निर्वाचनका लागि के-के गर्दै छन् मधेसकेन्द्रित दलहरू ?



काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको चुनाव लक्षित पार्टीको घोषणापत्र तयारीलाई राजनीतिक दलहरूले तीब्रता दिएका छन्। कमल थापा नेतृतवको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाहेक अधिकांश दलले अझै पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।

ठूला दलसँगै मधेसकेन्द्रित दलहरूले उम्मेदवार छनोट र घोषणापत्र तयारी कार्य अन्तिम चरणमा चलिरहेको बताएका छन्। यही महिनाभित्र घोषणापत्र र उम्मेदवार छनोटबारे टुंगो लगाउने मधेस केन्द्रित दलहरूको तयारी छ ।

यही महिनामा उम्मेदवार र घोषणापत्र सार्वजनिक : जसपा
जनता समाजवादी पार्टी (जसपा) अहिले खासगरी चुनावी घोषणापत्र र उम्मेदवार छनोटमा जुटेको छ। अहिलेसम्म पार्टीको घोषणापत्र तयार भएको कार्यकारिणी समिति सदस्य मनीष सुमन बताउँछन्। उनका अनुसार चुनावी घोषणापत्र भने तयारीको अन्तिम चरणमा छ। ‘सकभर यही महिनाभित्र घोषणापत्र सार्वजनिक हुनेछ’, उनले भने।

घोषणापत्र तयार गर्ने व्यक्ति राजदूतमा नियुक्त भएपछि केही ढिलाइ भएको उनको भनाइ छ। चुनावी घोषणापत्र तयार गर्ने जिम्मा नवराज सुवेदीलाई थियो। उनी बिहीबार राजदूतमा सिफारिस भएका छन्।घोषणापत्रसँगै जसपामा अहिले पालिकास्तरको समितिबाट उम्मेदवार छनोटको सिफारिस जिल्लास्तरमा गरिसकेको प्रदेश सांसदसमेत रहेका सुमन बताउँछन्। उनका अनुसार लगभग सबै पालिकाबाट उम्मेदवारको नाम छनोट भएर जिल्लास्तरमा आइसकेको छ।

उनले भने, ‘अब जिल्ला हुँदै प्रदेश र केन्द्रमा आउँछ अनि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछौँ ।’ उनका अनुसार उम्मेदवारको अन्तिम नामावली र पार्टीको चुनावी घोषणापत्र यही महिनाको ३० गतेभित्र सार्वजनिक हुनेछ । आसन्न सथानीय तहको चुनावमा उम्मेदवार छनोट गर्न पार्टीले कम्तीमा ३ जनाको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको उनी बताउँछन् । उनले भने, ‘त्यो सर्कुलरमा हामी उम्मेदवार छनोट गर्ने आधार पनि सुझाएका छौँ, ककसलाई छनोट गर्ने, त्यो प्राथमिकता पनि तोकेका छौँ ।’

पार्टीका पुराना कार्यकर्तालाई उम्मेदवार छनोट गर्दा पहिलो प्राथमिकतामा राख्न सुझाएको प्रदेश सांसद सुमन बताउँछन् । उनका अनुसार यसका साथै लोकप्रिय, राम्रो छवि भएका जित्न सक्ने व्यक्ति, कुनै मुद्दा मामिलामा नपरेकाहरूको नाम सिफारिस गर्न भनिएको छ । त्यहीअनुसार लगभग सबै उम्मेदवारको नाम पनि छनोट भएर जिल्लास्तरसम्म आइसकेको उनको भनाइ छ । उनका अनुसार यसबाहेक अन्य चुनावी कार्यक्रम चलिरहेको छ । जसपा निर्वाचनमा गठबन्धनको पक्षमा रहेकाले गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेको उनको भनाइ छ । देशभरि नै जसपाको सङ्गठन रहेकाले लगभग सबै ठाउँमा चुनाव लड्ने जसपाको तयारी छ ।

उम्मेदवारको छनोट र घोषणापत्र तयारी हुँदै : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि चुनावी तयारीमा जुटेको छ । लोसपा कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेशका पूर्वमन्त्री जितेन्द्र सोनलका अनुसार पार्टीको चुनावी घोषणापत्र यही महिनाभित्र आउनेछ। ‘अहिले उम्मेदवार छनोट प्रक्रिया सुरु भएको छ, केन्द्रीय पर्यवेक्षक खटाइएको छ।

त्यहीबमोजिम उम्मेदवारको नाम सिफारिस भएर पनि जिल्लास्तरमा आइरहेका छन्’, उनले भने, ‘यस महिनाको ३० गतेभित्र चुनावी घोषणापत्र र उम्मेदवारको नाम पनि लगभग सार्वजनिक गर्ने तयारी छ।’ स्थानीयस्तरको आवश्यकताअनुसार निर्वाचनमा तालमेल गर्ने पार्टीको तयारी रहेको उनको भनाइ छ।

उनले भने, ‘घोषणापत्रको निर्माणका लागि बनाइएको समितिले घोषणापत्र ड्राफ्ट गर्दै छ, त्यसका लागि सल्लाह, सुझाव पनि आइसकेका छन्।’ उम्मेदवार छनोटका लागि केही आधार पनि पठाइएको छ, जसमा भनिएको छ, ‘व्यक्तित्व र नेतृत्व क्षमतावान्लाई पहिलो प्राथमिकतामा राखेर सिफारिस गर्नुहोस्, त्यसपछि समाजमा कतिको लगानी छ, त्यो पनि मूल्याङ्कन गरेर उम्मेदवार बनाउनुहोला ।’ देशभरि पार्टी सङ्गठन रहेको हुँदा लगभग सबै ठाउँबाट उम्मेदवार खडा गर्ने तयारी रहेको पूर्वमन्त्री सोनलले बताए।

३२५ स्थानबाट चुनाव लड्ने तयारी छ : जनमत पार्टी
मधेस राजनीतिमा नयाँ राजनीतिक शक्तिको रूपमा उदय भएको सीके राउत नेतृत्वको जनमत पार्टी पनि चुनावी तयारीमा जुटेको छ।जनमत पार्टीले पनि निर्वाचनका लागि उम्मेदवार छनोट र घोषणापत्र तयारीलाई तीब्रता दिएको जनमत पार्टीका केन्द्रीय सदस्य बीपी साहले बताए।

उनले भने, ‘पार्टीले पहिलो चरणमा २२ वटा पालिका प्रमुख उम्मेदवारको घोषणा गरिसकेको छ, अन्य ठाउँका पालिका प्रमुख उम्मेदवारको छनोट भइरहेको छ । त्यो पनि हरेक साता घोषणा नै भइरहेको छ । देशभरिमा ३२५ ठाउँबाट पार्टी चुनावमा भाग लिँदै छ।’ पार्टीको घोषणापत्र पनि तयार भइरहेको जनाउँदै उनले भने, ‘सकभर मनोनयनपत्र दर्ताअघि नै पार्टीको घोषणापत्र जारी हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्