जय नेपाल कमरेड !



धेरै समय भयो कांग्रेसलाई बामपन्थी भन्ने गरिएको सुनिन्छ, रूख गएर चितवनमा मात्र होइन, अहिले गठबन्धनमा पनि बामपन्थीहरूसँग मिसिएको छ । यसअघि धेरै पटक सूर्य र रूख एकै ठाउँमा भएका हुन् ।
कताको आकाशमा रहने सूर्य, कहाँ धर्ती मनपराउने रूख ! एकलाई अर्को नभई नहुने, मानौँ, धर्ती र आकाशको यो अनवरत सम्बन्ध पनि एमसीसीसम्म आउँदा उजागर भएकै हो ।
हँसिया नभई हरिया सागपत काट्न नसकिने, हथौडा नभई कङ्क्रिटका पिलरहरू उठाउन नसकिने अनि परमादेशका लागि मुद्दा लड्न कलम चाहिने यो पारस्परिक नातागोताका कारण नङलाई मासु चाहिने, मासुलाई नङ चाहिने यही रहेछ ।
यहाँको लीला अपरम्पार छ । गौप्राणी जनताले कुटेजस्तो पनि, रोएजस्तो पनि । गाई पनि देखियो, हलो पनि, लैनो गाईले दूध दिन छाड्यो, घाँसको चौरमा लडिबुडी ग¥यो, अहिले उग्राएर बसेको छ ।
३० वैशाखमा देशमा सिँगौरी खेल्नेहरू अझै धेरै छन् । खासगरी ठूलाहरूलाई ‘जय नेपाल’ भन्नै पर्ने, कि त ‘लालसलाम’ भन्नै पर्ने अवस्था छ । अहिले मात्र होइन, ३२ वर्षदेखिको भागशान्तिको अवस्था हो यो । निर्वाचन नभई मिलिभगत् गर्दा पनि माउ–बाच्छाहरू सँगै बसेर संयन्त्रका नाममा घाँस, पराल, कुँडो खाएकै हो ।
अहिले पनि गाउँ खाली, शहरमा बोझ ! खाडीतिरको उल्झन पनि उस्तै छ । पहाडी जिल्लाहरूमा जनसंख्याको ऋणात्मक उचाइ बढ्दो छ । असारे प्रगतिले डोजरधनीहरूलाई देश जिम्मा लगाएको झैँ देखिन्छ ।
दलमा उम्मेदवारको तानातानी छ । फेरि अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको दाबेदारी दिँदै ढोकाढोका आइपुग्नेको लर्को छ । भ्रमको खेती सुरु भएको छ ।
उता, यथार्थमा खेतबारी बाँझै छन्, भ्रमको खेती उर्बर छ, हिउँद–वर्षा, असिना, बाढी, पहिरोको समस्या यथावत् छ । लगानीबिना नै खेती अब्बल हुने भएकाले राजनीतिको खेती औँठाछाप र आसेपासेबीच फस्टाएको छ ।
देशको नेतृत्व गर्ने संस्था र कुवेरको ढुकुटीमा परिणत हुन गएका छन् । नगरपालिका पाए नेतृत्व गर्ने इच्छा गर्दै ट्वीट गरेको चर्चा पनि निकै बढेर गएको देखिन्छ ।
नेपाल आफैँमा पहिले काष्ठमण्डप, भानुभक्तको अलकापुरी, द्वापरमा मुक्तिपुर, त्रेतामा तपोवन र अहिले नेपाल नामकरण भएको छ । नेपाल राम्रो भएकैले सत्ययुगदेखि नै हिरण्याक्ष, हिरण्यकशिपुहरूले आँखा लगाएका रहेछन् यो नगरीलाई !
अहिलेको ३० वैशाख अघिल्लो २०७४ सालको निर्वाचनसँग जोडिन्छ । अहिलेसम्म यस नगरीको जिम्मा यहाँ ‘लालसलाम’ र ‘जय नेपाल’ले नै लिएका छन् । एकताका यी २ को बोलीचाली बन्द थियो । अहिले असीम मित्रता छ ।
कमरेडले धेरै सपना देखाए, बहाली गर्दै कुचो लिएर सडकमा पनि निस्केको नाटक मन्चन भयो तर सिस्डोल, बन्चरे डाँडाले थर्काएपछि ‘मौनं स्वीकृति लक्षणम्’ गरे, सडकमा फोहोर उस्तै ! सार्वजनिक शौचालय ‘नमो नारायण’ भए पनि ठेकेदारको खल्ती भरिने अवस्थामा कुनै कमी आएको छैन ।
सवारी चाप झन् बढिरहेको छ । धुवाँ र धूलोको कुइरीमण्डल, ट्राफिक लाइटको हरिबिजोक छ । हाते इसाराले आधा घण्टासम्म एउटै पोस्टमा थन्किएर काम भइरहेको छ ।
पशुपति, बौद्ध, हनुमानढोकामा पर्यटक आकर्षण गर्न फ्री वाईफाईको गफ दिए पनि यसको कार्यान्वयन हुन सकेन । भ्यु टावरको सपना देखाएर पुरानो नाम चलेको बसपार्कलाई हावाले उडाइदिएझैँ सवारी साधन तितरबितर पारिएको छ ।
यसबीचमा टुँडिखेलमा डोजर चल्यो, कोरोनाको अवधिमा बासी भात खान आउनेको भिड बढ्यो । देशको ठेक्का लिएका कमरेडलाई इज्जत गएको अनुभूति भएन ।
कमरेडबाट भोकरहित जनता र शोकरहित शहरको सपना पनि देखाइयो । तर, निद्रामा हुन्जेल सपना ठीक, ब्युँझिएपछि सिनेमाको पर्दा बन्द भएको जस्तो देखियो । सुपथ मूल्य पसलभन्दा कुपथ सामग्रीको व्यापार र सही नसक्नु मूल्यले आमउपभोक्ता रन्थनिएका छन् ।
त्यसमा मह्लम लगाउन कमरेडले २ करोड रुपैयाँको गाडी आफ्नालागि किने । अनि, हात्तीका महँगा दाँत जस्ता मोबाइल, ल्यापटप आफन्तहरूलाई किनाउन लगाए । कमरेडले वर्षा यामको पानी सङ्कलन गर्ने, भण्डारण गर्ने अभियान चलाउने उद्घोष पनि गरे ।
भाषण गर्दै म्याराथन जिते तर अलकापुरीले पानी पाएन । मेलम्चीको नाटक र प्रहसन गरियो । कमाएर खाने संस्था बन्यो केयुकेएल । झूट कुराको पनि हद हुन्छ ।
अनलाइन रोजगारी सूचना केन्द्रको गफ हावा जस्तै उडेको देखियो । सीसी क्यामेरा जडानको सपना बाँडियो । केही सडकमा राखियो पनि तर तिनले घटना विवरण ‘क्याप्चर’ गर्न सकेनन् ।
अर्को कुरा, टोलटोलमा बनेका सुधार समितिको नाममा छिमेकी लूट अभियानलाई समर्थन भएको छ । टोलमा सीसी क्यामेरा राख्न समितिहरू पैसा उठाउन अभ्यस्त छन् । खेती बाँझो गराएर आयातमा पूरै निर्भर हुनेगरी शहरमा कौसी खेतीको सपना बाँडिएको छ ।
अहिले ग्यास सिलिण्डरका लागि लाइनमा छौँ । बिरामी बोक्ने ट्याक्सी, एम्बुलेन्स, आगलागी हुँदा दमकल छिर्ने बाटो पनि छैन । उपत्यका विकास प्राधिकरणले २ पटकसम्म ‘जीएलडी’ बाटो भनी दायाँबायाँका पर्खालहरू भत्काएर बाटो बिस्तार गर्न पनि भन्यो ।
आफन्तकै कुरा सुनेर अहिलेकै कमरेडले चासो दिएनन्, अधुरै छ, बाटो बिस्तार । अनि, अपाङ्गमैत्री सडक, भवन, शौचालय, सवारीको सपना पनि त्यसै छ । अलकापुरीमा पैदलयात्रीको फुटपाथको अधिकार कहाँ छ ? सडकमा झरे गाडीले पेल्छ, किनारबाट हिँड्ने ठाउँ छैन । अलिअलि खाली जग्गा भए क्याप्चरमा परेको छ । अलकापुरी वरिपरिका नदी–नालाहरू क्याप्चरमा पारिएका छन् ।
वृद्धहरूले सेवा खरिद गर्न जाँदा ५ तले भवनमाथि स्याँस्याँ गर्दै उक्लनुपरेको छ ? वृद्धमैत्री र प्रविधिमैत्री छैनन् कार्यालहरू । चुनावी एजेण्डा अबका दिनमा के हुने हुन् ? तीनकुनेको बुद्धपार्क के भयो ? छिमेकी आउँदा हरियाली देखाइएको यस ठाउँको हालत के छ अहिले ?
देश, विदेशका संस्थाहरूलाई भ्रातृ र भगिनी संस्था भन्दै हातेमालो गरियो तर तिनका सकारात्मक पक्षलाई सर्वसाधारणको विषयमा कति लागू गरियो र कहाँ ? करमाथि कर भएकाले घरजग्गा नै बेचेर तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
देशमा मारपिट, गुण्डागर्दी र शान्ति सुरक्षाको अवस्था खस्कँदो छ । जताततै डोजर आतङ्क छ । त्यसैले ‘लालसलाम कमरेड, जयनेपाल कुर्सी’ भन्नुबाहेक के छ र बाँकी ?
अब ३० वैशाखको दौड प्रतियोगितमा पहिले जस्तै अलकापुरीमा मोनो रेल, ग्रिन सिटी, नो मास्क, स्मार्ट सिटी, मिनी असन बजार जस्ता कल्पित सपनाचाहिँ नबाँड्ने कि ? सबैलाई थाहा भएकै हुनुपर्छ, मतदाताले पनि नेता छान्ने कि पदाधिकारी ? नेताले देशको हित सोच्छन्, पदाधिकारीले पदको हित ।

प्रतिक्रिया दिनुहोस्