वर्षाले रोकियो भारत र न्युजिल्याण्डबीचकाे खेल



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ।

म्यानचेस्टरमा जारी खेलमा वर्षाले खेल रोकिनुअघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६.१ बलमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको छ। न्युजिल्याण्डका रोस टेलर ८५ बलको सामना गरी ३ चौंका र १ छक्कासहित ६७ रनमा अविजित छन्।

कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए। ९५ बल खेलेका विलियम्सनले ६ चौंका प्रहार गरे। त्यस्तै हेनरी निकोल्स २८, कोलिन डी ग्रान्डहोम १६ र जेम्स निशम १२ रन बनाएर आउट भएका छन्। भारतका जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा र युजभेन्द्र चहालले समान १–१ विकेट लिए। 

दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन्। भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्