पल्सर स्पोर्ट्स अवार्ड २०७५ : युकेश र सावित्रा सर्वोकृष्ट, कुन विधामा को उत्कृष्ट ?



काठमाडौं : प्याराग्लाइडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७५ को सर्वोकृष्ट वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई वर्ष खेलाडी घोषित भएका हुन्। 

पुरुषतर्फका विजेता युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै अवार्ड जितेका हुन्। नेपाललाई १८ औ एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत जिताउन सर्वाधिक स्कोर गरेका युकेशले स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वल्र्ड कपमा काँस्य पदक जितेका थिए।

वर्ष महिला खेलाडी घाषित सावित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पारिन्। नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउन महत्वपूर्ण योगदान गरेकी सवित्राकै प्रभावशाली प्रर्दशनमा नेपालले भारतमा भएको हिरो गोल्डकपमा उपविजेता बनेको थियो।

पिपल्स च्वाइस अवार्ड भने भलिबलकी विभागीय टिम एपीएफकी रेश्मा भण्डारीले चुनिइन्। उनले क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जनलाई पछि पार्दै रेश्माले लोकप्रिय अवार्ड जित्न सफल भइन्। 

वर्ष उत्कृष्ट प्रशिक्षक भने प्याराग्लाइडिङका योगश भट्टराई घोषित भए। एसियन गेम्समा नेपाललाई ऐतिहासिक रजत जिताएका उनी वर्षका उत्कृष्ट प्रशिक्षकको हकदार बने। उनले फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराज चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछि पारे।

एथ्लेटिक्सका अजितकुमार यादव युवा वर्ष खेलाडी घोषित भए। तेस्रो एसियन युथ च्याम्पियनसिपको ३ हजार मिटर दौडमा कीर्तिमानी स्वर्ण जितेका उनलाई युवा बर्ष खेलाडी घोषित गरिएको हो। उनले ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठलाई पछि पारे।

अन्तर्राष्ट्रिय रुपमा व्यवसायीक फुटबल करियर अघि बढाइरहेका रोहित चन्दलाई स्पेशल अवार्डबाट सम्मानित गरियो। उनी अहिले इण्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन्। उनकै उच्च प्रर्दशनमा पर्सिजा जाकार्ताले गत बर्षको लिग उपाधि उचालेको थियो। उनी वर्षको मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका थिए।

एसियन खेलकुदमा ऐतिहासिक रजत पदक जितेको प्याराग्लाइडिङ टिम अफ दी इयरबाट पुरस्कृत भयो। पारा वर्ष खेलाडी भने क्रिकेटकी मनकेसी चौधरीले हात पारिन्। गत वर्ष पाकिस्तानविरुद्वको ४ म्याचको सिरिजमा उत्कृष्ट प्रर्दशन गरेकी उनीलाई पारा बर्ष खेलाडीबाट सम्मानित गरिएको हो।

अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्डबाट एआईपीएसका महासचिव तथा पाकिस्तान खेलकुद राईटर्स एसोसियसनका अध्यक्ष अम्जद अजिज मल्लिक सम्मानित भए। लाईफटाईम एचिभमेन्ट अवार्ड भने एथलेटिक्सका हरिबहादुर रोकायाले प्राप्त गरे। २०७५ सालभर नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा योगदान पुर्याउने खेलाडी तथा खेलसम्बद्व ब्यक्तिलाई अवार्ड कार्यक्रमबाट पुरस्कृत गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्