युद्धग्रस्त दुई मुलुक युक्रेन-रुसबीच शान्ति वार्ता आज



एजेन्सी । युद्धग्रस्त दुई मुलुक युक्रेन र रुसबीच आज शान्ति वार्ता हुँदैछ । दुई देशबीचको वार्ता टर्कीको इस्तानबुलमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

वार्ताका लागि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभ गरेका छन् । त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पाडोल्याक पनि सहभागी हुनेछन् । इस्तानबुल पुगेको युक्रेनी प्रतिनिधि मण्डलले आफूहरुको मुख्य प्राथमिकता युद्धविराम रहेको बताएको छ ।

दुई हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानको मध्यस्थतामा रुस र युक्रेनका अधिकारीले वार्ता गरेका थिए । रुसले युक्रेनलाई नेटोमा आबद्ध हुन नहुने प्रमुख माग राखेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोमा आबद्ध नहुन शर्तमा यसअघि नै सहमति जनाइसकेका छन् । युक्रेनी पृथकतावादीहरुको पकड रहेको क्षेत्रलाई स्वतन्त्र बनाइदिनुपर्ने रुसी शर्त छ। युक्रेनी राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगर्ने यसअघि नै बताएका छन् ।

यसअघि रुसले युक्रेनको क्राइमियालाई स्वतन्त्र क्षेत्रको मान्यता दिँदै युक्रेनमाथि आक्रमण थालेको थियो । विद्रोहीहरुको प्रभाव रहेका लुहान्स्क र दोनेत्स्कलगायतका क्षेत्रलाई पनि रुसले स्वतन्त्र बनाउन खोजिरहेको छ । रुसले युक्रेन निशस्त्रीकरण हुनुपर्ने शर्त पनि अगाडि सारेको छ । यी शर्तहरुका कारण शान्ति वार्ता सफल हुनेमा आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्