मतदानका शर्तहरू



  • ललितकुमार यादव

आफ्नो प्रतिनिधि छनोट गर्नका लागि मतदान अधिकृतले सही छाप गरेको मतपत्रमा मत सङ्केत गरी (छाप लगाई) तोकिएको मतपेटिकामा मतपत्र खसाउने काम नै मतदान हो । मतदाताले आफूलाई मनपरेको उम्मेदवार वा राजनीतिक दललाई भोट दिन पाउनु मतदाताको अधिकार हो ।
मतदाताको यस अधिकारलाई बालिग मताधिकार भनिन्छ । यो नागरिक अधिकार पनि हो । लोकतन्त्रमा नागरिकले शासन व्यवस्थामा सहभागी हुने पहिलो पाइला भनेकै मतदान गर्नु हो ।
मताधिकार भएका कुनै एक नागरिकले मतदान नगरेकै कारण असल प्रतिनिधि हार्न सक्छ । असल प्रतिनिधि चयन गर्न मताधिकार भएका हरेक नागरिकले मतदान गर्न जरुरी हुन्छ । सबैले मतदान गर्दैमा असल प्रतिनिधि छनोट हुने कुरालाई सुनिश्चित गर्दैन । बहुमत मतदाताले मतदान गर्दैमा असल प्रतिनिधिको छनोट हुने होइन । कसलाई दिने भोट ? यो कुरा सबभन्दा महत्वपूर्ण हुन्छ ।
हामी अधिकांश मतदाताको विचारमा त्यस्तो व्यक्तिलाई भोट दिनुपर्छ, जसलाई परेको बेला फोन गर्न सकोस्, परेको समयमा सरकारी वा सामुदायिक काम गरिदेओस्, भविष्यमा आर्थिक लाभ पनि दिलाओस् । मतदातामा यस्तै विचार रहेका कारण अधिकांश उम्मेदवारहरूले पनि भोट माग्दा यस्तै आश्वासनसमेत बाँड्ने गर्छन् । सबैलाई कानुनी राज्य चाहिन्छ, सुशासन र विकास पनि चाहिन्छ । तर, भोट देशका लागि काम गर्ने मान्छेलाई होइन, आफ्नालागि काम गरिदिने मान्छेलाई दिने विचार छ ।
नियमविपरीत गएर पनि काम गरिदेओस्, त्यस्ता विचारका साथ भोट हाल्ने सम्पूर्ण जनता देश बिग्रनुमा दोषी छन् । तसर्थ, आफूलाई व्यक्तिगत फाइदा दिने होइन, देश र सम्पूर्ण नागरिकको हितमा काम गर्ने प्रतिनिधि चाहिएको हो भनेर यथार्थ आमनेपाली मतदाताले बुझ्न जरुरी छ ।
देश हितमा काम गर्ने भनेको विकास गर्नेजस्तो पनि लाग्छ । त्यसो भए के विकास निर्माणको काम गर्ने व्यक्तिलाई भोट दिने हो त ? वास्तवमा जनताको सम्पूर्ण अधिकार विकास निर्माण मात्र होइन । विकास निर्माण एउटा आवश्यकता मात्र हो, आफैँमा सम्पूर्ण आवश्यकताचाहिँ होइन ।
विकास हुँदैमा जनताले सम्पूर्ण अधिकार प्राप्त गर्ने होइन बरु जनताले अधिकार प्राप्त गरेमा विकास हुन सक्छ । सबै व्यक्तिले बाँच्न पाउने अधिकार, सामूहिक हित हेर्ने अधिकार, सम्पत्तिको अधिकार, बोल्न र विचार व्यक्त गर्न पाउने अधिकार पाउनुपर्छ ।
यी अधिकारमा सबैको पहुँच भयो भने बल्ल कानुनी राज्य र सुशासन हुन्छ । कानुनी राज्य र सुशासनले विकास ल्याउँछ तर विकासले कानुनी राज्य र सुशासनको आधार तयार गर्न सक्दैन । तसर्थ मतदाताले व्यक्तिगत हित गर्ने प्रतिनिधि खोज्न नहुने मात्र होइन, विकास मात्र गर्ने प्रतिनिधि पनि खोज्नुहुँदैन ।
लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ । स्वतन्त्र र निष्पक्ष मतदानले राज्य व्यवस्थामा नागरिकको सहभागिता, सम्मान र संरक्षणको सुनिश्चितता गर्छन् । यदि मतदाताले असल प्रतिनिधि छान्न सक्यो भने कानुनी शासनको अवलम्बन हुन्छ । नभए कानुनको शासनको अवलम्बन हुन्छ ।
कानुनी शासनका लागि परिपक्व राजनीतिक संस्कारको विकास हुन जरुरी छ । प्रतिनिधिमूलक उत्तरदायी सरकारका माध्यमबाट सार्वजनिक सेवामा निष्पक्षता, तटस्थता, सबलता, पारदर्शिता र सबैको पहुँचको अवलम्बन हुन्छ । यसका लानि नागरिकद्वारा निश्चित समयमा मतदान गरी निर्वाचित प्रतिनिधि पठाउनुपर्ने हुन्छ ।
यसले सार्वजनिक नीति निर्माण गर्ने र शासन सञ्चालन गर्ने गर्छन् । त्यसैले मतदाताले लोकतन्त्रलाई बलियो र परिपक्व बनाउन सक्ने प्रतिनिधिको छनोट गर्न सक्नुपर्छ । विधिको शासनमा विश्वास गर्ने उम्मेदवार प्रतिनिधिको रूपमा चयन हुनुपर्छ ।
निर्वाचन अत्यन्त खर्चिलो बन्दै गएको छ । निर्वाचन आयोगले निर्धारण गरेको खर्चले उम्मेदवार निर्वाचन जित्न सक्दैन । निर्वाचन जित्न उम्मेदवारहरूले निर्वाचन आयोगले निर्धारण गरेको भन्दा धेरै गुणा बढी रकम खर्च गर्ने गर्छन् । उम्मेदवारबीच खर्च गर्ने प्रतिस्पर्धा नै चल्ने गर्छ । मानौँ कि जसले बढी खर्च गर्‍यो, उसले नै निर्वाचन जित्ने जस्तो ।
अधिकांश उम्मेदवारले निर्वाचन जित्न अत्यन्तै बढी रकम खर्चिनुपर्ने हुन्छ । एकाध ठाउँमा मात्र उम्मेदवारले आफ्नो व्यक्तित्वको कारणले निर्वाचन जित्ने गर्छ । निर्वाचनमा अरू खर्चभन्दा खाजा, खाना, मासु, रक्सी र बियरमा बढी खर्च हुने गर्छ । केही ठाउँमा नगद दिएर मत खरिद गर्ने काम पनि हुने गर्छ । थोरै रकमको लोभमा मतदाताले पनि आफ्नो मत बिक्री गर्छन् ।
यी कार्यहरू कानुनी शासनविपरीत भए पनि हुने गरेका सुनिन्छ । यसले लोकतन्त्रलाई नै कमजोर बनाउने काम गर्छ । मतदाताले आफ्नो एक मतको महŒव थाहा नपाएकै कारण मत बेच्ने र उम्मेदवारले खरिद गर्ने गर्छन् ।
योग्य एवं असल प्रतिनिधिको छनोट गर्नु निर्वाचनको मूल मर्म हो । निर्वाचनमा आफूलाई योग्य साबित गर्न उम्मेदवारहरूले साम, दाम, दण्ड र भेदको प्रयोग गर्न कुनै कसर बाँकी राख्दैनन् । जुन उम्मेदवारले यी ४ नीतिको सफल प्रयोग गर्न सक्छ, त्यसैले निर्वाचनमा सफलता हासिल गर्ने गर्छ । दलहरूले पनि यस्ता व्यक्तिलाई मात्र टिकट दिने नीति नै बनाएजस्तो छ ।
पैसावालाबाहेक अरू दलको रोजाइमा पनि पर्दैनन् । पैसा छैन भने पार्टीमा जति त्याग, बलिदान र समर्पण भए पनि टिकट पाउन मुस्किल छ ।
व्यक्ति योग्य भए पनि निर्वाचन जित्न पैसाकै योग्यता चाहिन्छ । राजनीति र निर्वाचनमा देखिएका यस्तै विकृतिका कारण इमान्दारहरूले राजनीति नै छाड्न बाध्य भएका छन् ।
गरिब, विपन्न र दलितहरूले उम्मेदवार भएर निर्वाचन जित्ने आँट गर्ने कुरै छाडौँ, उम्मेदवार हुने आँटसम्म गर्न सक्ने अवस्था छैन । यसले इमान्दार राजनीतिज्ञलाई राजनीतिबाट विस्थापित गर्ने, पैसावालाहरू र आपराधिक पृष्ठभूमिका व्यक्तिहरूलाई राजनीतिमा स्थापित गर्ने काम गरेको छ ।
निर्वाचन जित्न उम्मेदवारले लगानी लगाउनुपर्छ । लगानी लगाइसकेपछि प्रतिफलको आस गर्नु स्वाभाविक नै हो । नगद नै लगानी लगाइसकेपछि, आफ्नो लगानी उठाउन खोज्नु पनि स्वाभाविक नै हो । लगानी उठाएर अगामी निर्वाचनका लागि खर्चको जोहो पनि गर्नै पर्ने हुन्छ । किनकि ५ वर्षपछि फेरि निर्वाचनमा जानुपर्छ र निर्वाचन जित्न खर्च गर्नै पर्ने सोच उसमा हुन्छ ।
निर्वाचन जितिसकेपछि उसमा कसरी आफूले खर्च गरेको रकम उठाउने र शक्तिशाली बन्ने भन्ने सोच आउँछ । लगानी उठाउन भ्रष्टाचार गर्ने, ठेक्कापट्टाको काम आफू निकटका व्यक्तिलाई नियमविपरीत दिने र आर्थिक लाभ लिने । उसले आफ्ना मतदाताको समस्यालाई नजर अन्दाज गर्छ । त्यतिबेला उसले मतदाताको मत लिन आफूले गर्नुपरेको खर्चलाई सम्झिन्छ । आफूले गरेको खर्चको अगाडि मतदाताको समस्या केही होइन जस्तै उसलाई लाग्छ ।
साथै, आफूले मत खरिद गरेर निर्वाचन जितेको घमण्ड उसमा हुन्छ । उसमा यो घमण्ड पैदा हुनु स्वाभाविक पनि हो । मतदाताले पनि उससँग आँखा जुधाएर बोल्न सक्ने अवस्था हुँदैन । किनकि, कसैले केही सय नगद लिएर, कसैले रक्सी, बियर र मासु खाएर, कसैले नियमविपरीतको काम लिने आसमा मतदान गरेका हुन्छन् । निष्पक्ष मतदान गर्ने मतदाता थोरै मात्र हुन्छन् । उनीहरूको कुरा सुन्ने कुरै भएन । यसरी मतदाताहरू सानोसानो लोभका कारण आफ्नो मत बेचेर ५ वर्षसम्म चुपचाप बस्न बाध्य हुन्छन् ।
हामी आममतदाताले जो जिते पनि उस्तै हो भनेर सोच्ने गर्छौं । मतदाताको यही सोचका कारण निर्वाचनमा आर्थिक चलखेल हुने गर्छ । निर्वाचनका बेला मतदाताले बेला यही हो, नेतासँग लाभ लिनुपर्छ भनेर सोच्ने र नेताले खर्च गरेर भए पनि निर्वाचन जित्नुपर्छ भनेर सोच्ने गरेका कारण निर्वाचन खर्चिलो बन्दै गएको छ । जुन दिन मतदाताले इमन्दार र लोकतन्त्रप्रति पूर्ण आस्था राख्ने राजनीतिज्ञलाई मात्र मतदान गर्ने सोचको विकास गछनर््, त्यस दिन मात्र गरिबले पनि निर्वाचन जित्ने अवस्था आउँछ ।
हामीबीचकै व्यक्ति उम्मेदवार हुने भएकाले पनि हाम्रालागि र समाजका लागि को उपयुक्त प्रतिनिधि हुन सक्छ भनेर छुट्याउन कुनै गाह्रो छैन । हाम्रो र सामाजका लागि उपयुक्त व्यक्तिलाई दलहरूले उम्मेदवार नबनाए पनि त्यस्ता व्यक्तिलाई हामी आफैँले पनि उम्मेदवार बनाएर सजिलै निर्वाचित गर्न सक्छौँ ।
यसका लागि केवल हामी सानातिना लोभमा फस्नुहुँदैन । बढ्दो खर्चिलो निर्वाचनले मध्यम वर्गलाई समेत राजनीतिमा आउने बाटो रोक्ने सम्भावना बढेको छ । यसले आर्थिक रूपमा सबललाई मात्र राजनीतिमा आउने बाटो खुला राख्ने डरलाग्दो सङ्केत देखिएको छ ।
अहिले दलहरू घोषणापत्रको आधारमा होइन, आफ्ना उम्मेदवारको खर्च गर्ने क्षमताको आधारमा निर्वाचन लड्ने गरेका छन् । दलहरूले आफूलाई भोट दिने कारणको चर्चा गर्दैनन् बरु प्रतिस्पर्धीलाई भोट नदिनुको कारणको चर्चा गर्ने गरेका छन् । दल र नेताहरू आफ्ना एजेन्डा लिएर मतदाताबीच जानुपर्नेमा, शीर्ष र राम्रा मानिएका नेताहरू नै एकले अर्काको खिल्ली उडाउने र देखाइदिने खालका अभिव्यक्ति दिने गरेका छन् ।
शीर्ष नेताहरूले नै गरेका दाबी र अभिव्यक्तिमा कुनै सत्य पाइँदैन। सस्तो लोकप्रियता र मतदातालाई झुक्याउनका लागि मात्र नेताहरूले यस्ता अभिव्यक्ति दिने गरेका छन्, जसले शीर्ष नेताहरूमै राजनीतिक संस्कार हराउँदै गएको सङ्केत गर्छ ।
राजनीतिक दलहरूले मतदाताहरूलाई राजनीतिक चेतना दिने, राजनीतिक संस्कार सिकाउने र आफ्ना एजेन्डाका आधारमा भोट माग्नुपर्ने हो तर राजनीतिक दल र तिनका नेताहरूले बाटो बिराइसकेका छन् ।
त्यसैले अब जनताले दल र दलका नेताहरूलाई सही बाटोमा ल्याउनै पर्ने अवस्था आएको छ । यसका लागि मतदाताहरूले निष्पक्ष रूपमा कानुनी शासनमा पूर्ण विश्वस्त र प्रतिबद्ध उम्मेदवारलाई भोट दिने । कानुनको शासनमा विश्वास नगर्ने उम्मेदवारलाई कुनै हालतमा दिनुहुँदैन भोट ।

प्रतिक्रिया दिनुहोस्