विश्वकप क्रिकेट : फाइनलमा पुग्न भारतलाई २४० रनको लक्ष्य



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा भारतले न्युजिल्याण्डलाई जितका लागि २ सय ४० रनको मध्यम लक्ष्य दिएको छ। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा मंगलबार ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा वर्षाले खेल रोकिएपछि बाँकी ५.१ ओभरको खेल आज खेलाइएको थियो।

जसमा न्युजिल्याण्डले २८ रन जोड्दै ३ विकेट गुमाउँदै जम्मा २ सय ३९ रन बनायो। न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ खेले। ९० बल खेलेका टेलरले ३ चौंका र १ छक्कासहित ७४ रन बनाउँदा विलियम्सनले ९५ बलमा ६ चौंका प्रहार गरे।

त्यस्तै हेनरी निकोल्स २८, कोलिन डी ग्रान्डहोम १६, जेम्स निशम १२ र टोम लाथम १० रन बनाएर आउट भए। न्युजिल्याण्डका ४ खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

भारतका लागि भुवनेश्वर कुमारले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ४३ रन खर्चिदै सर्वाधिक ३ विकेट लिए। त्यस्तै जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा र युजभेन्द्र चहालले समान १–१ विकेट लिए।

दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन्। भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्