खराब छिमेकीका कारण आतङ्कित युक्रेन



  • श्यामप्रसाद मैनाली

लामो समयदेखि रुसी आधिपत्यवादी सोचका कारण आतङ्कित बन्दै आफ्नो अस्तित्व रक्षामा युक्रेन लडिरहेको छ । रुसी स्वार्थ र रणनीतिको पक्षमा निरपेक्ष रूपमा समर्थन गर्न नसक्दा र स्वतन्त्र निर्णय लिने स्वाभिमानी अडानका कारण रुसले अकारण युक्रेनमाथि आक्रमण गरिराखेको छ ।
भविष्यमा कस्तो दुर्दशा र सङ्कट यस देशले भोग्नुपर्ने हो ? निश्चित छैन । विश्वले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता दिएको छ । तर पनि यस देशको आफ्नो क्षेत्रीय अक्षुणताको रक्षा गर्ने विषय सङ्कटमा छ ।
यस क्षेत्रमा निहित स्वार्थको अस्वस्थ खेल सञ्चालन भइरहँदा यी समस्याहरूको समाधानका लागि कुनै सहज विकल्पसमेत देखिएको छैन । यस क्षेत्रमा रहेका विभिन्न अन्तर्राष्ट्रिय सङ्गठनहरूले अवस्थालाई सहज बनाउनुका अलावा स्थितिलाई बिगार्दै लैजाने प्रकारले खलनायकी भूमिका निर्वाह गरिरहेका छन् ।
व्यापार, सामूहिक सुरक्षा, अर्थ व्यवस्था, शान्ति र अमनचयन कायम गर्ने विषयलगायत अन्य समसामयिक मानवीय भलाइका विषयमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दै रहँदा व्यवहार ठीक विपरीत दिशामा अभिमुख भएको स्थिति छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रयासरत रहनुपर्नेमा यस क्षेत्रका युरोपियन युनियन, नेटो र कमनवेल्थ आदिले द्वन्द्व सिर्जना गर्न महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
स्वतन्त्र हैसियतमा सबै प्रकारका स्थायित्व कायम गर्दै समृृद्धिको दिशामा अभिमुख युक्रेनलाई आफ्नो अस्तित्व रक्षा गर्न नसक्ने अवस्थामा यिनै क्षेत्रीय सङ्गठनहरूले पुर्‍याइदिएका छन् ।
नेटोको उदय युक्रेनका लागि दुर्भाग्य
सोभियत संघको विघटन हुनुपूर्व अथवा सन् १९९१ भन्दा अगाडि साम्यवादी देशहरूको नेतृत्व सोभियत संघले गर्दै ती सबैलाई समेट्ने उद्देश्यले वार्सा प्याक्ट सङ्गठन अस्तित्वमा ल्याएको थियो ।
त्यसको विपरीत उद्देश्यका साथ लोकतान्त्रिक देशहरूको साझा सञ्जाल वा पश्चिमा सम्पन्न लोकतान्त्रिक देशहरूको साझा सङ्गठन नेटो अस्तित्वमा आएको थियो ।
नेटोले विश्व युद्धहरूमा आफ्नो पक्षमा रहेका राष्ट्रहरूलाई मात्र नसमेटी वार्सा प्याक्टमा रहेका राष्ट्रहरूलाई समेत आफ्नो सङ्गठनमा स्वागत गर्ने नीति अवलम्बन गर्दै आएको थियो ।
यसबाट लामो समयदेखि देखिएको द्वन्द्वबाट विश्वभर शान्ति कायम गर्ने सोचाइले मूर्त रूप पाउने अर्थमा नेटो प्रभावकारी बन्ने उद्देश्यका साथ अस्तित्वमा आइरहेको थियो । तर, युक्रेनको मामिलामा नेटोको भूमिका अत्यन्त विवादास्पद र धोखाघडीमा आधारित देखियो ।
यसले आफ्नो पूर्वप्रतिबद्धता युक्रेनमा रुसले आक्रमण गरेपश्चात् निर्वाह गर्न नसकी युक्रेनलाई पृथक् छाडिदिएको छ । यस क्षेत्रमा नाटोको संलग्नता समस्याको उजागर गर्ने र अस्तव्यस्तता सिर्जना गर्ने मात्र भएको छ । यसका लागि धेरै प्रमाणहरू दिन सकिने अवस्था छ ।
यस संस्थाको विधान अध्ययन गर्दा धारा १० मा व्यवस्था भएको विषयलाई उल्लेख गर्नु सान्दर्भिक हुनेछ । उत्तर एटलान्टिक सन्धि सङ्गठनले सर्वसम्मत निर्णय गरेर अन्य युरोपेली देशहरूलाई सदस्यको रूपमा स्वीकार गर्न सक्नेछ ।
तर, यस्ता देशहरूको सदस्यताबाट यस क्षेत्रका देशहरूमा शान्ति कायम गर्नमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने शर्त छ । यस उद्देश्य प्राप्तिका लागि कुनै पनि युरोपेली देशहरूले सहजै सदस्यता प्राप्त गर्न सक्छन् ।
यी सबै शर्तहरू युक्रेनले पूरा गर्दा पनि सदस्यता प्राप्त गर्न सकेको छैन । यदि यस्तो नयाँ सदस्यको प्रवेशबाट अन्य राष्ट्रहरूको सुरक्षामा चुनौती थपिने अवस्था भएमा त्यस्ता राष्ट्रहरू युरोपियन युनियनमा प्रवेश पाउने अधिकारबाट बञ्चित रहनेछन् ।
यही अवस्थामा युक्रेनलाई पाउँदा फ्रान्स र जर्मनीको विरोधका कारण नाटोको सदस्यता प्राप्त गर्न सकेन । पश्चिमा देशहरू र संयुक्त राज्य अमेरिकाप्रति संलग्नता देखाउने नीति भएको कारण युक्रेनलाई आफ्नो नियन्त्रणमा लिई रुसले चाहेअनुसारको विदेश नीति अवलम्बन गराउनका लागि यस देशमाथि आक्रमण भएको छ ।
युद्धको मैदानबाट राष्ट्रपति जेलेन्स्कीले ईयूको सदस्यताका लागि आह्वान गरिरहँदा नेटो र ईयू दुवै सङ्गठनहरूले यस देशलाई स्वीकार गरेका छैनन् । सङ्कटमा फसाएर आफू मात्र सुरक्षित रहने रणनीति पश्चिमा देशहरूले युक्रेनप्रति लागू गरिरहेका छन् ।
यस सङ्गठनको धारा ५ का प्रावधानहरूका कारण युक्रेनले सदस्यता प्राप्त गर्न नसकेको देखिएको छ । यस धारामा नेटोका सदस्य राष्ट्रहरू कुनै एकमाथि कुनै पनि राष्ट्रले सशस्त्र युद्ध प्रारम्भ गरेमा त्यो सम्पूर्ण सदस्य राष्ट्रहरूमाथि गरेको आक्रमण ठहरिनेछ र यसको सामूहिक रूपमै मुकाबिला गरिनेछ भन्ने स्पष्ट प्रावधान छ ।
रुसी सेना युक्रेनको सिमानामा तैनाथ भइरहेको अवस्थामा युक्रेनलाई सदस्यता दिँदा रुसले युक्रेनमाथि आक्रमण गरेको अवस्थामा नेटोका सम्पूर्ण राष्ट्रहरूले रुससँग युद्ध गर्नुपर्ने जोखिम प्रष्ट देखिएको थियो ।
अत्यन्त ठूलो द्वन्द्वको आमन्त्रण युक्रेनलाई सदस्यका रूपमा प्रवेश गराउँदा हुने स्थिति देखिई नेटोका सदस्य राष्ट्रहरू पछि हटेका हुन् । संयुक्त राज्य अमेरिकाले समस्याको समाधान सधैँ शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट खोज्ने प्रयास गरेको हो ।
विश्वभर शान्ति कायम गर्ने महान् लक्ष्यबाट प्रेरित हुँदै भूमिका निर्वाह गर्दै आएको अमेरिका युक्रेनलाई सदस्य बनाउँदा पर्न जाने बहुआयामिक प्रभावको अवस्थाका बारेमा सोच्न बाध्य भएको हो । यो अवस्थामा नेटोको भूमिकाको पुनर्परिभाषा गर्नुपर्ने निष्कर्ष अमेरिकाको हो । यही एजेन्डामा अन्य सदस्य राष्ट्रहरू समाहित भएका हुन् ।
सर्वसत्तावाद र लोकतान्त्रिक सोचको द्वन्द्व
संयुक्त राज्य अमेरिकाले उदारवादको इमान्दार पक्षपातीका रूपमा रहँदै यसको नेतृत्व विश्वभर प्रदान गरिरहेको छ । यसको विपरीत अर्को पक्ष छ, सधैँ शक्तिमा रहन चाहने, सुरक्षित रहने रणनीति तैनाथ गर्ने र यसैका माध्यमबाट विश्वभर नियन्त्रण कायम गर्ने चिन्तनबाट अभिप्रेरित ।
लोकतन्त्रवादीहरू उदार लोकतन्त्रको विकास गर्दै सर्वसत्तावादीहरूलाई निरुत्साहित बनाउन रणनीतिका साथ अघि बढ्ने गर्छन् । लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै स्वतन्त्र र बजार अर्थतन्त्रमा विश्वास राख्छन् ।
उदारवादी चिन्तन आधुनिक विश्वमा अत्यन्त लोकप्रिय बन्दै आएको छ । साम्यवादीहरू, सर्वसत्तावादीहरू यही रणनीतिका आधारमा विश्वभर सङ्गठित हुँदै आएका छन् । विदेशी नीति उदारवादअनुकूल बनाई प्रायः सबै लोकतान्त्रिक देशहरूले प्रभावकारी भूमिका निर्वाह गरिआएका छन् ।
उदारवादको प्रख्यातिबाट सर्वसत्तावादीहरू आतङ्कित बन्दै गएका छन् । उदारवादको गलत ब्याख्या गर्दै भ्रमपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । विश्वमा कुनै कालखण्डमा ठूलो शक्ति राष्ट्रका रूपमा उदीयमान सोभियत संघको जस्तो सोच अहिले रुसमा छ ।
क्रेमलिनको सुरक्षामा सधैँ खतरा देखिरहेको छ । यही अवस्था र सोचको परिणति युक्रेनमाथिको आक्रमण पनि हो ।
ईयू–युक्रेन सम्बन्ध
आर्थिक कारोबार, ब्यापार व्यवसाय आदि भइरहेको, सिमानामा रहेको देशका कारण ईयूको प्रभाव र भूमिका युक्रेनको सङ्कटमा अत्यन्त बढी छ । नेटो र ईयू एकै समस्या र चिन्तनबाट ग्रसित हुँदै युक्रेनसम्बन्धी नीतिहरू तैनाथ गरिरहेका छन् ।
ईयूको सदस्य बन्न सक्दा युक्रेनले ठूलो छहारी प्राप्त गरी सुरक्षित अनुभूति गर्न सक्थ्यो । यसको रणनीतिक मूल्य धेरै हुने थियो । तर, ईयू सधैँ द्वैध भूमिकामा प्रस्तुत हुँदै गयो । संयुक्त राज्य अमेरिका र रुसका बीचका मुख्य सम्झौताहरूलाई समेत स्वीकार गर्न चाहेन ।
यसबाट आफ्नो सुरक्षामा खतरा हुने सूक्ष्म विश्लेषण ईयूको देखियो । ब्राजिलको समेत यस्तै नीति रहँदै आएको थियो र छ । ठूला शक्ति राष्ट्रहरूबाट यी समूह र देशहरू केही हदसम्म त्रसित रहँदै आएको अवस्था छ ।
युरोपको सुरक्षाका लागि ईयूको भूमिका उत्तिकै महत्वपूर्ण ने नै भयो । ईयूको अवस्थाको स्पष्ट जानकारी हुँदा पनि युक्रेनलाई समाहित गर्ने निर्णय आत्मघाती भएको र अनावश्यक समस्याको आमन्त्रण गर्न पुगेको आलोचना हुने अवस्था थियो ।
क्रिमिया सङ्कटको अवस्थामा पनि युक्रेनको सामाजिक, आर्थिक, राजनीतिक विभाजनले पनि ठूलो प्रभाव पारेको थियो । युक्रेनको आन्तरिक राजनीतिक गतिशीलताको अध्ययन नगरी सदस्यका रूपमा स्वीकार गर्न सक्ने अवस्था भएन ।
यही कारणले गर्दा रुस युक्रेनमाथि आक्रमण गरी आफू सुरक्षित हुने रणनीति लिन पुग्यो । अहिलेको अवस्थालाई केही विश्लेषकहरूले दोस्रो विश्वयुद्धकै नजरले हेर्ने गरेको पनि पाइयो । मस्को र वासिङ्टनले युरोपको सुरक्षा, शान्ति र भविष्यका बारेमा गम्भीर बन्ने आँकलन गरेको समेत देखियो ।
ईयूले विश्व शक्तिबाट आफूलाई सुरक्षित राख्न युक्रेनका बारेमा निर्णय लिनुपूर्व त्यहाँको घरेलु अवस्थाबाट पनि आफू पूर्ण रूपमा सुरक्षित रहन सक्नुपर्ने स्थिति देखियो । यसका साथै मस्कोको नीति ईयूअनुकूल भए, नभएको पनि अध्ययन गर्नुपर्ने भयो ।
रुसी नीति अलोकतान्त्रिक, आक्रामक विदेश नीतिमा आधारित छ । यसबाट ईयू सुरक्षित रहने सन्दर्भमा युक्रेनलाई सदस्यता प्रदान गर्दा हुने फाइदा र आमन्त्रण हुन सक्ने सङ्कटका सम्बन्धमा समेत अनिवार्य रूपमा यथार्थमा आधारित भएर निष्कर्षमा पुग्नुपर्ने स्थिति देखिएको थियो ।
ईयू र पश्चिमा राष्ट्रहरू युक्रेन सङ्कटबाट आफ्नो सुरक्षित निकास प्राप्तिमा मात्र बढी केन्द्रित हुन पुगे । कमन वेल्थ समूहका राष्ट्रहरूसहित अन्य स्वतन्त्र देशहरू आपसमा एकताबद्ध भए । सामूहिक सुरक्षाको रणनीति तैनाथ गर्न पुगे ।
क्रेमलिन उनीहरूका लागि खतरा देखिँदै गयो । यी सबै कारणहरूका अतिरिक्त साम्यवादी शैलीका कारणसमेत लोकतन्त्रवादी उदार नीतिका पक्षहरू बढी जिम्मेवार बन्न पुग्दा युक्रेन एक्लिन पुगेको हो । मानवअधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिआएका लोकतन्त्रवादीहरू रुसबाट उत्पन्न हुन सक्ने गैरजिम्मेवार आक्रमणको परिणामको आँकलन गर्न पुगे ।
ईयू, कमन वेल्थ समूह र नेटोले सैन्य सहयोग युक्रेनलाई प्रदान गर्दा रुसले आणविक आक्रमण गर्न सक्ने सम्भावना देखिँदै गयो । यसलाई निस्तेज गर्न यी सबै राष्ट्रहरू लागिपर्दा साम्यवादी र लोकतन्त्रवादीहरूको बीचमा महासङ्गमको अवस्था देखिई अपार मानवीय क्षतिसहितको युद्धको विभीषिकाबाट वर्तमान विश्वलाई बचाउने दायित्व र जिम्मेवारी पनि यिनै लोकतन्त्रवादीहरूमा रहन पुगेको स्थिति छ ।
यस अवस्थामा यदि स्पष्ट विश्लेषणका आधारमा साझा रणनीति अवलम्बन नगर्ने हो भने तेस्रो विश्वयुद्ध अवश्यम्भावी देखियो । जिम्मेवार शक्तिहरू यस अवस्थामा युक्रेन रुस युद्धमा प्रत्यक्ष संलग्न हुन चाहेनन् । अप्रत्यक्ष सहयोग र सद्भावले युद्ध मैदानमा काम गर्ने अवस्था रहेन ।
यी सबै परिस्थितिका कारण युक्रेनलाई विश्व संस्थादेखि आफ्ना मित्र शक्तिहरूले समेत अर्थपूर्ण सहयोग प्रदान गरी उसको सार्वभौमसत्ताको संरक्षणका लागि अघि नबढी मूकदर्शकको भूमिकामा रहे ।
यसपछिका दिनहरूमा अपेक्षित रूपमा कमजोर देखिएको युक्रेनको आतङ्कवादीहरूबाट नियन्त्रणमा लिइएका २ क्षेत्रहरू लुहान्स्क र दोनेत्स्क स्वतन्त्र अस्तित्वमा रहेको घोषणा रुसले गर्नेछ । युक्रेनमा प्रोरुसी कठपुतली सरकारको गठन गर्नेछ ।
न्यूनतम शर्तका रूपमा यदि पुटिन उदार देखिएमा पश्चिमा देशहरूको रणनीतिक साझेदार नबनी मस्कोको विदेश नीतिलाई अवलम्बन गराउने शर्तसहित रक्षा र विदेश नीति क्रेमलिनबाटै हेर्ने गरी युक्रेनलाई स्वतन्त्र राष्ट्रको रूपमै अस्तित्वमा रहन दिने देखिन्छ ।
तर, अब युक्रेनमा द्वन्द्वको आमन्त्रण रुसले गरेको छ । युद्धले नागरिकहरूको स्वाभिमान र मनमस्तिष्कमा राज गर्न सक्दैन । विश्वबाटै सबै प्रकारका प्रतिबन्धको सामना गर्नुपर्ने हुँदा रुसको आर्थिक अवस्था धरासायी हुनेछ ।
युक्रेनलाई अभिषप्त भूगोलका रूपमा परिणत गर्नेछ । यसको मूल्य रुसले लामो अवधिसम्म चुकाउनुपर्नेछ । समस्याको स्थायी समाधान युक्रेनमा रुसले गर्न सक्नेछैन । यी सबै अवस्थाका कारण युक्रेनका केही स्वाभिमानी नागरिकहरू र राष्ट्रपति स्वयं राष्ट्रका लागि शहीद बन्ने सम्भावनासमेत स्पष्ट रूपमा देखिँदै छ ।

प्रतिक्रिया दिनुहोस्