रुसी सेनाको गोलाबारीमा रुसी पत्रकारको मृत्यु



एजेन्सी । रुसी सैनिकले युक्रेनको किएभमा गरेको गोलाबारीमा रुसी पत्रकार ओक्साना बाउलिनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किएभको पश्चिमी सहरमा रुसी सेनाले गरेको गोलाबारीमा परी उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।

गोलाबारी जारी रहँदै क्षतिग्रस्त सहरको दृश्य कैद गर्दै गर्दा उनको मृत्यु भएको हो । ओक्साना यसअघि रुसी सरकारको प्रतिपक्ष तथा पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको भष्टाचारविरोधी प्रतिष्ठानमा कार्यरत थिइन् र उनले रसिया छोडेकी थिइन् ।

गएको वर्ष यो प्रतिष्ठानलाई रुस सरकारले अवैधानिक घोषणा गरी सबै क्रियाकलापको लागि प्रतिबन्ध लगाएको थियो र यहाँ काम गर्ने धेरै कर्मचारीहरु सरकारी कारबाहीमा पर्ने डरले विदेशिएका थिए । उनीसँगै एक अर्को व्यक्तिको पनि मृत्यु भएको र २ जना घाइते भएको जनाइएको छ ।

ओक्सानाले योभन्दा अगाडि किएभ सहरका धेरै समाचारहरु ‘द इनसाइडर’लाई पठाएकी थिइन् । पक्लिकेशन र धेरै पत्रकारहरुले उनको मृत्यु दुखद् भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्