बझाङका ३ स्थानीय तहमा इन्टरनेट सेवा विस्तार 



बझाङ : स्थानीय तह बनेको झण्डै अढाई वर्षपछि बझाङका ३ स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार भएको छ। नेपाल टेलिकमको सहकार्य तथा बझाङका बित्थडचिर गाउँपालिका, केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाको आर्थिक लगानीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गरिएको हो।

तीनवटै स्थानीय तहका सूचना प्रविधि अधिकृत नरेश महरा, लेखराज रावल र प्रकाश भण्डारीको प्राविधिक सहयोगमा इन्टरनेट सेवा जडान गरिएको बित्थडचिर गाउँपालिका सूचना अधिकृत नरेश महराले बताए।

तीव्र गतिको इन्टरनेट सेवाले बझाङका तीनै स्थानीय तहलाई सुचनाको पहुँचमा ल्याउन सहयोग पुगेको छ। लामो समयसम्म इन्टरनेट सेवाको पहुँचमा नपुगेका स्थानीय तहहरू तीव्र गतिको विस्तारीत इन्टरनेट सेवादेखि खुसी भएका छन्।

इन्टरनेट सेवा अभावका कारण बझाङका धेरैजसो स्थानीय तहहरूले आफ्नो सुचना प्रवाह गर्न सास्ती खेपिरहेका थिए। स्थानीय तहमा इन्टरनेट सेवा नहुँदा अन्य सरकारी कार्यालयबाट प्राप्त हुने सुचना, सन्देश तथा पत्रहरू प्राप्त गर्न महिनौ लाग्ने बाध्यताको अन्त्य भएको अधिकृत महराले बताए।

प्रतिक्रिया दिनुहोस्