जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्तो !



महोत्तरी : दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् । 

बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले तिहार पर्व शुरु भएसँगै नगरका चोकचोकमा भेला भएर सार्वजनिकरुपमै आफ्ना जनप्रतिनिधि र सडक विभागसम्बद्ध अधिकारीलाई यो सडक क्षेत्रमा आएर बुङ्बुङ्ती उडिरहेको धुलो खान सार्वजनिक निम्ता दिएका हुन् । 

“हेर्नोस् न, हामी यो सडकमा दिनहुँ बुङ्बुङ्ती उड्ने धुलो खाइरहेका छौँ”, बर्दिवास नगरपालिका–२ ओमशान्तिचोकमा एकाबिहानै भेला भएका वरपरका टोलवासीको बीचबाट दीपमायाँ श्रेष्ठले भनिन्, “मन्त्री, नगरपालिका प्रमुख र कुनै हाकिमको ध्यान सडकमा परेन, त्यसैले तिहार शुरु भएको अवसरमा दाजुभाइलाई तिहारको निम्ता दिनसँगै उहाँहरु (जनप्रतिनिधि र सडकसम्बद्ध अधिकारी) लाई सडकमा उड्ने धुलो खान निम्ता गरेका हौँ ।” 

बर्दिवास–जलेश्वर सडकखण्डअन्तर्गत बर्दिवास नगरका क्षेत्रका चोकचोकमा तिहारका अवसरमा सर्वसाधारणले यो अभियान शुरु गरेका हुन् । विक्रम संवत् २०४८ मा कालोपत्र गरिएको ४२ किलोमिटर दूरीको बर्दिवास–जलेश्वर सडक त्यसयता कहिल्यै मर्मतसम्भार नगरिएको यो सडक क्षेत्र वरिपरि बासिन्दाको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्