चाहेको व्यक्ति सर्वसम्मत नभएपछि बारा फुटबल संघको अधिवेशन स्थगित



वीरगंज । आफूले समर्थन गरेको प्यानललाई सर्वसम्मत गराउने प्रयास असफल भएपछि बारा जिल्ला फुटबल संघको अधिवेशन स्थगित भएको छ ।
शनिबार कार्यसमिति चयन गर्न बसेको बैठकमा अध्यक्ष मोहम्मद समिउल्लाह निर्विरोध हुने आसमा थिए । साधारणसभाको तयारी गरेका समिउल्लाहले निर्वाचनमा आफूले अनुमान नगरेका राजकुमार लामा उम्मेदवार भएपछि उनले निर्वाचन अधिकृतहरूलाई निर्वाचन स्थगित गर्न लगाएका थिए ।
‘सहमतिको प्रयास गर्दा बेलुका ढिला भयो । यस कारण निर्वाचन नगरिएको हो’, उनले भने, ‘सुरुमा सर्वसम्मतिबाट चयन गर्ने तयारी थियो, अन्तिममा केही गृहकार्य पुगेन अनि समय पनि नभएपछि स्थगित गरेका छौँ ।’
उनी जिल्ला फुटबल संघको बैठक बोलाएर कार्यसमिति सर्वसम्मति गर्ने तयारीमा रहेको बताउँछन् । यद्यपि, संघको अध्यक्षका आकाङ्क्षीहरू कृष्णमोहन चौधरी र लामाले अडान छाडेका छैनन् ।
चौधरी केन्द्रमा अध्यक्ष कर्मा छिरिङ पक्षधर हुन् भने लामा वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्बाङ पक्षधर हुन् ।
समिउल्लाहले आफू केन्द्रीय प्रतिनिधि हुने चाहना राखेका थिए । निर्वाचनमा उनले चौधरीलाई समर्थन गरेका थिए । लामाले उम्मेदवारी दिएपछि उनले केन्द्रीय निर्वाचनमा आफूलाई प्रतिनिधि बनाउने शर्तमा उनलाई स्विकार्न सकिने जनाएका थिए ।
लामाकै अनुसार समिउल्लाहले शनिबार नै प्रतिनिधि तय गर्नुपर्ने अडान राखेका थिए । त्यस कुरामा लामा तयार नभएपछि उनले निर्वाचन स्थगित गर्न निर्वाचन समितिलाई निर्देशन दिए ।
आइतबार भएको दोलखा जिल्ला फुटबल संघको निर्वाचनमा कौरव पाण्डे विजयी भए । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक सञ्जिव बुढाथोकी सर्वसम्मत भए । मोरङमा दीपेन्द्र तिवारी, भूपाल श्रेष्ठ र धनकुमार लामा उपाध्यक्ष भए ।
महिला सदस्यमा कौशिला लिम्बू सर्वसम्मत भइन् । वसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेबे, देवेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई र इन्द्रमणि पोखरेल सदस्य भए । उद्धव अर्याल र सचिन घिमिरे पनि सदस्य भए । यसैगरी धादिङ जिल्लामा दीपक खतिवडा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्