भिड्न तयार छ : एमाले



काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कानुनी चुनौती दिन गठन भएको ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनसम्मै निरन्तरता पाउने निश्चित भएको छ ।
११ फागुनमा सर्वोच्च अदालतले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेको कदमलाई बदर गरे पनि ओलीले फेरि विघटन गरेपछि गठबन्धन बनेको थियो ।
गठबन्धनले ओली नेतृत्वको एमालेलाई अब निर्वाचनमा ‘राजनीतिक चुनौती’ दिने भएको छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् । यी सबै दल ३० वैशाखमा हुने निर्वाचनमा एमालेविरुद्ध हुनेछन् ।
मंगलबार कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेसँगै स्थानीय निर्वाचन एमालेविरुद्ध गठबन्धनको हुने भएको हो ।
ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पटकपटक भन्दै आएका छन्, ‘यो एमालेलाई घेराबन्दी गर्न बनेको मागिखानेहरूको गठबन्धन हो ।’
निर्वाचनमा गठबन्धन गर्न जोडबल गर्ने नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् । उनीहरूलाई ओलीविरुद्ध बनेको गठबन्धनको ‘ग्राण्ड डिजाइनर’ मानिन्छ ।
अन्नतः यी २ नेताको दबाबका कारण गठबन्धनलाई निरन्तरता दिन कांग्रेस तयार भएको हो । कांग्रेसभित्र गठबन्धनबारे फरक मत नआएको भने होइन । केन्द्रीय सदस्य डा. शेखर कोइराला खेमा गठबन्धनको विपक्षमा उभिएको छ ।
यद्यपि, बहुमतले गठबन्धनलाई निर्वाचनसम्मै निरन्तरता दिने निर्णय गरेसँगै निर्वाचनमा एमालेले गठबन्धनको सामना गर्नुपर्ने अवस्था आएको हो ।
यसअघि एमसीसीका कारण गठबन्धन धर्मराएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादी ब्याख्यात्मक घोषणामार्फत अनुमोदन गर्न तयार भएपछि मात्र गठबन्धन जोगिएको हो । नभए प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा गठबन्धन भत्काउने पक्षमा थिए ।
गठबन्धन गरेर स्थानीय तहमा पहिलो दल हुने दाउ कांग्रेसको छ । पहिलो दल भएको अवस्थामा त्यसको असर प्रदेश र संघीय निर्वाचनमा पर्ने सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बताए ।
राजनीतिक विश्लेषक हरि रोका पनि कांग्रेसतर्फ लक्षित गर्दै गठबन्धनको फाइदा स्वाभाविक रूपमा ठूला दललाई हुने बताउँछन् । उनले भने, ‘गठबन्धनको फाइदा सबैभन्दा ठूलो दललाई हुन्छ । साना दलको केही ठाउँमा जीत निश्चित हुने मात्र हो ।’
तर, गठबन्धन निर्वाचनमा जाँदा मतदानबारे २ अवस्था आउने सक्ने उनलाई लाग्छ । पहिलो, कार्यकर्तालाई गठबन्धनले तयार गरेको उम्मेदवारलाई मत हाल्ने बाध्यता हुन्छ र दोस्रो, सर्वसाधारण मतदाताले भने उम्मेदवार हेर्ने हुन्छ ।
गठबन्धनमै रहेको एउटा दल माओवादी केन्द्रका नेता शक्ति बस्नेतले कांग्रेसको निर्णयलाई सही भनेका छन् । उनले स्थानीयस्तरमा आवश्यकताअनुसार गठबन्धन गर्ने पक्षमा माओवादी पनि भएको बताए । उनका अनुसार गठबन्धनले ५ दललाई निर्वाचनमा फाइदा पुग्नेछ ।
मतलब छैन, भिड्न तयार छौँ : नेम्बाङ
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले गठबन्धनले निर्वाचनमा मतलब नराख्ने बताएका छन् । एक्लै गठबन्धनविरुद्ध एमाले निर्वाचन लड्ने र पराजित गर्ने दाबी गरे ।
‘हामीलाई गठबन्धनको मतलब छैन । निर्वाचनको पूर्ण तयारीमा छौँ र एक्लै लडेर हामी निर्वाचन जित्छौँ’, उपाध्यक्ष नेम्बाङले द नेपालटपसँग भने ।
स्थानीय तहमा पहिलो रहेको दल एमालेले फेरि निर्वाचनबाट पहिलो दल हुने दाबी गर्दै आएको छ ।
गठबन्धनपछि फाइदैफाइदा
कांग्रेस नेतृत्वमा ५ दलीय गठबन्धन बनेपछि एमाले नेतृत्वको संघीयदेखि ४ वटा प्रदेश सरकार ढल्यो । राष्ट्रियसभाको ६ जेठमा गण्डकी प्रदेश र १७ जेठमा लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनबाट गठबन्धनका उम्मेदवार विजयी भए ।
१३ माघमा भएको निर्वाचनबाट पनि १८ जना गठबन्धनका उम्मेदवार विजयी भए ।
गठबन्धनले एमालेविरुद्ध ६ जेठदेखि राजनीतिक प्रतिस्पर्धा गर्दै आएको छ । र, गरेको प्रतिस्पर्धामा गठबन्धन विजयी हुँदै आएको छ ।
यस्तो छ सफलताको आंकडा
–राष्ट्रियसभा उपनिर्वाचन ः डा. खिमलाल देवकोटा विजयी (बाग्मती प्रदेश )
–राष्ट्रियसभा उपनिर्वाचन ः दृगनारायण पाण्डे विजयी (लुम्बिनी प्रदेश)
– राष्ट्रिय निर्वाचन ः गठबन्धनका साझा उम्मेदवारहरू जयन्तीदेवी राई, गोपाल बस्नेत, गोमादेवी तिमल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह, जगत्बहादुर पार्की र नारायणदत्त मिश्र निर्वाचित (१३ माघ २०७८) ।
–संघमा कांग्रेस नेतृत्वको सरकार । प्रदेश १ र बाग्मतीमा नेकपा (एकीकृत समाजवादी)को सरकार, मधेस प्रदेशमा जनता समाजवादीको, गण्डकी र कर्णालीमा कांग्रेसको सरकार र लुम्बिनीसँगै सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार गठन ।

प्रतिक्रिया दिनुहोस्