महानगरमा अड्कियो हलो



काठमाडौं । दलीय गठबन्धनका दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा तालमेल पेचिलो बनेको छ । ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकामध्ये कहीँ पनि तालमेल टुङ्गो लागेको छैन । उल्टै ‘मित्रवत् प्रतिस्पर्धा’का नाममा तालमेल भाँडिँदै छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार बसेको बैठकमा पनि गठबन्धनमा रहेका दलका नेताहरूले आ–आफ्नै दाबी मात्र प्रस्तुत गरे ।
बैठकपछि बोल्दै पौडेलले महानगरपालिका र उपमहानगरपालिका टुङ्गो लगाउनेबारे गम्भीर छलफल नभएको बताए । ‘आआफ्नो पार्टीको इच्छा प्रकट भयो । धेरै कुरा भएन’, समिति संयोजकसमेत रहेका पौडेलले भने ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस नेताहरूले काठमाडौं, ललितपुर, विराटनगर र वीरगंज महानगरपालिका दाबी गरेका थिए । ११ वटा उपमहानगरपालिकामध्ये हेटौँडा, घोराही, धनगढी, कलैया, जनकपुर, बुटवल र तुलसीपुरमा कांग्रेस नेताहरूले दाबी गरेका छन् ।
गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)को भरतपुर महानगरपालिकासहित धरान, हेटौँडा, जितपुर–सिमरा र घोराही उपमहानगरपालिकामा दाबी छ ।
नेकपा (एकीकृत समाजवादी)को पोखरा महानगरपालिकासहित इटहरी, हेटौँडा र तुलसीपुर उपमहानगरपालिकामा दाबी छ । जनता समाजवादी पार्टी (जसपा)ले वीरगंज महानगरपालिका र नेपालगंज उपमहानगरपालिकामा दाबी पेस गरेको हो ।
समिति बैठक सोमबार पनि बस्ने भएको छ । बैठकले महानगरपालिका र उपमहानगरपालिका टुङ्गो लगाइने गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।
‘दाबी पेस गर्ने काम भएको छ । तालमेलको टुङ्गो भोलि लाग्ला’, उनले भने । आइतबार समिति बैठकअघि गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकले सोमबारसम्म दुवै तहको तालमेल टुङ्गो लगाउने निर्णय गरेको थियो । यससँगै निर्वाचन तयारी र गठबन्धनको अवस्थाबारे प्रतिवेदन सबै प्रदेशबाट लिने पनि निर्णय गरेको थियो ।
तर, शनिबार नै पर्साको वीरगंज महानगरपालिकामा कांग्रेस र जसपाले अलग भएर ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने सहमति गरिसकेका छन् । गठबन्धनका बाँकी २ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले के गर्छन् ? निश्चित भएको छैन । शब्द ‘मित्रवत् प्रतिस्पर्धा’ भनिए पनि गठबन्धनका दलहरूबीच तालमेल नहुने भएको हो ।
संघीय राजधानी भएको काठमाडौं महानगरपालिकामा कांग्रेसमा एक्लै अघि बढ्न चाहेको छ । काठमाडौं सभापति सबुज बानियाँले पार्टी सङ्गठनबाट एक्लै लड्न सुझाव आएको द नेपालटपलाई बताए ।
‘पार्टीको सङ्गठनबाट कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने भन्ने माग भएको छ । हामीले त्यहीअनुसारको सुझाव पेस गरेका छौँ । तर, गठबन्धन जोगाउन पनि तालमेल गर्नुपर्ने भएको छ’, सभापति बानियाँले भने, ‘साङ्गठनिक क्षमताका आधारमा एक्लै लडौँ भन्ने दबाब छ ।’
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले भने तालमेल हुनुपर्नेमा जोड दिँदै आएका छन् । यी दलहरू कमजोर रहेको निष्कर्षका आधारमा कांग्रेस तालमेलबिना अघि बढ्न चाहेको हो ।
एकीकृत समाजवादीले दाबी गरेको पोखरा महानगरपालिकामा पनि कांग्रेसले नछाड्ने भन्दै आएको छ । त्यहाँ प्रदेशका कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापासहित १८ जनाले प्रमुख पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।
कांग्रेस महानगर समितिले दाबेदारहरूको पहिचान गर्न भनेर दाबेदारी प्रस्तुत गर्न समय दिएको थियो । आइतबारसम्म उक्त सङ्ख्याका आकाङ्क्षीहरूको प्रमुख पदमा र १० जनाको उपप्रमुख पदमा दाबेदारी प्रस्तुत भएको छ ।
दाबेदारी प्रस्तुत भएपछि मन्त्री थापाले २ लाख ७ हजार मतदाता रहेको पोखरामा कांग्रेसका ६१ हजार मतदाता रहेका दाबी गरे । महानगर पाउनुपर्ने भन्दै दाबी गर्दै आएको एकीकृत समाजवादीको ५ हजार मतदाता नभएको मन्त्री थापाले बताए ।
‘प्रमुख पदमा धनराज आचार्य उठ्ने भन्दै हुुनुहुन्छ । उहाँको वडामा २०० मतदाता पनि छैन । महानगरपालिकाको ३३ वडामा गरी ५ हजार मतदाता छैन । माओवादीको त्यस्तै १२–१३ हजार भन्ने दाबी छ’, मन्त्री थापाले भने, ‘कांग्रेसले पोखरा महानगर नपाए गठबन्धन नै हार्ने स्थिति हुन्छ । गठबन्धन त हार्न हुँदैन नि, जित्न हो ।’
यो महानगरपालिका पहिले नेकपा एमालेले जितेको हो । अझै पनि एमाले कमजोर छैन । एमालेविरुद्ध लड्ने भनिएका गठबन्धन दलहरू एकले अर्कालाई महानगरपालिकाको नेतृत्व छाड्नै तयार छैनन् ।
विराटनगर महानगरपालिकामा पनि गठबन्धनका दलहरूबीच तालमेल नहुने भएको छ । त्यहाँ कांग्रेसविरुद्ध माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी प्रतिस्पर्धा गर्ने करिब टुङ्गो लागेको छ ।
केही दिन अगाडि बसेको कांग्रेस मोरङ जिल्ला कार्यसमितिको बैठकले गठबन्धनका अन्य दलहरूसँग तालमेल अस्वीकार गरेको थियो ।
भरतपुर महानगरपालिकामा तालमेलको विषय टुङ्गो लागेकै छैन । तैपनि, महानगरपालिकाको प्रमुख पदमा कांग्रेसबाट दाबी गर्ने नेता चित्रसेन अधिकारीले भने पार्टीको निर्णयअनुसार उपप्रमुखमा रहन तयार रहेको बताएका छन् । ललितपुर महानगरपालिकामा भने हालसम्म कांग्रेस नेताहरूको मात्र दाबी छ ।
निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता यही ११ र १२ वैशाखमा हुँदै छ । तर, समय एक साता पनि बाँकी नरहँदा तालमेलको हलो गठबन्धनकै दलका स्वार्थका कारण अड्किएको छ ।
क्राफ्ट सिटी बनाउन मेरो दाबेदारी : भरतलाल न्याछ्यो (बक्स)
कांग्रेस ललितपुरका नेता भरतलाल न्याछ्योले ललितपुर महानगरपालिकालाई ‘क्राफ्ट सिटी’ बनाउन ललितपुर महानगर प्रमुख पदमा दाबेदारी प्रस्तुत गरेको स्पष्ट पारेका छन् ।
अघिल्लो पटक पनि उनले दाबेदारी प्रस्तुत गरेका थिए तर उम्मेदवार भएनन् । यस पटक भने पार्टीले न्याय गर्दै उम्मेदवार बनाउने र जितेर ललितपुरलाई ‘क्राफ्ट सिटी’को अवधारणाअनुसार सम्पदा संरक्षित र विकसित शहर बनाउन चाहेको बताए ।
‘ललितपुर करिब ३ हजार वर्ष पुरानो शहर हो । यो सम्पदाको धरोहर भएको शहर हो । यो शहरले जसरी विकसित र सम्पदा संरक्षित शहरको रूप लिनुपथ्र्यो लिएन’, उनले भने, ‘अघिल्लो पटक कांग्रेसबाटै प्रमुख भएका चिरीबाबु महर्जनले गफ धेरै गर्नुभयो । स्मार्ट सिटी बनाउने कुरा थियो, त्यो पनि भएन ।’
उनले महर्जनको कार्यकालमा करिब २० करोड रुपैयाँ बेरुजु भएको, विपक्षीहरूलाई महानगरको विकासमा सँगै लैजान नसकेको, अक्षय कोषको नाममा अनधिकृत पैसा बाँडेको र पार्टी सङ्गठनका नेता, कार्यकर्तालाई बेवास्ता गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्