रुसले गर्‍यो एकैपटक १० परमाणुबम हान्न सक्ने मिसाइल परीक्षण



एजेन्सी । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुईपटक सोच्नुपर्ने’ बताएका छन् ।

पुटिनलाई सेनाले पहिलोपटक यस्तो मिसाइल परीक्षण गरेको जानकारी दिएका छन्। यो क्षेप्यास्त्र उत्तरपश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो। यो करिब ६००० किलोमिटर टाढा खसेको थियो ।

सो क्षेप्यास्त्रको बारेमा पुटिनले बयान गर्दै यो विश्वमा पहिला कही यस्तो क्षेप्यास्त्र नबनेको बताएका छन्। उनले उक्त क्षेप्यास्त्रद्वारा एकैपटकमा १० वा सोभन्दा धेरै परमाणु बम प्रहार गर्न सकिने बताए। उनका अनुसार उक्त क्षेप्यास्त्र एन्टी मिसाइल रहेकोले अन्य हतियार वा मिसाइलले त्यसमा कुनै क्षति गर्न सक्दैन।

लामो समयदेखि निर्माण हुँदै आएको सरमत मिसाइलको परीक्षणलाई अमेरिकाले भने विशेष क्षमतायुक्त नभइ सामान्य मिसाइल भएको बताएको छ। रुसले यो परीक्षण भूराजनीतिक तनाव चरम सीमामा भएको समयमा गरेको छ। रुसले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरे पनि हालसम्म कुनै पनि प्रमुख सहर कब्जा गर्न सकेको छैन।

युक्रेनका रक्षामन्त्रीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । आठ साताअघि युक्रेनमा आक्रमण हुनुअघि पनि रुसी राष्ट्रपति पुटिनले चेतावनीमूलक स्वरमा यदि कसैले रुसको बाटोमा आउन खोजे त्यसको परिणाम इतिहासमा अरु कसैले नभोगेको हुने बताएका थिए। त्यसको केही दिनपछि पुटिनले रुसको आणविक शक्तिलाई उच्च सतर्कतामा रहन भने ।

प्रतिक्रिया दिनुहोस्