प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले : महासचिव पोख्रेल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले रहेको बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले पुष्पकमल दाहाल  प्रचण्ड र माधव नेपालसँग बामएकताको सम्भवना नरहेको तर माओवादी र एकीकृत समाजवादीका कार्यकर्तालाई एकतावद्ध गर्ने पक्षमा भने एमाले रहेको बताएका हुन् ।  

साथै महासचिव पोख्रेलले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा एमालेले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने पनि बताएका छन् । 

राप्रपा, सिके राउतका दलसँगको तालमेलको सम्भवना के छ भन्ने पत्रकारको जिज्ञासामा उनले एमालेले पार्टीगत तालमेलको पक्षमा नरहेको बताएका हुन् । उनले सत्तारुढ गठबन्धनका दलले एमालेले राजवादी दलसँग तालमेल हुँदैछ भनेर भ्रम फैलाएको समेत आरोप लगाएका छन् ।

पोख्रेलले  एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्यकर्ताहरूलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडि बढ्ने बताएका छन् ।  अहिलेको पाँच दलीय गठबन्ध बमपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणी समेत गर्दै उनले काङ्ग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्