मुख्यमन्त्री लालबाबु राउतद्वारा भारइलफ्लु प्रभावित क्षेत्र निरीक्षण



सप्तरी : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सप्तरीको कञ्चनरुपमा फैलिएको भाइरल फ्लुबारे स्थलगत निरीक्षण गरेका छन् । 

 

भाइरलका कारण कञ्चनरुपमा ४ जनाको मृत्यु हुनुका साथै दर्जनौं प्रभावित भएपछि मुख्यमन्त्री राउतसहितको टोलीले हिजो शुक्रबार उक्त स्थानको प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षण गर्दै रोगको अवस्था, नियन्त्रणका लागि हुँदै आएको प्रयास, औषधिको मौजुदा अवस्थालगायत विषयमा जानकारी लिएका छन् । 

 

निरीक्षणपश्चात् मुख्यमन्त्री राउतले भाइरलको प्रकोपबाट मृत्यु भएका वडा नं ७ का १३ वर्षीय दिवश बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोरकुमार राम, ९ का १४ वर्षीय आमोद राम र सोही ठाउँका ६० वर्षीया भालसैरदेवी सरदारको परिवारलाई जनही २ लाख रुपैयाँको चेकसमेत प्रदान गरेका हुन् । 

  

राहत स्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले औषधिलगायत रोग नियन्त्रणका लागि १५ लाख रुपैयाँ स्वास्थ्य संस्थालाई उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरिसकेको र एक दुई दिनभित्रै सो रकम स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने बताए  । उनले रोग नियन्त्रणमा भूमिका खेलेका स्वास्थ्यकर्मीलगायत सम्बन्धित पक्षलाई धन्यवादसमेत दिए । 

 

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कञ्चनरुपमा सुविधासम्पन्न १५ शैयाको अस्पतालका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।  अस्पतालका लागि नगरपालिकाबाट निर्णय गरी आवश्यक कागजात तयार पारेर पेस गर्न नगरपालिका प्रमुख मिश्रलाई आग्रहसमेत गरे ।  

 

सोही कार्यक्रममा कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बरप्रसाद गुप्ताले नगरपालिकामा हालसम्म चार जनाको मृत्यु भएको तथा भदौ २४ गतेदेखि असोज ३ गतेसम्म जम्मा ५ हजार ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा भाइरल ज्वरो संक्रमित बिरामीको संख्या ३ हजार ३ सय ७० जना रहेको जानकारी दिए । 

 

उनका अनुसार भाइरल ज्वरोका बिरामीको संख्यासमेत न्यून हुँदै गएकोले अवस्था सहजतर्फ उन्मुख हुँदै गएको मुख्यमन्त्री राउतसमक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्