‘छोराछोरी वास्तवमा तिम्रा होइनन्’



मणिरत्न शाक्य‘योर चिल्ड्रेन आर नट् योर्स’ अर्थात् ‘तिम्रा केटाकेटी तिम्रा होइनन्’ शीर्षकमा खलिल जिब्रानको कविता विश्वमा एउटा चर्चित कविताको रूपमा नामाङ्कित छ । आमाबाबु र छोराछोरीको वास्तविक सम्बन्धलाई दर्शाउन खोजिएको यस कवितामा आमाबाबुको छोराछोरीप्रतिको माया र छोराछोरीको आमाबाबुप्रतिको मनोभाव प्रकट गरिएको छ ।

अत्यन्त सम्वेदनशील यो कविता आजको युगमा प्रत्येक आमाबाबुको मन, मस्तिष्क छुने कविताको रूपमा परिचित छ । सन् १८८३ जनवरीमा लेवनानमा जन्मेर अमेरिकामा हुर्केका खलिल जिब्रानको यो कविता ५० भन्दा बढी भाषामा प्रकाशित छ ।
‘कहलिल जिब्रान’ भनेर पनि सम्बोधन गरिने खलिल जिब्रानकोे यस चर्चित कवितासहितको संग्रह सन् १९२३ मा प्रकाशित भएको थियो । आज यस कविता लेखनले सयभन्दा बढी वसन्त पार गरिसकेको छ ।

तर पनि यसको भावनात्मक प्रस्तुतिको आवाज त्यतिकै ताजा भई विश्वमा बुलन्द भइरहेको छ । र, यो कविता लेखन क्षेत्रमा कोसेढुंगा साबित भएको छ । तर, अफसोचको कुरा, सन् १९३१ अप्रिलमा जवानीमै उनको देहावसान भयो । गुगलमा पढ्न पाइने खलिल जिब्रानका थुप्रै कवितामध्ये आमाबाबुलाई सम्बोधन गरी लेखिएको यस कवितामा उल्लेख गरिएको छ, ‘तिम्रा केटाकेटी वास्तवमा तिम्रा होइनन्, मात्र मनुष्य जीवनको लामो यात्रामा तिम्रा छोराछोरीको रूपमा तिमीकहाँ आइपुगेका हुन् । तिनीहरू तिमीबाटै पैदा भएका हुन् तर पनि तिम्रा आफ्नै सृष्टि होइनन् ।’

अत्यन्त मार्मिक भाव व्यक्त गरिएको यस कवितामा पुनः आमाबाबुलाई भनिएको छ, ‘तिमीहरू छोराछोरीलाई मनको भाव व्यक्त गर्न सक्छौ, मनको बह पोख्न सक्छौ तर तिम्रा विचार दिन सक्दैनौ । किनभने तिनीहरूका आफ्नै विचार हुन्छन्, सपनाहरू हुन्छन्, जसमा तिमीहरू आफूलाई समावेश गराउन सक्दैनौ । जति नै माया गरे पनि तिमीहरू तिनीहरूको मनमा अटाउन सक्दैनौ ।’‘आमाबाबु भनेका धनुष समान हुन् र छोराछोरी त्यसका वाण । धनुष सदैव वाणलाई माया गर्छन् र मनमा उत्साह, उमङ्गको लहर फैलाई त्यसको सफल प्रक्षेपणको कामना गर्छन् । वाण आफ्नो वेगमा स्थिर रहोस् र मनले चिताएको ठाँउमा पुगोस् भन्ने चाहना राखी धनुष सदैव वाणप्रति समर्पित भइरहन्छ’, कवितामा लेखिएको छ ।

अत्यन्त भावनात्मक र हृदयविदारक यो कविता आजको परिवेशमा अत्यन्त समसामयिक भई घरघरको कहानी जस्तै बन्न पुगेको छ । यस चर्चित कवितालाई लिएर थुप्रै प्रतिक्रिया पनि प्रकाशित छन् । यस कवितामा व्यक्त भाव र सारलाई लिएर विश्वका विभिन्न मानिसले गरेको प्रतिक्रियामा यो कविता मानिसको कल्पनाभन्दा बाहिरको सोच भएको बताइएको छ । तर पनि यसमा व्यक्त भाव प्रत्येक आमाबाबुको मानसिक सोचाइको प्रतिबिम्बन र वास्तविकताको अभिव्यक्ति भएकोे उल्लेख गरिएको छ ।

प्रतिक्रियामा कसैकसैले यो कविता पहिलोचोटि वाचन गर्दा कविले कविता लेख्नैका लागि लेखेको भन्ने मनमा लागे पनि मानिसको विवाहित जीवनमा केटाकेटी ठूलो भइसकेपछि यो कवितामा मानिसको अन्तर्वेदनाको प्रस्फुटन भएको बताइएको छ ।यस कविताको सवेदनशीलताले यहाँनेर महामानव बुद्धको महान् अभिव्यक्तिलाई स्मरण गराउँछ । बुद्ध भन्नुहुन्छ, ‘मानिसको जीवनमा आफ्नो शरीर आफ्नो हुँदैन, आफ्नो भइदिएको भए आफूले भनेजस्तै हुन्थ्यो । आफ्नो नभएकै कारण मानिस आफूले नचाहेर पनि बिरामी पर्दाेरहेछ ।’

यस अर्थमा मानिसको जीवनमा आफ्ना केटाकेटी वास्तवमा आफ्ना होइनन् भन्ने कुराले महत्वपुर्ण अर्थ राख्छ । भनिन्छ, मानिसको जीवन कर्मवादको अङ्कुशमा अड्किएको छ । र, यो पूर्वजन्मको कर्मअनुसार चल्ने डुंगा जस्तै हो । तसर्थ, खालिल जिब्रानको कविताको गहनताले मानिसको विवाहित जीवनमा आमाबाबु र छोराछोरीको सम्बन्ध प्रस्तुत गरिरहँदा पूर्वजन्ममा गरेका कुशल, अकुशल कर्मको आधारमा यस जन्ममा छोराछोरीको पदार्पण हुने र आमाबाबुसँग राम्रो, नराम्रो सम्बन्ध तय हुने बताइएको छ । हाम्रो धर्म र संस्कृतिले यसलाई वर्णन गरेको पाइन्छ ।

उल्लेख भएअनुसार छोराछोरीको जन्म हुनुमा निश्चित कारण हुन्छन् । कतिपय केटाकेटी केही लिन जन्मन्छन् भने कतिपय केही दिन जन्मन्छन् । ‘केही लिन’ जन्मेकाहरूको व्यवहार आमाबाबुप्रति दुःख दिने खालका हुन्छन् । उनीहरूको आदत जानी, नजानी आमाबाबुप्रति बदला लिने खालको हुन्छ । पूर्वजन्मकोे कर्म भोगअनुसार केटाकेटीको व्यवहार प्रकट हुने गर्छन्, जसको परिणाम स्वरूप कतिपय केटाकेटी आमाबाबुलाई सास्ती दिने खालका हुन्छन् भने कोही त ज्यानै लिने पनि हुन्छन् ।

त्यस्तै कर्म भोगअनुसार कतिपय केटाकेटी जन्मेदेखि नै रोगले ग्रस्त भई ठूलो धनराशि खर्च गरेर औषधोपचार गर्नुपर्ने हुन्छन् । कोही औषधोपचार गर्दागर्दै पैसा पनि खर्च हुने र केटाकेटीको ज्यान पनि जाने गर्छ । त्यस्तै, कतिपय केटाकेटी ठूलो भइसकेपछि पनि विभिन्न रोगले ग्रस्त भई वा विभिन्न कारणले कष्टकर जीवन जिउन बाध्य भइरहेका हुन्छन् । यसले गर्दा आमाबाबुको धन, सम्पत्ति नास भइरहन्छ । यस्ता छोराछोरी पूर्वजन्ममा लिनुपर्ने ऋण चुक्ता गर्न जन्मने बताइएको छ । र, यस्ता छोराछोरीलाई ‘उधारो बन्धन पुत्र वा पुत्री’ भनेर भनिन्छ ।

४ प्रकारका छोराछोरी भएको उल्लेख गरिएकामा दोस्रो हो, ‘शत्रु पुत्र वा पुत्री’ । यस्ता केटाकेटी पूर्वजन्मको शत्रु यस जन्ममा सन्तानको रूपमा जन्मने गर्छन् । पूर्वजन्मको झैँ झगडाको बाँकी हिसाब समाप्त पार्न यस्ता केटाकेटीको जन्म हुने भनाइ छ ।
यस्ता केटाकेटीको व्यवहार आमाबाबुप्रति शत्रु भावले ओतप्रोत भई जहिले पनि कचकच र सम्बन्धमा नकारात्मकता पैदा गर्ने खालका हुन्छन्, जसले गर्दा आमाबाबुको सुख, शान्ति हरण भई जीवन निरस बन्छ ।

अर्काे प्रकारका छोराछोरी हुन्छन्, ‘उदासीन पुत्र वा पुत्री’ । यस्ता केटाकेटीको आफ्नै संंसार हुन्छ । उनीहरूलाई कसैको चिन्ता वा मतलब हुँदैन भने कसैको कुरा नसुन्ने र मनमा लागेजस्तै गर्ने भएकाले उनीहरूको हालत र ताल आमाबाबुको जीवन उदास र नैराश्यपूर्ण बन्नुको साथै निन्द्रा नलाग्नुको कारण बन्छ ।

आमाबाबुको वास्ता नगर्ने र उनीहरूको दुःख, सुखमा सामेल नहुने यस्ता छोराछोरी हुनुमा कुनै हर्ष गर्ने ठाउँ हुँदैन । छोराछोरीको सेवा तहल गर्न मात्र ठीक हुने यस्ता आमाबाबुको जीवन उराठलाग्दो हुन्छ । साँच्चै भन्ने हो भने, यस्ता केटाकेटीको जन्मले सबै थोक भएर पनि केही नभएजस्तै हुन्छ ।

तर, कोही केटाकेटीहरू आज्ञाकारी भई आमाबाबुको सेवा तहल गर्ने हुन्छन् । यस्ता केटाकेटीलाई ‘सेवक पुत्र वा पुत्री’ भनिन्छ । उनीहरू अनुशासित र परोपकारी भई आमाबाबुको टेको समान हुन्छन् । आमाबाबुको साथ दिने र श्रद्धा, भक्तिभावमा समर्पित भई दुःख, सुखमा भरोसाका पात्र बन्छन् । यस्ता केटाकेटीको प्रगति र विकास आमाबाबुको शिर ठाडो गर्ने कारण बन्छ ।

साँच्चै भन्ने हो भने, यस्ता केटाकेटीको जन्मले घरमा सुख, शान्तिको वातावरण तयार भई सम्र्पूण परिवारजन समृद्ध, मान, सम्मान र इज्जतको भागिदार हुने सौभाग्य प्राप्त गर्छन्, जसले गर्दा घरै स्वर्ग समान हुन्छ । तसर्थ, पूर्वजन्ममा रोपेको फल यस जन्ममा पाकेर त्यसको स्वाद लिनुपर्ने मानवीय स्वरूपको सत्यतालाई मनन गरी यस जन्ममा कुशल कर्म गरी सन्तुलित र समानुपातिक ढंगले जीवनयापन गर्नु कल्याण हुने ठहर छ । यो नै मानिस जिउने उत्तम उपाय हो ।

लेखक काठमाडौं विश्वविद्यालयका आगन्तुक प्राध्यापक हुन् ।

प्रतिक्रिया दिनुहोस्