंगाको बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको कुनै पनि विषयमा जनताले अनुभूत हुने खालको काम भएन । तर, पनि तपाईलाई धेरै धेरै धन्यवाद मेयर साव । कम्तिमा एउटा हिलट्यांक दिनुभयो ।

सञ्जय श्रेष्ठ

[email protected]

प्रतिक्रिया दिनुहोस्