बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित



विराटनगर : अविरल वर्षासँगै आएको बाढीका कारण मोरङमा ४७० परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका विभिन्न स्थानमा रहेका खोलाहरूमा आएको बाढीका कारण ४७० परिवार विस्थापित भएका हुन्। विस्थापित हुनेमा अधिकांश विराटनगरका बासिन्दा छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ८ मा ५०  र विराटनगर–७ मा १३ परिवार विस्थापित भएका छन्। विराटनगर–१ को विजयपुर सुकुम्बासी बस्तीमा २५ घर, हनुमान मन्दिर छेउ सुकुम्बासी बस्तीका २० परिवार र जिल्ला प्रहरी कार्यालय पछाडी रहेको बस्तीका २० परिवार विस्थापित भएका छन्।

त्यस्तै विराटनगर–२ को मुसहर बस्तीका २० परिवार, विराटनगर ४ को बरौलीका ७ परिवार, विराटनगर १५ का पारिजात र सुमहर टोलका ५० परिवार, विराटनगर ७ हरियाली टोलका ५० परिवार बाढीका कारण विस्थापित भएका छन्। विराटनगर–१२ धुधुवा, बखरी र ऋसिदेव बस्तीका ३५ परिवार, विराटनगर १९ का २० परिवार बिस्थापित भएका छन्। त्यस्तै कटहरी ४ नयाँ बजार सुकुम्बासी बस्तीका १२५ परिवार बाढीका कारण विस्थापित भएका छन्।

सिंघीया खोलाको बाध फुटेर बस्तीमा पस्दा जहदा गाउँपालिका–१ धुनिटोलका ४० परिवार विस्थापित भएका छन्। डंग्राह खदम खोला बस्तीमा पस्दा बुढीगंगा ७ मा १६ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विस्थापित भएकाहरू विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टागेर बसेका छन्।

बाढीका कारण मोरङको कानेपोखी गाउँपालिका –२ गेउरिया खोलाले एक जनालाई बगाएको छ। बगाएको व्यक्तिको परिचय नखुलेको जिल्लला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

संघिया, केसलियालगायत खोलामा आएको बाढीका कारण विराटनगर, बुढीगंगा, कटहरी, जहदा गाउँपालिका लगायतका स्थानमा बढी प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। उनका अनुसार विस्थापित भएकाहरूलाइ सम्बन्धित स्थानीय तहको विदप व्यवस्थापन समितिले राहत सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्