तनावमा बाँचेको संसार



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

आज संसार तनावै तनावमा छ । संयुक्त राष्ट्रसंघ छ तर शान्तिको अभियान अधुरो छ । प्राकृतिक घटनाका कारण मानव जीवन तनावमा त छँदै छ । मानव निर्मित घटना, दुर्घटनाका कारण मानव अफैँ त्रसित छ ।
हिजोआज युक्रेनको घटनाले विश्वलाई गिज्याइरहेको छ । यसअघि पनि कतै न कतै यस्ता परिघटनाहरू नियमित भएकै हुन् । एक मानवले अर्को मानवप्रति हेर्ने दृष्टिकोणकै कारण अर्को विश्वयुद्ध नदोहरिएला भन्न सकिने अवस्था छैन ।
धनी देशसँग आज परमाणु हतियार छन् । जैविक हतियार छन् । तिनलाई खिया लाग्न पनि दिनु नहुने तिनको मान्यताले कहिले परीक्षणका रूपमा र कहिले घोषित रूपमै यसको प्रयोग गरिरहेका छन् । हतियारको होडबाजीले मानव मन आज निकै अशान्त छ ।
विगतमा करोडौँ मानिसको अकाल मृत्यु हुँदा अहिलेको पुस्ता त्यसको साक्षी बस्न तयार नभए पनि प्रथम र दोस्रो विश्वयुद्धका साक्षी बस्नेहरू अझै पनि छन् र होलान् । आणविक हतियारले विश्वको कुनै कुनामा मार हान्ने क्षमता राख्छ ।
जापानको हिरोसिमा र नागासाकीमा आणविक हतियारको प्रयोग भएको हो । अहिले पनि अब्बल देश अमेरिका र रुसमा विश्वको ९० प्रतिशत आणविक हतियार भएको आणविक अध्ययनसम्बन्धी अध्ययन गर्ने संस्था सिप्रिनले जनाएको छ ।
रुसमा झण्डै ४८ प्रतिशत र अमेरिकासँग झण्डै ४२ प्रतिशत आणविक हतियार रहेको, यस्तो हतियार चीनमा झण्डै ३ प्रतिशत, फ्रान्समा २ प्रतिशत, इजरायलसँग ० दशमलब ६९ प्रतिशत, उत्तर कोरियासँग ० दशमलब ३४ प्रतिशत र भारत, पाकिस्तानसँग गरी ३ प्रतिशत यस्ता हतियार रहेका बुझिन्छ ।
विज्ञहरूको भनाइ छ, यी हतियार प्रयोग भए विश्वलाई ३० पटक ‘नमो नारायण’ गराउन सकिन्छ । चीन, अमेरिका, रुसका राष्ट्रपति भ्रमणमा निस्कँदा ‘कालो ब्याग’ साथै हुन्छ भनिन्छ । रुस–युक्रेनमा बगेको कालो बादल आज मात्रको होइन ।
पहिले नेटो र सिएटोको द्वन्द्व थियो । नेटोको नेतृत्व अमेरिका र सिएटोको नेतृत्व सोभियत संघले गरेको हो । ३ दशकयता सोभियत संघ रुसमा परिणत भएको छ । सन् २०१४ मा युक्रेनमा रुस समर्थित राष्ट्रपति थिए, भिक्टर यानुकोभिच । उनको शासनविरुद्ध प्रदर्शन भयो, उनी अपदस्थ पनि भए ।
त्यसबेलादेखि नै रुस–युक्रेनको तनाव सिर्जना भएको हो । रुस युक्रेन नेटोतिर ढल्किएको र सिमानामा नेटो सेना हेर्न चाहँदैन, युक्रेनले यसो हुन नदिने भने पनि रुसले पत्याएन । त्यसो त संयुक्त राष्ट्रसंघ पनि छ, यसले २० सेप्टेम्बर २०१७ मा आणविक हतियार निषेध महासन्धिमा हस्ताक्षर खुला गराएको छ ।
नेपाललगायत ५ आणविक हतियार देशसहित कुल १९१ देशले सन्धिमा हस्ताक्षर पनि गरेका छन् । ५० देशले हस्ताक्षर गरेपछि लागू हुने यस महासन्धिले गत वर्ष २०२१ देखि मान्यता पनि पाइसकेको छ र पनि बलियाले ‘भिटो’ प्रयोग गर्न पनि डराउँदैनन् होला ।
विगत ३ वर्षदेखि उम्लेको कोरोनाको साक्षी त अहिलेकै पुस्ता छ, विज्ञानलाई माथ गर्दै आएको यो उपद्रवले ६० लाखभन्दा बढी मानिसलाई सोत्तर बनाइसकेको छ । अदृश्य शक्तिको यो खेल तेस्रो महायुद्धभन्दा कम छैन ।
महामारीलाई विज्ञानले जितेजस्तो छ तर पनि यसले अर्को रूप ल्याएर विश्वलाई ध्वस्त पार्न खोज्यो भने मानिस असमर्थ हुन पनि सक्छ । आज सक्नेले लडेकै छन्, नसक्नेहरू पुच्छर लुकाएर बसेकै छन्, उनीहरू शान्तिको सुगा रटाइमा छन् ।
तर, विश्व शान्तिको प्रस्ताव राख्ने असंलग्न देश नेपालको प्रस्तावलाई ‘परका’ले समर्थन गरे पनि ‘वरका’ले नै नगर्दा अब त यो प्रस्तावको कुनै गुन्जायस नै नभएको भान हुन्छ । नजिकका मित्रहरू धेरै बलिया भइसकेका छन् । उत्तरतिरको मित्रसँग टाढा रहेको अमेरिकाको व्यापारिक द्वन्द्व छ, उत्तर–दक्षिणको शक्ति प्रदर्शन त छँदै छ ।
उत्तर–दक्षिणका मित्रहरूलाई सँगै लिएर अघि बढ्न सकिएन भने हाम्रो अवस्था के होला, सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले पुर्खाले भनेको ‘२ ढुंगाको तरुल’ हो यो, सावधानी अपनाउनु जरुरी छ ।
पञ्चशील र असंलग्न परराष्ट्र नीतिको अवधारणा यसैको आधारमा विकास भएको हो । हाम्रो आफ्नो उत्पादन छैन । व्यापारघाटा चुलिएको छ । सिमाना विवाद छ, सुगौली सन्धिदेखिकै समस्या, भूपरिवेष्टित देशको समस्या के हुन्छ, अनुभव भइसकेको विषय हो ।
प्रकृति, जीव सबै ध्वस्त हुने लक्षण त युक्रेनले देखाइसकेको छ । शक्ति सङ्घर्ष, ‘इगो’को समस्या, सानो भएर बाँच्न कोही नचाहने ! सबैलाई ठूलै हुनुपर्ने ! नजिकका छिमेकी भारत र पाकिस्तान पनि समस्यामै छन् । रुस–युक्रेन जस्तै भए हाम्रो हालत के होला ? परको युक्रेन समस्याले हाम्रो अर्थ बजार अकासिएको अवस्थामा छ ।
फिजी टापुहरूको देश हो, ३३२ वटा त टापुहरू नै छन् । ९ लाख जनसंख्या छ, हतियार छैन, ठूला युद्ध भइहाले उसलाई कसैले आक्रमण नगर्लान्, त्यहाँ परमाणु हतियार फाल्नु भनेको आयोजकलाई घाटा होला ।
माल्टा साना देशमध्ये ९ नम्बरमा पर्छ, जनघनत्व धेरै छ । दोस्रो विश्व युद्धमा बम आक्रमणमा त परेको हो । तर, कसैले यसलाई आफ्नो बनाउन चाहेनन् । आयरल्याण्डमा हरियाली धेरै छ, विकसित देशमा पर्छ यो, यो नेटो देशहरूसँग सम्बन्धित छैन । अरूले यसलाई युद्धमा होम्न दबाब दिँदैनन् ।
फिनल्याण्डमा जम्मा जनसंख्या ५६ हजार छ । संयुक्त राष्ट्रसंघको सदस्य हो यो । तर पनि यो सुरक्षित हुने सम्भावना धेरै छ, कतै युद्धका बाछिटाहरू आइहाले भने पनि । चिलीमा शुद्ध पानी छ, ताजा हावा छ, सुन्दर हराभराको आफ्नै संसार छ, महायुद्धहरू ओइरिए पनि उसलाई खासै असर नपर्ला ।
उता, आइसल्याण्ड नामैले चिसो भूमि । साढे ३ लाखको जनसंख्या छ । यहाँ नवीकरणीय ऊर्जा छ । पहाडै पहाडले घेरिएको छ । बाहिरबाट आक्रमणको सम्भावना न्यून छ । हाँसीहाँसी उसका दिनहरू बित्लान् ।
भूटान तनाव नलिने देश हो । राजनीतिक अधिकार छैन । भारतले उसको जिम्मा लिएको छ, ऊ प्रसन्न छ, खुसीमा छ । अरू देशले उसलाई हवाई हमला गरिहाल्ने अवस्था न्यून छ । युरोपको मुटु, सुन्दर देश स्विट्जरल्याण्ड हो, ठूला पहाडी चट्टानहरू वरिपरि छन्, त्यहाँ बलिया सेनाहरू पनि छन् ।
पहाडहरूले पर्खालको काम गर्नेछन् । आकाशी हमलाबाट बच्न सक्छ, स्विट्जरल्याण्ड । ऊ आत्मनिर्भर छ । अरूले नदिए पनि आफैँ खान सक्छ । अर्को देश छ, न्युजिल्याण्ड । आफ्नै अर्थतन्त्र छ, शान्तिपूर्ण छ । कसैसँग शत्रु नकमाएको अजात शत्रु युधिष्ठिर जस्तै छ । ग्लोबल वार्मिङको खासै चिन्ता छैन ।
चीन उदाउँदो शक्ति हो । पश्चिमाहरूको नजरमा यो तारो बन्न सक्छ । त्यसका बाछिटा अहिले पनि देखिएकै छन् । यसै क्रममा अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपाल पसेको छ । चीनतिरको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) पनि छ । चीनविरुद्ध खनिँदा नेपालको भूमि वा नेपाली आकाश असुरक्षित हुन सक्छ । दक्षिणी छिमेकी भारत पनि अर्थतन्त्रमा अब्बल हुँदै गएको छ ।
हाम्रो देश भूपरिवेष्टित तर बफर जोन हो । ग्लोबल वार्मिङको समस्या देखेरै नारी दिवस मनाउन कालापत्थर पुग्नुपरेको, कुनै बेला मन्त्रिपरिषद्को बैठक गर्न कालापत्थर रोजिएकै हो । कच्चा पदार्थ बिजुली बेच्ने भनिएको छ ।
उद्योगधन्दा गरेर खपत गराउन पहल गरिएको छैन । घरेलु प्रयोगमा बिजुली सस्तोमा दिन सकिएको छैन । अहङ्कारले आफूलाई ‘करेक्सन’ गर्न दिँदैन । अहिले रुसका पुटिन र युक्रेनका जेलेन्स्की बीच अहङ्कार बढेको छ, को ठूलो भन्ने होडबाजी छ ।
यी २ को बडप्पनले सर्वसाधारणको हरिबिजोग भएको छ । सयौँ निमुखा, निशस्त्र नागरिकहरूको ज्यान गएको छ । विश्व आपूर्ति बजारमा अवरोध भएको छ । हामी जस्ता देश आफैँले युद्ध नछेडौँला तर बाछिटाहरूले कसैलाई बाँकी राख्ने देखिँदैन ।
हाम्रो देश महान् भन्छन् सबैतिर । देश महान् हुन्छ पनि । धन कमाउन सकिएला पनि तर जीवन भने फेरि पाइँदैन । शहीदका हजारौँ शालिक बनायाँै हामीले तर शहीदका सपना अधुरै रहेका छन् ।
पीरै पीरमा युरोप छ अहिले । यसलाई रुसबाट ग्यास आपूर्ति गर्नुपर्छ । उता, रुस पनि तनावमा छ, उसलाई अन्य देशहरूबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपर्ने बाध्यता छ । यो माखेसाङ्लोमा कुनै देश एक्लो भएर बाँच्न नसक्ने देखिएको छ । हामी पनि पटकपटक आर्थिक नाकाबन्दीमा परेका छौँ ।
तर, नबेहोरी सुखै भएन । उत्तरतिरबाट ल्याउँला वा तेस्रो देशबाट सामान ल्याउँला । सामानभन्दा पनि असह्य पीडा परेको यथार्थ कसैबाट छिपेको छैन । हाम्रा पुर्खाले भन्ने गरेका छन्, ‘टाढाको देउताभन्दा नजिकको भूत प्यारो हुन्छ ।’
बलियाहरू जुध्लान्, हामी हेरौँला । तर, मकै पिँध्दा घुन र पुतलीहरू पनि पिधिँन्छन् । साँढेहरू जुध्दा बाच्छाहरू पनि मारिन्छन् । देशको मामला बुझ्न जरुरी छ, कसैले चारो हाल्दैमा परेवाहरू झुम्मिएझैँ झुम्मिनु राम्रो हुँदैन ।
अस्मिता लुटिएको असह्य हुन्छ । वीर गोर्खाली भन्छौँ, ‘हाम्रो पुर्खाको गौरवलाई मेटिन दिनुहुँदैन ।’ सधँै अरूको बजार हुने होइन, आफैँले पनि श्रम गर्नुपरेको छ, विदेशमा गर्ने श्रम यहीँ गर्नुपरेको छ ।
अर्काको मुख ताक्ने परनिर्भर जुका जस्तै भएर बाँच्नुहुँदैन । देशको माया गर्ने नेतृत्व पाउन सकेन देशले, स्वार्थ र लिप्सा अनि अहङ्कारको तानावानाबीच देश सधैँ निर्वाचनको कोकोहोलोमा परेको छ ।
उही नेता दोहोरिने हुन् । चुनावी एजेण्डामा सबै स्वर्ग, सिङ्गापुर, स्विट्जरल्याण्ड बनाउने भन्छन् । देशमा विदेशी सहयोग पनि धेरै आएको हो । तर, न मेलम्ची उठ्यो, न त विदेशी सहयोगको सदुपयोग भयो ।
धेरै नेपाली बाहिरिएका छन्, उतै बस्छन्, मनपराउँछन् । कति त फर्किए पनि बाकसभित्र मात्र ! यही चिन्ता, तनाव र पीर छ देशलाई !

प्रतिक्रिया दिनुहोस्