विश्वकप क्रिकेट : वेष्ट इन्डिजविरुद्ध श्रीलंका विजयी



गौशाला : एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा श्रीलंकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको हो । यो जीतसंगै श्रीलंकाले सेमिफाइनल पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ ।

३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन मात्रै बनाउन सक्यो । वेष्ट इन्डिजका लागि निकोलस पुरनले शतक बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । उनले १०३ बलमा ११ चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाएका थिए ।

त्यस्तै फाबियन एलिनले ५१ रन बनाउँदा क्रिस गेलले ३५ रन बनाएका थिए । बलिङतर्फ लासिथ मालिंगाले तीन विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिश्का फेर्नान्डोले शतक बनाए । उनले १०३ बलमा ९ चौका र दुई छक्का प्रहार गर्दै १०४ रन बनाएका थिए ।

त्यस्तै, श्रीलंकाका लागि कुशल परेराले ६४, लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९ र कप्तान दिमुथ करुनरत्नेले ३२ रन बनाए । बलिङतर्फ कप्तान जेशन होल्डरले २ विकेट लिँदा फाबियन एलियन, ओटाने थोमस र सेल्डन कोल्ट्रेलले एक एक विकेट हात पारे ।

जितसँगै श्रीलंकाको ८ खेलबाट तीन खेलमा जित र तीन खेलमा हार तथा दुई खेलमा भने वर्षाको कारण अंक बाँड्दै ८ अंक भएको छ । अब श्रीलंका सेमिफाइनलमा पुग्नका लागि इंग्ल्यान्ड र पाकिस्तानले हार्नु पर्छ भने बंगलादेशले पनि दुई खेल मध्ये एक खेल हार्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्