चीनको साङ्घाईमा लकडाउनको घोषणा



एजेन्सी । शून्य कोभिड नीतिलाई निरन्तरता दिँदै चीनको वित्तीय केन्द्र साङ्घाईमा लकडाउनको घोषणा गरिएको छ । २ करोड ६० लाख जनसङ्ख्याको बसोबास रहेको साङ्घाईमा व्यापक कोरोना परीक्षण गर्न भन्दै लकडाउनको घोषणा गरिएको हो ।

मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन गरिएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबारमात्रै साङ्घाई शहरमा ३५०० जना कोरोना संक्रमित थपिएका थिए ।

साङ्घाईमा दुई चरणमा लकडाउन लागू गरिने बताइएको छ । पहिलो चरणमा साङ्घाईको पुदोङ वित्तीय जिल्ला र आसपासका क्षेत्रमा सोमबारदेखि शुक्रबारसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।

समाचार संस्था एपीले जनाएअनुसार दोश्रो चरणमा शुक्रबारदेखि ५ दिन सम्मका लागि हाङ्गपु नदीको पश्चिमी क्षेत्रमा रहेको डाउनटाउन क्षेत्रमा लकडाउन गरिने छ ।

स्थानीय सरकारका अनुसार बासिन्दाहरुलाई घरमै रहन भनिएको छ भने अत्यावश्यक बाहेकका कार्यालय र व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ । साथै सार्वजनिक यातायात पनि बन्द गरिने जनाइएको छ । यसअघिका केही सातामा पनि साङ्घाईको केही क्षेत्रहरुमा लकडाउन गरिएको थियो ।

सोमबार लकडाउन हुने थाहा पाएर स्थानीयहरुले हतारमा घरायशी सामान किनेकाले त्यहाँका किनमेल केन्द्र र पसल रित्तो भएको एपीले जनाएको छ । पछिल्लो पटक घोषणा गरिएको लकडाउन चीनले पछिल्ला दुई वर्षमा लागू गरेको सबैभन्दा कठोर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्