गण्डकी प्रदेशसभामा तीन विधेयक पेश



पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ।
बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदन सहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्।
बैठकको विशेष समयमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले खानेपानी, पुल जस्ता आधारभूत आवश्यकताका योजनामा रहेको बजेटलाई सरकारले रकमान्तर गरेको बताए।
अर्का सदस्य धनमाया पोखरेलले विधि र प्रक्रिया बाहिर गएर रकमान्तर गरिएको भन्दै विरोध गरेकी छिन्। गोरखाका विभिन्न सडक बजेटको अभावमा अलपत्र परेको उनले ध्यानाकर्षण गराइन्। मनबहादुर गुरुङले गत वर्षातका बाढी पीडितले अझै राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले बढ्दो महँगीका कारण जनता पीडित बनेको बताए।
बैठकको शून्य समयमा कृष्णबहादुर थापा, भागवत प्रकाश मल्ल, रोशन बहादुर गाह र चन्द्रमोहन गौतमले समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्