निर्वाचन रोक्न माग गरिएको रिटमाथिको सुनुवाइ आज



काठमाडौं । स्थानीय तह निर्वाचन रोक्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएको रिट सर्वोच्चमा विचाराधीन छ । उनीहरुको रिटमा तेस्रो चरणमा अर्थात् २०७४ असोजको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरिएको थियो ।

त्यसमध्ये सोमबार चौरासियाको रिट पेसी रहेको छ । यसअघि कारण देखाऊ आदेश जारी भएको चौरासियाको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो । फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेश भएको थियो । दुवै रिटमाथि आज छलफल भएर अन्तिम फैसला निर्वाचन अघि हुन सक्ने सम्भावना छ ।

यदि उक्त अन्तरिम आदेश जारी भएन भने निर्वाचनमा असर पर्ने छैन । अर्को पेसी स्थानीय निर्वाचनपछि जाने भएकाले निर्वाचनका लागि बाटो खुल्ला हुनेछ । तर, सोमबार अन्तरिम जारी भएमा तोकिएको स्थानीय तहको निर्वाचनमा प्रभाव पर्न सक्छ । आदेश जारी नभएमा निर्वाचन आयोगलाई आफ्नो काम गर्न कुनै बाधा नहुने सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्