पार्टीका नेतालाई कारवाही गर्ने कुराप्रति मन्त्री यादव आक्रोशित



जनकपुरधाम : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले समयमा काम नगर्ने आफ्ना पार्टीका ठेकेदार रहेका सांसद र नेतालाई कारवाही गर्ने कुराप्रति आपत्ति जनाएका छन्।

बाढी पीडितको अवस्था हेर्न आफ्ना गृह जिल्ला धनुषा पुगेका मन्त्री यादवले ठेकेदारहरुको लापरवाहीको कारण प्राकृतिक प्रकोप भयावहस्थिति आएको भनिरहेको बेला पत्रकारहरुको जिज्ञासामा उनले कारवाही गर्ने प्रतिबद्धताको सट्टा उल्टै पत्रकारहरुमाथि नै आरोप लगाए।

पत्रकारहरुले तपाईकै पार्टीका सांसद र केन्द्रिय नेता ठेकेदार रहेको हुलाकी सडक निर्माणमा ढिलाई गरेकोले प्रदेश २ को राजधानी जनकपुरर सिरहामा बाढीको भयावहस्थिति आएको भन्ने ज्ञासामा मन्त्री यादवले भने, ‘तपाईलाई मेरो पार्टीमात्र देख्नु हुन्छ। आफ्नो पार्टीका ठेकेदारलाई देख्नु हुन्न।’ मन्त्री आक्रोश हुँदै प्रश्नलाई मोड्न खोजेपछि पत्रकारहरुले जवाफका लागि दबाव दिन थाले।

त्यसपछि उनले समयमा निर्माण कार्य नगर्ने जुन पनि ठेकेदारको कारण बाढी जस्ता प्राकृतिक प्रकोपको भयावहस्थिति आएको ती सबैलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । संघीय सरकारका नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीका प्रदेशसभा सांसद कमल साह किशोरी कमल निर्माण सेवा सञ्चालक रहेका छन भने रमण कन्स्ट«क्सनका सञ्चालक बलराम महतो पार्टीका नेता रहेका छन्।

रमण कन्स्ट«क्सन दुवै निर्माण कम्पनीले हुलाकी राजमार्गका सम्पूर्ण ठेक्का सहित प्रदेश २ का विभिन्न जिल्लाका दर्जनौ ठेक्का हत्याएका छन् त्यसका अधिकांश काम कमल निर्माण सेवाले पेटी ठेक्काको रुपमा गर्दै आएको छ । तर, कुनै पनि ठेक्काको निर्माण कार्य समयमा सम्पन्न नगरी ढिलाई गर्दै आएको छ।

कमल निर्माण सेवाले पेटी ठेक्का लिएको जनकपुर यदुकोहा सडक खण्डको निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा करीब आधा दर्जन पालिका बाढी डुबानमा परेको छ। त्यस्तै रमण कन्स्ट्रक्सनले जनकपुर भिट्ठामोड सडक खण्ड लिएको ठेक्का समयमा पुरा गर्न नसक्दा महोत्तरीको पिपरामा माटो पुरिएको सडक नै बगेपछि दर्जनौ गाउँ डुबानमा परेको छ भने आवात जावत समेत अवरुद्ध भएको छ।

जनकपुर यदुकोहा सडक २०७३ सालमै सम्पन्न हुनुपर्नेमा थपिएको म्याद २०७६ असार २४ गतेसम्ममा पनि सम्पन्न हुन सकेको छैन। जनकपुर भिट्ठामोड सडक खण्ड आउँदो भदौ महिनासम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ तर काम २५ प्रतिशत पनि सम्पन्न हुन सकेको छैन।

अर्को जिज्ञासामा उनले बाढी पीडितलाई सबैले आआफ्नो स्तरबाट सहयोग गर्न आग्रह गरे। साथै वर्तमान संघीय सरकार यसमा गम्भीर भई काम गरिरहेको उनले बताए। यो समस्या समाधान भएपछि दिर्घकालिन योजनामा काम गर्नेछ र यसका लागि हामी राजधानी गएपछि प्रधानमन्त्री र मन्त्रिपरिषदको बैठकमा छलफल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्