प्रतिबन्धपछि विप्लव समूहका ८ कार्यकर्ता मारिए, गाउँगाउँमा थपिए सुरक्षाकर्मी



काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ । 

पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन् ।

काठमाडौ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो । चन्द समूहले गरेको विस्फोटबाट यो अवधिमा चन्द समूहका ५ सहित ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७ घाइते छन् । प्रहरी र चन्द समूहबीचको दोहोरो भिडन्तमा फागुनमा दुई प्रहरी घाइते भएका थिए ।

नेकपा संसदीय दलको चैत ११ को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्रविक्रम चन्द समूहलाई सरकारले निस्तेज पारिसक्ने दाबी गरेका थिए । प्रधानमन्त्रीको यस्तो दाबीपछिका चार महिनामा पटकपटक चन्द समूह र प्रहरीबीच देशका विभिन्न स्थानमा भिडन्तको अवस्था सिर्जना भएको देखिन्छ ।

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि उक्त समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकायलाई परिचालन गरिएको थियो । सरकारी निर्णयपछि प्रहरीले देशैभर चन्द समूहका नेता तथा कार्यकर्ता पक्राउ तीव्र पारेको थियो ।

१० चैतमा गृह मन्त्रालयले चन्द समूहलाई प्रत्यक्ष–परोक्ष सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारबाहीको दायरामा ल्याइने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचना जारी भएलगत्तै प्रधानमन्त्री ओलीले चैत महिनाको समय दिएका थिए । त्यसपछि झन् सरकार र चन्द समूह आमनेसामने भइरहेका छन् । असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ मा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीबाट मारिए ।

दोहोरो भिडन्तमा कुमार मारिएको दाबी प्रहरीले गरे पनि फेक इन्काउन्टरमा प्रहरीले पौडेललाई मारेको भन्दै संसद्मा प्रतिपक्षी र सरकारसम्बद्ध दलकै नेताले प्रश्न उठाइरहेका छन् । यो विषयमा संसदीय छानबिनको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभा अवरोध गरिरहेको छ ।

गत जेठ ७ मा भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा चन्द समूहकै कार्यकर्ता तीर्थराज घिमिरेको पनि प्रहरीको गोली लागी मृत्यु भएको थियो । प्रहरीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै चन्द समूहले नेपाल बन्दकै आयोजना गरेको थियो । कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्